२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

सुरक्षा निकायको क्षमता अभिवृद्धि र सामाजिक सद्भाव कायम गर्न एमालेको जोड

Nada
२०८३ साउन १३ गते ११:४०
Shares
सुरक्षा निकायको क्षमता अभिवृद्धि र सामाजिक सद्भाव कायम गर्न एमालेको जोड

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । सुनसरीमा दुई धार्मिक समूहबीच विवाद भएसँगै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । महासचिव पोखरेलले पछिल्लो परिस्थितिलाई दृष्टिगत गरी आयोजना गरिएको सर्वदलीय बैठकलाई सकारात्मक रूपमा लिँदै यसको नेतृत्व स्वयं प्रधानमन्त्रीले लिनुपर्नेमा जोड दिए ।

सरकार र प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने पहलकदमीमा कमी देखिएको टिप्पणी गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा भएको छलफलमार्फत शान्ति, सद्भाव र सहिष्णुताका लागि संयुक्त विज्ञप्ति जारी गरिएको जानकारी दिए । सुरक्षा निकायको कार्यसम्पादनमाथि चर्चा गर्दै महासचिव पोखरेलले दङ्गा र भीड नियन्त्रणका सन्दर्भमा सुरक्षा संयन्त्रहरू किन प्रभावकारी हुन सकिरहेका छैनन् भन्ने विषयमा गहिरो समीक्षा आवश्यक रहेको बताए । 

उनले कुनैपनि प्रकारको भ्रममा नपरी सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा धार्मिक व्यक्तित्वहरूलाई अपिल समेत गरे । विशेषगरी सुनसरीलगायतका प्रभावित क्षेत्रका जनसमुदायलाई सरकारले अभिभावकत्वको प्रत्यक्ष अनुभूति दिलाउनुपर्ने उनको भनाइ छ । 

नागरिकको सुरक्षालाई साझा जिम्मेवारीको रूपमा अथ्र्याउँदै महासचिव पोखरेलले मुलुकमा शान्ति र सद्भाव कायम गर्न सबै पक्षबाट सकारात्मक योगदानको अपेक्षा गरे । न्यायको पर्खाइमा रहेका नागरिकका पक्षमा राजनीतिक दलहरू दृढतापूर्वक उभिएको उल्लेख गर्दै उनले कसैले पनि असुरक्षित महशुस गर्न नहुने वातावरण निर्माणमा जोड दिए ।

सम्बन्धित खबर