
काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।
श्रेष्ठको पार्थिव शरीरमा कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् भने विभिन्न राजनीतिक दलका नेता तथा कांग्रेस कार्यकर्ताहरूले पनि श्रद्धाञ्जली दिएका छन् ।
श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेता प्रदीप ज्ञवाली लगायतका नेताले समेत श्रेष्ठलाई कांग्रेस पार्टी कार्यालय पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
८३ वर्षको उमेरमा मंगलवार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको हो ।
बुधवार नै उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले दिवंगत श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका विशेष स्तम्भ भएको बताए । श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान इतिहासमा सदैव स्मरणीय रहने उनको भनाई छ ।
श्रेष्ठले सानै उमेरदेखि नेपाली कांग्रेसको नेतृत्वमा भएका सबै लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको महामन्त्री घिमिरेले उल्लेख गरे । उनकाअनुसार २०१७ सालपछि उत्पन्न प्रतिकूल राजनीतिक परिस्थितिमा पार्टीले सञ्चालन गरेका हरेक संघर्षमा श्रेष्ठ निरन्तर सहभागी भई जेल, यातना र दमन सहेर पनि लोकतन्त्रको पक्षमा अडिग रहेका थिए ।
१२ बुँदे समझदारीमा तत्कालीन सात दल र माओवादीबीच भएको ऐतिहासिक सहमतिका हस्ताक्षरकर्तामध्ये श्रेष्ठ पनि एक भएको महामन्त्री घिमिरेले बताए । उनका अनुसार श्रेष्ठले सरकारमा उपप्रधानमन्त्री, पार्टीमा उपसभापति तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
श्रेष्ठ नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै महामन्त्री घिमिरेले पछिल्लो विशेष महाधिवेशनमा उनको उपस्थितिले पार्टीलाई ऊर्जा र मार्गदर्शन दिएको बताए ।
वि.सं. २००१ मा जन्मिएका श्रेष्ठले विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२–०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेर सहभागिता जनाएको कांग्रेसले जनाएको छ ।
श्रेष्ठ २०४८, २०५६, २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने २०७० सालमा समानुपातिक सांसद बनेका थिए । २०५१ सालको निर्वाचनमा भने उनी पराजित भए । पटक पटक मन्त्री बनेका उनी लोकतान्त्रिक आन्दोलनका क्रममा पटक पटक जेल समेत परका थिए । लामो समय नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट रहेका श्रेष्ठ कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएर गगन थापा निकट भएका थिए । उनले कांग्रेस विभाजनपछि लामो समय नेपाली कांग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापतिको जिम्मेवारी समेत समालेका थिए ।