
काठमाडौँ : नेपाली कांग्रेसका इतर पक्षका नेता रमेश लेखकले पार्टी एकता कायम राख्न अन्तिम समयसम्म प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन् ।
कञ्चनपुरमा आयोजित इतर पक्षको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लेखकले दुवै पक्षका अधिवेशन प्रक्रिया स्थगित गरेर संवाद र सहमतिमार्फत पार्टी एकता जोगाउन आग्रह गर्दा पनि सम्भव नभएको बताए ।
उनले पार्टीको अर्को पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरी नेतृत्व चयन गरिसकेको अवस्थामा आफूहरू छुट्टै सङ्गठन निर्माण गर्न बाध्य भएको उल्लेख गरे ।
लेखकले पार्टीभित्र न्याय र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि आफूहरू अघि बढेको बताए । वडा तहदेखि जिल्ला अधिवेशनसम्म सङ्गठन विस्तार गरिएको जानकारी दिँदै अब सातै प्रदेशमा अधिवेशन सम्पन्न गरी मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी रहेको उनले बताए ।
पार्टी विभाजनको अवस्थामा निर्वाचन गर्दा थप तिक्तता बढ्न सक्ने भएकाले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास गरिएको उनको भनाइ थियो ।
लेखकले सङ्ख्याभन्दा पार्टीको सिद्धान्त, आदर्श र मान्यता महत्वपूर्ण रहेको उल्लेख गर्दै सत्य र न्यायका पक्षमा उभिनेहरू कहिल्यै पराजित नहुने दाबी गरे ।