
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले पदमा रहँदा आफ्नो पदीय मर्यादा विपरीत २ करोड २६ लाख रुपैयाँभन्दा बढी अवैध सम्पत्ति जोडेको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार इन्जिनियर चौधरीको सेवा प्रवेश मिति २०६५/०९/११ देखि २०८२/०३/२९ सम्मको अवधिमा गरिएको जाँचबुझका क्रममा उनको खर्च र लगानीको तुलनामा आयको स्रोत नखुलेको पाइएको हो । कुल वैधानिक आय २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ०६ पैसा रहेकोमा कुल खर्च तथा लगानी ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा रहेको र स्रोत नखुलेको अवैध सम्पत्ति २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा देखिएको अख्तियारको दाबी छ ।
इन्जिनियर चौधरीले सार्वजनिक सेवाको पदमा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति आफ्नो र श्रीमती अर्पना कुमारीको नाममा राखेको देखिएको अख्तियारले जनाएको छ । उनले जग्गा खरिद, घर निर्माण, सवारी साधन, छोराछोरीको अध्ययन, र सेयर खरिद जस्ता शीर्षकमा ठुलो रकम खर्च गरेको अनुसन्धानबाट खुलेको छ । साथै, उनले वास्तविक सम्पत्तिको विवरण लुकाई झुटा विवरण पेस गरेको समेत पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ । साथै, उनले श्रीमती अर्पना कुमारीको नाममा राखेको अवैध सम्पत्ति समेत जफत गर्न मागदाबी लिइएको छ । गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र उनकी श्रीमतीलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।