
काठमाडौं : हात्तीलाई वनभोज ! सुन्दा अचम्म लाग्न सक्छ । तर, पर्यटकीय क्षेत्र चितवनमा १५औं विश्व हात्ती दिवसका अवसरमा हात्तीलाई मनपर्ने खानेकुरा खुवाएर वनभोज गराइएको छ । सरकारी तथा निजी गरी ६० वटा हात्ती सहभागी कार्यक्रममा भेली, चामलको खिर, पाउरोटी, उखु, गाजर, ड्रागन फ्रुट, केरा, फर्सी र खरबुजालगायत खानेकुरा राखिएको थियो ।
बाघमारा, चित्रसेन, जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आयोजित कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुर्जा पुनले हात्तीको कल्याणका लागि यस्ता कार्यक्रमले मानिस र हात्तीबीचको सम्बन्ध सुधार गर्न सहयोग पुग्ने बताए । उनका अनुसार हात्तीको उचित व्यवस्थापन र कल्याणका लागि निकुञ्जले विभिन्न काम गर्दै आएको छ ।
तर, हात्तीको कल्याण र व्यवस्थापनको प्रश्न कार्यक्रम आयोजनामै सीमित छैन । विशेषगरी उमेर पुगेका, बिरामी तथा काम गर्न नसक्ने हात्तीको दीर्घकालीन व्यवस्थापन अहिले चुनौतीका रूपमा देखिएको छ । हात्तीको किनबेच तथा ओसारपसारमा प्रतिबन्धसँगै त्यस्ता हात्तीलाई कहाँ र कसरी राख्ने भन्ने प्रश्न उठेपछि व्यवसायीले ‘एलिफेन्ट सेन्चुरी’ निर्माणको माग गरेका छन् ।
युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले उमेर पुगेका हात्तीको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले आवश्यक स्थान उपलब्ध गराएर सेन्चुरी निर्माण गर्नुपर्ने बताए । उनका अनुसार हात्तीलाई लामो समयसम्म साङ्लोमा बाँधेर राख्ने वा निरन्तर काममा लगाउनेभन्दा प्राकृतिक वातावरणमा राख्ने व्यवस्था आवश्यक छ । ‘हात्तीलाई प्राकृतिक वातावरणमा राखेर आराम, उपचार र आवश्यक आहारको व्यवस्था गर्न सकिने संरचना आवश्यक छ,’ खतिवडाले भने, ‘सरकारले त्यसका लागि उपयुक्त स्थान उपलब्ध गराउनुपर्छ ।’
सर्वोच्च अदालतले पनि बिरामी तथा वृद्ध हात्तीका लागि अवकाश तथा पुनःस्थापना केन्द्र स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्ता केन्द्रमा पर्याप्त खुला स्थान, प्राकृतिक आहार, नियमित स्वास्थ्य परीक्षण तथा सामाजिक वातावरण सुनिश्चित गर्नुपर्ने अदालतको आदेशमा उल्लेख छ । चितवनको पर्यटन इतिहास हात्ती सफारीसँग जोडिएको छ । हात्ती सफारीले चितवनको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको पर्यटन व्यवसायी बताउँछन् । हाल चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत ५८ वटा हात्ती रहेकोमा सौराहामा मात्रै ४५ वटा छन् ।
युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष खतिवडाका अनुसार सौराहाको पर्यटन हात्तीबिना अधुरो छ । ‘सौराहा भन्नेबित्तिकै मानिसको दिमागमा हात्ती आइहाल्छ,’ उनले भने, ‘हात्ती यहाँको पर्यटनको महत्त्वपूर्ण आधार हो ।’
तर, निजी हात्तीका लागि आवश्यक आहारको व्यवस्था गर्न समस्या भइरहेको उनको भनाइ छ । उनले निजी हात्तीका लागि निकुञ्जबाट घाँस उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । नेपालमा एसियाली हात्ती मात्र पाइन्छ । नेपालमा करिब ४०० वटा जंगली हात्ती रहेको अनुमान छ भने करिब २०० वटा घरपालुवा हात्ती रहेको बताइन्छ ।
करिडोर संरक्षणमा जोड
यस वर्षको विश्व हात्ती दिवसको मुख्य सन्देश ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ रहेको छ । हात्ती संरक्षणका लागि वन जोगाउनुका साथै एक जंगलबाट अर्को जंगल जोड्ने प्राकृतिक आवागमन मार्ग अर्थात् करिडोर सुरक्षित राख्नुपर्नेमा जोड दिइएको छ ।
जंगली हात्तीलाई ठुलो क्षेत्र आवश्यक पर्ने भएकाले उनीहरू एक स्थानबाट अर्को स्थानमा जाँदा परम्परागत बाटो र करिडोर प्रयोग गर्छन् । तर, वन क्षेत्रको खण्डीकरण, बस्ती तथा कृषि क्षेत्रको विस्तार र सडक निर्माणका कारण हात्तीका प्राकृतिक आवागमन मार्ग साँघुरिँदै गएका छन् । यसले मानव–हात्ती द्वन्द्वसमेत बढाउँदै लगेको छ ।
हात्ती संरक्षणका लागि नेपालले सन् २०२५ देखि २०३५ सम्मको १० वर्षे हात्ती संरक्षण कार्ययोजना अघि सारेको छ । कार्ययोजनाले हात्तीको वासस्थान तथा करिडोर संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण र स्थानीय समुदायको सहभागितामा आधारित संरक्षणलाई प्राथमिकता दिएको छ ।
हात्ती संरक्षित प्राणी भएकाले यसको संरक्षण आवश्यक डा.नरेन्द्र प्रधानले बताए । ‘अहिले हात्ती संरक्षणमा मानव–हात्ती द्वन्द्व ठुलो समस्या बनेको छ,’ उनी भन्छन् ‘हात्ती हिँड्ने पुराना बाटो तथा करिडोरमा मानिसले बस्ती र सहर विस्तार गरेकाले द्वन्द्व हुने गरेको हो । हात्तीले आफ्नो प्राकृतिक बाटो र बानी सजिलै परिवर्तन गर्न सक्दैन ।’
‘मानिसले हात्तीलाई नलखेट्ने, आगो नबाल्ने र नजिस्काउने हो भने मानव तथा हात्ती दुवैलाई हुने क्षति कम गर्न सकिन्छ । यसका लागि मानिसहरूमा हात्ती संरक्षणसम्बन्धी चेतना फैलाउनु आवश्यक छ,’ उनले भने ।
वन्यजन्तु संरक्षण विज्ञहरूका अनुसार हात्तीका प्राकृतिक आवागमन मार्ग सुरक्षित राख्नु मानव–हात्ती द्वन्द्व घटाउने महत्त्वपूर्ण उपाय हो । वन क्षेत्रको खण्डीकरण र अव्यवस्थित पूर्वाधार विकासले हात्तीको आवागमनमा बाधा पुर्याउँदा द्वन्द्व बढ्न सक्ने उनीहरूको भनाइ छ ।
हात्ती सफारीको विकल्प खोज्न आदेश
हात्तीको कल्याण र संरक्षणको चर्चा भइरहेका बेला पर्यटक बोकेर जंगल घुमाउने हात्ती सफारीको अभ्यासमाथि पनि प्रश्न उठेको छ । सर्वोच्च अदालतले पर्यटक आकर्षित गर्ने नाममा हात्तीमाथि चढाएर गरिने सफारीको विकल्प खोज्न सरकारलाई निर्देशन दिएको छ ।
जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता सञ्जय अधिकारीलगायतले २०७८ भदौ २९ गते हात्तीमाथि हुने यातना रोक्न, अवैध खरिद–बिक्री तथा ओसारपसार नियन्त्रण गर्न, साङ्लोमा बाँध्ने प्रचलन अन्त्य गर्न र पर्यटनमा हात्ती चढाउने व्यवस्था बन्द गर्न माग गर्दै रिट दायर गरेका थिए । सो रिटमाथि सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ केही समयअघि सार्वजनिक भएको हो ।
सर्वोच्चले हात्ती संवेदनशील तथा उच्च बौद्धिक क्षमता भएको वन्यजन्तु भएकाले मनोरञ्जन र व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गर्न नहुने ठहर गरेको छ । लामो समयसम्म मानिस बोकाउने, निरन्तर श्रममा लगाउने र साङ्लोमा बाँधेर राख्ने कार्यले हात्तीको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पार्ने अदालतको निष्कर्ष छ ।
अदालतले सुरक्षित दूरीबाट हात्ती अवलोकन गर्न सकिने ‘अब्जर्भेसन–ओन्ली’, ‘एलिफेन्ट–फ्रेन्डली वाक’ तथा ‘बुस वाक’जस्ता संरक्षणमुखी पर्यटन गतिविधि विकास गर्न सरकारलाई निर्देशन दिएको छ । साथै, बिरामी तथा वृद्ध हात्तीको उपचार, आराम र पुनःस्थापनाको व्यवस्था गर्न तथा निजी र घरपालुवा हात्तीको अनिवार्य दर्ता र अभिलेखीकरण गर्न पनि आदेश दिएको छ ।
सर्वोच्चको आदेशसँगै चितवन, बर्दिया र बाँकेलगायत क्षेत्रमा हुँदै आएको हात्तीमा आधारित पर्यटनलाई पुनरावलोकन गर्नुपर्ने अवस्था आएको छ । अब हात्तीलाई मनोरञ्जनको साधनका रूपमा मात्र प्रयोग गर्नेभन्दा प्राकृतिक जीवन, पशुकल्याण र संरक्षणलाई केन्द्रमा राखेर पर्यटन तथा व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने चुनौती देखिएको छ ।
त्यसका लागि हात्तीका करिडोर संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण, स्थानीय समुदायको सहभागिता तथा वृद्ध र बिरामी हात्तीका लागि सुरक्षित पुनःस्थापना केन्द्र निर्माणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । दीर्घकालीन व्यवस्थापनका लागि ‘एलिफेन्ट सेन्चुरी’ निर्माण गर्न सके हात्तीको कल्याण र संरक्षण दुवैलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने संरक्षणकर्मीको भनाइ छ ।