२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

रौतहटमा बढ्दो गर्मीले विद्यालयको पठनपाठन प्रभावित, विद्यार्थी बेहोस हुन थाले

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन २८ गते १६:३२
Shares
रौतहटमा बढ्दो गर्मीले विद्यालयको पठनपाठन प्रभावित, विद्यार्थी बेहोस हुन थाले

रौतहट : तराईका जिल्लामा केही दिनयता बढेको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । रौतहटसहित मधेश प्रदेशका विभिन्न जिल्लामा तापक्रम बढ्नुका साथै तातो हावा (लु) र चर्को घामका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्नसमेत कठिनाइ भएको छ ।

ncell

गर्मीको सबैभन्दा बढी असर बालबालिका, वृद्धवृद्धा तथा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्गमा परेको छ । चर्को घाम र तातो हावाका कारण दिउँसोको समयमा घरबाहिर निस्कनसमेत सर्वसाधारणले असहज महसुस गरिरहेका छन् ।

बढ्दो गर्मीको प्रत्यक्ष असर विद्यालयको पठनपाठनमा समेत परेको छ । बिहानैदेखि चर्को घाम लाग्ने र मध्याह्नतिर तापक्रम अत्यधिक बढ्ने भएकाले विद्यालय जाने साना बालबालिकालाई आवागमनदेखि कक्षाकोठामा बसेर पढ्नेसम्म समस्या भइरहेको छ ।

विद्यालयका भौतिक पूर्वाधार पर्याप्त नहुँदा समस्या थप जटिल बनेको छ । रौतहटका अधिकांश सामुदायिक विद्यालयका कक्षाकोठामा पर्याप्त झ्याल तथा हावा ओहोरदोहोर हुने भेन्टिलेसनको व्यवस्था नहुँदा गर्मीका बेला कक्षाकोठा निकै तातिने गरेको छ ।

त्यसमाथि विद्युत् आपूर्तिमा देखिने समस्या र पटक–पटक हुने विद्युत् कटौतीका कारण कक्षाकोठामा जडान गरिएका पङ्खासमेत नियमित सञ्चालन हुन नसक्दा विद्यार्थी थप समस्यामा परेका छन् । कतिपय विद्यालयमा पर्याप्त खानेपानीको व्यवस्था नहुँदा गर्मीमा विद्यार्थीलाई तिर्खा मेटाउनसमेत कठिन भइरहेको छ ।

अत्यधिक गर्मी र कक्षाकोठामा हावा नचल्दा विद्यार्थीमा स्वास्थ्यसम्बन्धी समस्या देखिन थालेको शिक्षकहरूले बताएका छन् । पठनपाठनकै क्रममा टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता हुने तथा कमजोरीका कारण विद्यार्थी बेहोस हुने घटना बढ्न थालेको उनीहरूको भनाइ छ ।

यमुनामाई गाउँपालिका–स्थित श्री जनता माध्यमिक विद्यालय सरुअठाका प्रधानाध्यापक उपेन्द्र यादवका अनुसार अत्यधिक गर्मी र पसिनाका कारण विद्यार्थीले कक्षामा ध्यान केन्द्रित गर्न सकिरहेका छैनन् । विशेषगरी साना बालबालिकाले गर्मी सहन नसकेर रोइकराइ गर्ने तथा बेहोस हुने अवस्था आएपछि पठनपाठन रोक्नुपर्ने अवस्था आएको उनले बताए ।

‘गर्मीका कारण विद्यार्थीहरू कक्षामा बस्नै नसक्ने अवस्था आउन थालेको छ । कतिपय अवस्थामा पठनपाठन रोक्दै अभिभावकलाई बोलाएर बालबालिकालाई घर पठाउनुपर्ने अवस्था आएको छ,’ यादवले भने ।

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न थालेपछि अभिभावक तथा स्थानीय नागरिकले विद्यालय सञ्चालनको समय परिवर्तन गर्न माग गरेका छन् । उनीहरूले केही दिनका लागि विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्न वा स्थानीय तहले तत्काल गर्मी बिदा घोषणा गर्नुपर्ने बताएका छन् ।

गर्मी बिदा घोषणा गर्दा आगामी वर्षे बिदासँग समायोजन गर्न सकिने उनीहरूको सुझाव छ । विद्यालयमा नियमित विद्युत् आपूर्ति तथा पर्याप्त खानेपानीको व्यवस्था गर्नसमेत सम्बन्धित निकायसँग माग गरिएको छ ।

स्वास्थ्यकर्मीहरूले पनि अत्यधिक गर्मीका बेला बालबालिकालाई सकेसम्म चर्को घाम र तातो हावाबाट जोगाउन सुझाव दिएका छन् । उनीहरूका अनुसार बालबालिकालाई लामो समय घाममा नहिँडाउने, प्रशस्त सफा वा उमालेर चिस्याइएको पानी, सर्वत तथा अन्य झोलिलो पदार्थ खुवाउने र शरीरमा पानीको कमी हुन नदिने कुरामा विशेष ध्यान दिनुपर्छ ।

गर्मी अझै बढ्दै गएमा विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले स्थानीय तह, विद्यालय प्रशासन र सम्बन्धित निकायले समयमै आवश्यक सावधानी अपनाउनुपर्ने स्थानीयको माग छ ।

ताजा खबर

सम्बन्धित खबर