
काठमाडौं÷मस– हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय तथा इन्टरनेसनल एभिएसन इनोभेसन अर्गनाइजेसनको विशिष्ट प्रतिनिधिमण्डललाई उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद गरेको छ ।
प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघीय निकायअन्तर्गत ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा.चित्रलेखा मास्सी, युरोपेली संघसम्बन्धी निर्देशक चाइ सुआई तथा संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गत ज्येष्ठ नागरिक अधिकारसम्बन्धी अधिकृत चेन केजियान सहभागी थिए ।
ज्येष्ठ यात्रुहरूलाई यात्रा गर्दा पर्न सक्ने कठिनाइ हटाउने र उनीहरूलाई कसरी थप सहज सेवा दिन सकिन्छ भन्नेबारे विषयमा छलफल भएको थियो । हिमालय एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि हाल गर्दै आएका काम र आगामी योजनाबारे जानकारी गराएको थियो । उक्त अन्तरक्रियामा ज्येष्ठ यात्रुहरूको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै हवाई यात्रालाई थप सहज, पहुँचयोग्य तथा समावेशी बनाउन अवलम्बन गर्न सकिने उपायबारे समेत छलफल भएको थियो ।
राष्ट्रसंघकी प्रतिनिधि डा.चित्रलेखा मास्सीले ज्येष्ठ नागरिकका अधिकार र विश्वभर अपनाइएका अभ्यासहरूबारे चर्चा गरिन् । उनले उमेरमैत्री तथा समावेशी अभ्यास प्रवर्धनका लागि निरन्तर ज्ञान आदान–प्रदान र सहकार्य आवश्यक रहेको बताइन् । साथै, हवाई उड्डयन क्षेत्रमा समावेशी सेवासम्बन्धी सचेतना र बुझाइ अभिवृद्धि गर्न प्रतिनिधिमण्डलले आफ्नो ज्ञान, अनुभव तथा विशेषज्ञता उपलब्ध गराउँदै सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिन् ।
हिमालय एअरलाइन्सका उपाध्यक्ष–प्रशासन विजय श्रेष्ठले भने, ‘हिमालय एयरलाइन्समा हामी उमेरको आधारमा कसैलाई पनि भेदभाव नगरी हरेक यात्रुले सम्मानजनक, सहज र मर्यादित यात्रा अनुभव गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छौं । ज्येष्ठ नागरिकका आवश्यकताअनुरूप उड्डयन क्षेत्रलाई थप समावेशी, पहुँचयोग्य र उत्तरदायी बनाउने विषयमा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग संवाद गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो । ’
हिमालय एयरलाइन्सले हवाई यात्रालाई थप समावेशी, पहुँचयोग्य, यात्रुकेन्द्रित तथा सम्मानजनक बनाउन निरन्तर सिकाइ, ज्ञान आदान–प्रदान र सहकार्यप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ ।