२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

करोडौंको लागतमा निर्माण गरिएका जनता आवास कार्यक्रमका घरहरु प्रयोगविहीन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन २९ गते २२:२२
करोडौंको लागतमा निर्माण गरिएका जनता आवास कार्यक्रमका घरहरु प्रयोगविहीन

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ६ मा भूमिहीन, सुकुम्बासी तथा प्रकोपबाट पीडित भइ घरबारविहीन बनेका परिवारका लागि सरकारले निर्माण गरिदिएको घर प्रयोग विहीन अवस्थामा रहेको छ । 

सरकारी घरमा बस्न स्थानीयले चासो नदेखाएपछि करोडौं लगानी गरेर निर्माण भएका घरहरु प्रयोगविहीन भएको हो । जिल्लाको छत्रदेव गाउँपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत केही वर्ष पहिला निर्माण गरेका १० वटा घरमध्ये ६ वटा घर एक वर्षदेखि खाली रहेको स्थानीय विश्वदिप पाण्डेले बताए । 

स्थानीय छत्रदेव गाउँपालिका र संघीय सरकारको  समपूरक बजेटमार्फत चार करोड रुपैयाँ लगानीमा ती घर निर्माण भएको निर्माण व्यवसायी रामबहादुर रानाको भनाइ छ । 

निर्माण गरिएका सरकारी भवनहरु सुविधा सम्पन्न छन् । घरमा पानी, बत्ती र शौचालयको राम्रो व्यवस्था छ । सबै घरमा सोलार जडान गरिएको छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष लेखनाथ पोख्रेलले बताए । वरिपरि हरियाली वातावरण र खुला ठाउँमा घर निर्माण भएका छन् । साना चिटिक्क र रङरोगन गरिएका घर हेर्दा निकै आकर्षक रहेको पोख्रेलको भनाइ छ । 

छत्रदेव गाउँपालिका वडा नम्बर ६, चौवाहामा ४२ रोपनी जग्गा खरिद गरी  घर  निर्माण भएका थिए । घरसहित दुई रोपनी जग्गा उपलब्ध गराउने व्यवस्था भएपनि उक्त व्यवस्था कार्यान्वयन हुन नसकेकोले स्थानीय घर पाउनेहरु बेखुसी भएका हुन् ।

सुकुम्वासी भएपनि आफ्नै घरमा बस्न रुचाउने भएकाले स्थानीयले खासै रुची नदेखाएको कारण घरहरु प्रयोगमा नआएको नेपाली कांग्रेस अर्घाखाँचीका सहसचिव तथा वडा नम्बर ६ का वडाध्यक्ष कमलप्रसाद पौडेलले बताए । 

पौडेलले भने,‘मान्छेहरू आफू बसेको घर झट्ट छोड्न नमान्दा रहेछन् । सुकुम्वासी भएपनि घर छोड्न गाह्रो हुँदो रहेछ ।’

मापदण्डमा परेका परिवार निःशुल्क बस्न पाउँछन् । नेपाल सरकारको भूमिहीन सुकुम्वासी र आवास विहीनलाई जग्गा र बास उपलब्ध गराउने संवैधानिक व्यवस्था अनुसार घर र जग्गा उपलब्ध गराइएको भएपनि त्यो कार्यक्रम प्रभावकारी नदेखिएको  स्थानीय युवराज श्रेष्ठले बताए । 

दुई वटा कोठा र एउटा भान्सा कोठासहितको घरमा ६ जनाको परिवार बस्न  मिल्ने गरी निर्माण गरिएको छ । ती घरहरुमा कस्ता मानिस बसोबास गर्ने भन्ने मापदण्ड नपुगेका कारणले पनि घर बस्न स्थानीय नआउने गरेको छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठको भनाइ छ । 

मापदण्ड पूरा हुन नसकेकालाई सरकारी घरमा  बसाल्ने कुरा भएन । प्राकृतिक प्रकोपबाट पीडित भइ घरबारविहीन भएकालाई पनि समेट्ने प्रयास गरेको र यो कार्यक्रम प्रभावकारी हुन्छ भन्ने विश्वास गरेको अध्यक्ष श्रेष्ठले बताए । 

अर्घाखाँची जिल्लाका स्थानीय सरकारहरुले भूमिहीन गन्धर्व, बादीहरुका लागि समेत विभिन्न ठाउँहरुमा जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्दिएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise