२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

विष्णु पौडेलले सार्वजनिक गरे ३५ वर्षका उपलब्धि, आर्थिक तथा सामाजिक सूचकमा उल्लेख्य सुधार भएको दाबी

Nada
२०८३ मंसिर २ गते १७:३७
Shares
विष्णु पौडेलले सार्वजनिक गरे ३५ वर्षका उपलब्धि, आर्थिक तथा सामाजिक सूचकमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौं : नेकपा एमालेले २०४७ सालदेखि विभिन्न समयमा सरकारको नेतृत्व गर्दा तथा सरकारमा सहभागी हुँदा देशको विकास र जनताको जीवनस्तर सुधारका लागि भएका कामहरूको विवरण सार्वजनिक गरेको छ ।

राष्ट्रिय भेलामा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले १८ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्दै संविधान निर्माण तथा कार्यान्वयन, आर्थिक विकास, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, ऊर्जा र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा भएका उपलब्धिहरू उल्लेख गरेका हुन् ।

प्रतिवेदनअनुसार २०४७ वैशाख ६ गतेको अन्तरिम सरकारदेखि २०८२ फागुन २४ सम्म एमाले विभिन्न अवधिमा सरकारमा सहभागी भएको छ । यसमध्ये अल्पमतको सरकारको नेतृत्व करिब ९ महिना, बहुमतको सरकारको नेतृत्व करिब ३ वर्ष, अन्य दल सहभागी सरकारको नेतृत्व करिब ३ वर्ष ६ महिना र अन्य दलको नेतृत्वमा बनेका सरकारमा करिब ५ वर्ष सहभागी भएको उल्लेख छ ।

पार्टीले भने आफ्नो नेतृत्व वा सहभागिता रहेका सरकारका कामको मात्रै जिम्मेवारी लिने स्पष्ट पारेको छ । राजनीतिक अस्थिरताका कारण विगत ३५ वर्षमा भएका सबै गतिविधिको जिम्मेवारी पार्टीले नलिने प्रतिवेदनमा जनाइएको छ ।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य र ‘परिपूर्ण लोकतन्त्र’ को अवधारणालाई आधार बनाएर समाजवादउन्मुख आर्थिक तथा सामाजिक विकासका कार्यक्रम अघि बढाएको दाबी गरेको छ ।

आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार
प्रतिवेदनमा २०४७/४८ सालको अवस्थासँग तुलना गर्दै मुलुकका आर्थिक तथा सामाजिक सूचकमा सुधार आएको तथ्य प्रस्तुत गरिएको छ । सन् १९९५ तिर ४२ प्रतिशत रहेको निरपेक्ष गरिबीको दर २०८० सालमा २०.३ प्रतिशतमा झरेको उल्लेख छ। त्यस्तै, मानव विकास सूचकाङ्क ०.४३७ बाट बढेर ०.६०२ पुगेको छ ।

प्रतिव्यक्ति आय २०० अमेरिकी डलरबाट बढेर २०८२ सालमा १ हजार ५३५ डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादन १ खर्ब २० अर्ब रुपैयाँबाट बढेर ६६ खर्ब रुपैयाँ पुगेको छ भने वार्षिक बजेटको आकार ३१ अर्ब ५५ करोडबाट बढेर २१ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी, विदेशी मुद्रा सञ्चिति ४३ करोड ७० लाख डलरबाट बढेर २६ अर्ब ४८ करोड डलर पुगेको तथ्याङ्क प्रतिवेदनमा समावेश गरिएको छ ।

सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य
एमालेले सामाजिक सुरक्षा कार्यक्रमलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । २०५२ सालमा मासिक १०० रुपैयाँबाट सुरु भएको वृद्धभत्तासहितको सामाजिक सुरक्षा भत्ता अहिले ४ हजार रुपैयाँ पुगेको र यसबाट करिब ३६ लाख नागरिक लाभान्वित भएको उल्लेख छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २१ लाख श्रमिक आबद्ध भएको र कोषमा १ खर्ब २४ अर्ब रुपैयाँ जम्मा भएको प्रतिवेदनमा जनाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार नागरिकलाई न्यूनतम रोजगारीको अवसर उपलब्ध गराउने व्यवस्था गरिएको पनि उल्लेख छ ।

शिक्षातर्फ साक्षरता दर ३९.६ प्रतिशतबाट बढेर ७६.२ प्रतिशत पुगेको छ । नेपाली नागरिकको औसत आयु ५५ वर्षबाट बढेर ७२ वर्ष पुगेको तथा बाल र मातृ मृत्युदरमा उल्लेख्य कमी आएको प्रतिवेदनमा दाबी गरिएको छ ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने क्रममा स्वास्थ्य बिमामा करिब ८० लाख नागरिक आबद्ध भएको र एकैपटक ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको विवरण पनि सार्वजनिक गरिएको छ ।

महिला सहभागिता र अधिकारका क्षेत्रमा तीन तहका जनप्रतिनिधिमूलक संस्थामा करिब ४१ प्रतिशत महिला प्रतिनिधित्व रहेको, निजामती सेवामा महिलाको सहभागिता २९ प्रतिशत पुगेको र करिब ४५ लाख महिलाको नाममा घरजग्गा स्वामित्व कायम भएको तथ्य प्रस्तुत गरिएको छ ।

सडक, पुल र यातायात पूर्वाधारको विस्तार
भौतिक पूर्वाधार विकासलाई पनि एमालेले प्रमुख उपलब्धिका रूपमा अघि सारेको छ । प्रतिवेदनअनुसार देशभरको सडक सञ्जाल ८ हजार ३२८ किलोमिटरबाट विस्तार भएर करिब १ लाख १० हजार किलोमिटर पुगेको छ ।

थानकोट, सिद्धबाबा तथा काठमाडौं–निजगढ द्रुतमार्गमा सुरुङ निर्माणका काम अघि बढेसँगै नेपाल सुरुङमार्ग निर्माणको नयाँ चरणमा प्रवेश गरेको पार्टीको दाबी छ ।

देशका विभिन्न स्थानमा रहेका तुइन विस्थापन गर्दै १ हजार ४२३ वटा झोलुङ्गे पुल र ९१५ वटा पक्की सडक पुल निर्माण गरिएको उल्लेख छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै जयनगर–जनकपुर रेल सेवा पनि सुरु भएको प्रतिवेदनमा समेटिएको छ ।

ऊर्जा उत्पादन र विद्युत् निर्यात
ऊर्जा क्षेत्रमा विद्युत् उत्पादन क्षमता उल्लेख्य रूपमा बढेको एमालेको दाबी छ । प्रतिवेदनअनुसार विद्युत् जडित क्षमता २२७ मेगावाटबाट बढेर ४ हजार १२० मेगावाट पुगेको छ । विद्युत् सेवाको पहुँच १० प्रतिशतबाट बढेर ९९ प्रतिशत पुगेको उल्लेख छ ।

लोडसेडिङ अन्त्य हुनु र भारततर्फ ३ हजार ७७७ गिगावाट घण्टा विद्युत् निर्यात हुनु ऊर्जा क्षेत्रका महत्वपूर्ण उपलब्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कृषि, वन र डिजिटल सेवा
कृषि उत्पादनतर्फ धानको वार्षिक उत्पादन ३० वर्षको अवधिमा ३३ लाख मेट्रिक टनबाट बढेर ५९ लाख मेट्रिक टन पुगेको तथ्य प्रस्तुत गरिएको छ । वन क्षेत्र ३९ प्रतिशतबाट बढेर ४६ प्रतिशत पुगेको र करिब ८५ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच विस्तार भएको जनाइएको छ ।

नागरिक एप्सलगायत डिजिटल माध्यमबाट सरकारी सेवा प्रवाहलाई सहज बनाउने प्रयास भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यसका अतिरिक्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण, चोभार सुक्खा बन्दरगाह सञ्चालन, दैलेखमा प्राकृतिक ग्यासको परीक्षण तथा नेपालको निर्यात व्यापार १ खर्ब रुपैयाँ नाघ्नु आर्थिक तथा पूर्वाधार विकासका उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ ।

भूकम्पपछिको पुनर्निर्माण र राजनीतिक स्थायित्व
२०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माणका क्षेत्रमा पनि उल्लेखनीय काम भएको एमालेको दाबी छ । प्रतिवेदनअनुसार करिब ८ लाख निजी आवास, ७ हजार ५२ विद्यालय र ६४० वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न गरिएको छ ।

स्थानीय विकासलाई प्राथमिकता दिँदै २०५२ सालमा सुरु गरिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रमलाई पनि पार्टीले महत्वपूर्ण पहलका रूपमा स्मरण गरेको छ ।

सङ्घीयता कार्यान्वयनका क्रममा संविधानसँग बाझिएका २०० भन्दा बढी कानुन संशोधन गरिएको र राज्य संरचनालाई सङ्घीय प्रणालीअनुसार व्यवस्थित गर्ने काम भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सिके राउत र नेत्रविक्रम चन्द नेतृत्वका समूहलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने प्रक्रियालाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ ।

परराष्ट्र सम्बन्ध र राष्ट्रिय स्वाधीनता
अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने नीतिलाई आधार बनाएर छिमेकी तथा अन्य मित्रराष्ट्रसँग सम्बन्ध विस्तार गरिएको एमालेको भनाइ छ ।

भारतसँगको नाकाबन्दीको सम्मानजनक समाधान खोजिएको, चीनसँग समुद्री बन्दरगाह प्रयोगसम्बन्धी सहमति र भारतसँग जलमार्गसम्बन्धी सम्झौता गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सीमा सुरक्षालाई थप व्यवस्थित बनाउन २०८ स्थानमा बोर्डर आउट पोस्ट स्थापना गरिएको तथा सङ्घीय संसद्बाट सर्वसम्मत रूपमा संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा प्रकाशन गरिएको विषयलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा समेटिएको छ ।

समग्रमा एमालेले आफू सरकारको नेतृत्वमा रहेका वा सरकारमा सहभागी भएका अवधिमा आर्थिक, सामाजिक र भौतिक विकासका क्षेत्रमा महत्वपूर्ण काम अघि बढाएको निष्कर्ष प्रस्तुत गरेको छ ।

प्रतिवेदनमा ती अवधिमा विशेषगरी भौतिक पूर्वाधार निर्माण, आर्थिक वृद्धि, सामाजिक सुरक्षा तथा मानव विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरिएको छ । पार्टीले सार्वजनिक गरेको विवरणले विगतका आफ्ना सरकारका काम र उपलब्धिलाई जनतामाझ पुर्‍याउने उद्देश्य राखेको देखिन्छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर