
इटहरी : साम्प्रदायिक विवाद उत्पन्न भएपछि सुनसरीमा जारी तनाव साम्य भएको छैन । बरु विराटनगर, जनकपुरलगायत क्षेत्रमा समेत प्रदर्शन भएका छन् । सोमबारको तुलनामा मंगलबार स्थिति सुध्रिएको सुरक्षा अधिकारीहरूले बताए पनि आगजनी र तोडफोड रोकिएको छैन ।
केही स्थानमा कर्फ्यु हटाइए भए पनि तनाव मत्थर भएको छैन । सुनसरी सदरमुकाम इनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा कर्फ्यु थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना निकालेर अनिश्चितकालसम्म ती क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न रोक लगाएको छ ।
हरिनगर, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज बजार क्षेत्रमा कर्फ्यु तथा हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
प्रशासनले कर्फ्यु र निषेधाज्ञालाई निरन्तरता दिएपछि पूर्वपश्चिम राजमार्गका लौहकी, पकली र इनरुवाका सडकमा टायर बालेर विरोधप्रदर्शन गरिएका छन् ।
स्थिति नियन्त्रणमा लिन देवानगन्ज गाउँपालिकाको कप्तानगन्जलगायतका क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा टोलीहरू खटिएका छन् । कर्फ्युका बीच पनि प्रदर्शन भएपछि सेना खटिएको हो ।
यो घटनाबारे छानबिन गर्न समिति नै गठन गरेको छ । गृह मन्त्रालयले सुनसरीका तत्कालीन प्रजिअ वासुदेव घिमिरे तथा केही सुरक्षा अधिकारीलाई फिर्ता बोलाएर नयाँ नेतृत्व पठाएर काम गरिरहेको छ । तर, तनाव साम्य भएको छैन ।
कप्तानगन्जमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको थियो । नौजना घाइते भएका थिए । उक्त घटनापछि सुरु भएको विरोध प्रदर्शनले उग्र रूप लिएपछि स्थानीय सरकार, प्रदेश र संघ सरकार स्थानीय, नागरिक समाजका अगुवा र साम्प्रदायिक समूहबीच विश्वासको वातावरण बनाउन लागिपरेका छन् ।
पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सुनसरीमा सामाजिक सद्भाव खलबलिएर हिंसामा बदलिँदा तोडफोड, आगजनी र लुटपाटका कारण करोडौं मूल्यको क्षति भएको बताउँछन् । यो गम्भीर र चिन्ताजनक विषय भएको भन्दै उनले सामाजिक विद्वेषको आगो अन्यत्र पनि फैलिने जोखिम बढेको बताएका छन् । ‘बहुलता, विविधता, सहिष्णुता, अपनत्व र शान्ति नेपाली समाजका चारित्रिक विशेषता हुन्,’ उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘हाम्रो पहिचान र सामथ्र्य पनि यही हो । यसलाई भत्काएर घृणा, विद्वेष, निषेध र हिंसातिर धकेल्ने प्रयास बेलाबेलामा हुने गरेका छन् ।’
यस्तो आत्मघाती अतिवादबाट सबै सजग हुनुपर्ने उनको आग्रह छ, ‘सामाजिक सद्भावका लागि सबैले योगदान गर्नुपर्छ ।’
यस्तो संवेदनशील क्षणमा प्रधानमन्त्रीज्यूको मौनता खड्किने विषय बनेको भन्दै उनी थप्छन्, ‘स–साना विषयमा पनि आफ्ना विचार तत्काल व्यक्त गरिहाल्ने प्रधानमन्त्रीज्यूले तत्काल शान्ति र सद्भावका निम्ति गम्भीर अपिल गर्ने, शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्ने र जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने होइन र ?’
संयमता अपनाउन अपिल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लिखित रूपमा भने बोलेको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति जारी गर्दै संयमता अपनाउन अपिल गरेको हो ।
प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालबाट विज्ञप्ति जारी गर्दै सरकारले घाइते हुनेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गर्ने प्रबन्ध मिलाएको जानकारी गराएको छ ।
उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस किसिमका घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरी उक्त समितिले कार्य प्रारम्भ गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानुनी कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध छ । कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव हुँदैन भन्नेमा नेपाल सरकार पूर्णतः विश्वास गर्दछ ।’
साथै, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पु¥याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपिल गरेको छ ।