२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

संवेदनशील घटनामा संयमित बन्न प्रेस काउन्सिलको आग्रह

Nada
२०८३ साउन १२ गते २२:०१
Shares
संवेदनशील घटनामा संयमित बन्न प्रेस काउन्सिलको आग्रह

काठमाडौं : प्रेस काउन्सिल नेपालले पछिल्ला संवेदनशील घटनालाई लिएर सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार, संयमित र तथ्यमा आधारित सूचना प्रवाह गर्न आग्रह गरेको छ ।

काउन्सिलले एक विज्ञप्ति जारी गर्दै आधिकारिक स्रोतबाट पुष्टि भएका विवरण मात्र प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेको हो । संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा व्यावसायिक मर्यादा कायम राख्दै अफवाह, अपुष्ट सूचना तथा उत्तेजना फैलाउने सामग्रीबाट टाढा रहन अनुरोध गरिएको छ ।

काउन्सिलले सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने सामग्री सम्प्रेषण नगर्न, पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता र मानवीय संवेदनशीलताको सम्मान गर्न पनि ध्यानाकर्षण गराएको छ ।

घटनासँग सम्बन्धित समाचार तथा सामग्रीको अनुगमन भइरहेको जनाउँदै काउन्सिलले अनुसन्धान प्रक्रियामा असर पुग्ने अनुमान वा प्रमाणविहीन विवरण सार्वजनिक नगर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

पत्रकार आचारसंहिता विपरीतका सामग्री प्रकाशन वा प्रसारण भएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरिएको छ ।

संवेदनशील घटनालाई राजनीतिक, धार्मिक वा सामाजिक विभाजनको माध्यम नबनाई शान्ति, सद्भाव र जिम्मेवार सञ्चार संस्कृतिको विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको काउन्सिलले जनाएको छ । साथै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

सम्बन्धित खबर