२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

भोटेकोशीका पीडितको सम्झनामा कोप-३१ मा प्रदर्शन, जलवायु न्याय र क्षतिपूर्तिको माग

Nada
२०८३ मंसिर २ गते १३:४१
Shares
भोटेकोशीका पीडितको सम्झनामा कोप-३१ मा प्रदर्शन, जलवायु न्याय र क्षतिपूर्तिको माग

काठमाडौँ : संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) चलिरहेका बेला नेपालका युवा, आदिवासी जनजाति अगुवा तथा अन्तर्राष्ट्रिय जलवायु अभियन्ताहरूले भोटेकोशी बाढीपहिरोका पीडितको सम्झनामा सांकेतिक प्रदर्शन गरेका छन् ।

सम्मेलनस्थलमा आयोजित प्रदर्शनमार्फत उनीहरूले जलवायु संकटबाट प्रभावित नेपालजस्ता विकासशील मुलुकका लागि न्यायपूर्ण क्षतिपूर्ति, पर्याप्त जलवायु वित्त र ऋणमुक्त अनुदान उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन् ।

गत अगस्ट २६ मा नेपालमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। उक्त विपद्मा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा प्रदर्शनस्थलमा प्रतीकात्मक पुतला राखिएको थियो । सहभागीहरूले जलवायु परिवर्तनका कारण प्रभावित समुदायले भोग्नुपरेको पीडा र कठिनाइलाई विश्व समुदायसमक्ष प्रस्तुत गरेका थिए ।

जलवायु अभियन्ता आकृति डोटेलले नेपालले जलवायु विपद्का कारण ठूलो क्षति व्यहोर्नुपरे पनि अन्तर्राष्ट्रिय समुदायबाट सहानुभूति मात्र पर्याप्त नहुने बताइन् । अब प्रभावित समुदायको पुनर्स्थापना र क्षतिपूर्तिका लागि वास्तविक आर्थिक सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

उनले जलवायु वित्तसम्बन्धी निर्णय लिन कोप सम्मेलन उपयुक्त मञ्च भएको उल्लेख गर्दै अहिलेको अवसर सदुपयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिन् । प्रभावित समुदायलाई थप ऋणको भार बोकाउने नभई क्षतिपूर्तिमा आधारित आर्थिक सहायता उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन् ।

वार्ता र वास्तविकताबीच ठूलो अन्तर
जलवायु अभियन्ता प्रयास अधिकारीले अन्तर्राष्ट्रिय सम्मेलनमा जलवायु न्याय, वित्त तथा हानि र नोक्सानीका विषयमा छलफल भए पनि त्यसको प्रत्यक्ष लाभ प्रभावित समुदायसम्म पुग्न नसकेको बताए ।

उनका अनुसार सम्मेलनमा गरिएका प्रतिबद्धता र सम्झौताले विपद्बाट प्रभावित नागरिकको दैनिक जीवनमा अपेक्षित परिवर्तन ल्याउन सकेका छैनन् । भोटेकोशीको विपद् यसैको एउटा उदाहरण भएको उनले उल्लेख गरे ।

अधिकारीले जलवायु संकटलाई सम्बोधन गर्ने विषय कागजी छलफलमा मात्र सीमित नराखी प्रभावित समुदायको जीवन र जीविकोपार्जनसँग जोड्नुपर्ने बताए । वार्ताका क्रममा साना विषयमा लामो छलफल भइरहँदा प्रभावित नागरिकले भने आफ्नो घर, परिवार र रोजगारी गुमाइरहेको उनको भनाइ थियो ।

क्षति अर्बौँमा, आवश्यकता खर्बौँमा
जलवायु अभियन्ता प्रज्ञा शेरचनले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने नेपाली समुदायले ठूलो मात्रामा भोग्नुपरेको बताइन् ।

उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा आदिवासी जनजाति समुदाय जलवायुजन्य विपद्बाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै विकसित राष्ट्रहरूले आफ्नो ऐतिहासिक जिम्मेवारीअनुसार सहयोग गर्नुपर्ने धारणा राखिन् ।

शेरचनले जलवायु विपद्बाट हुने क्षति र अन्तर्राष्ट्रिय समुदायले गर्ने आर्थिक प्रतिबद्धताबीच ठूलो अन्तर रहेको बताइन् ।

उनले भनिन्, ‘हामीलाई अर्बौँ डलरमा क्षति भइरहेको छ, आवश्यकता खर्बौँमा छ, तर प्रतिबद्धता भने लाखौँमा मात्रै भइरहेका छन् ।’

उनले हानि तथा नोक्सानी कोषमा पर्याप्त रकम जम्मा गर्न विकसित देशहरूलाई आग्रह गर्दै कोप–३१ को वार्तालाई निर्णयबिनै अर्को सम्मेलनसम्म धकेल्न नहुने बताइन् ।

ऋण होइन, अनुदान र क्षतिपूर्ति चाहिन्छ
प्रदर्शनमा सहभागीहरूले जलवायु संकट सिर्जना गर्न ऐतिहासिक रूपमा बढी जिम्मेवार रहेका विकसित राष्ट्रहरूले प्रभावित मुलुकप्रति आफ्नो दायित्व पूरा गर्नुपर्ने माग गरेका थिए ।

उनीहरूले जलवायु अनुकूलन, हानि तथा नोक्सानी र न्यायपूर्ण रूपान्तरणका लागि नयाँ तथा पर्याप्त आर्थिक स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए। यस्तो सहयोग ऋणमा आधारित नभई अनुदानका रूपमा हुनुपर्ने उनीहरूको माग थियो ।

भोटेकोशी विपद्बाट प्रभावित परिवारले आफ्नो घरबस्ती र जीविकोपार्जन पुनर्निर्माण गर्न फेरि ऋण लिनुपर्ने अवस्था आउन नहुने प्रदर्शनकारीहरूको भनाइ थियो । जलवायु संकटमा न्यून योगदान गरेका समुदायलाई त्यसको असरबाट मुक्त हुनसमेत ऋणको भार बोकाउनु अन्यायपूर्ण हुने उनीहरूले बताएका थिए ।

प्रदर्शनको अन्त्यमा भोटेकोशी विपद्मा ज्यान गुमाएका तथा प्रभावित भएका व्यक्तिहरूको सम्झनामा पुतलाको वरिपरि मैनबत्ती बालेर एक मिनेट मौनधारण गरिएको थियो ।

प्रदर्शनमार्फत सहभागीहरूले जलवायु न्यायका नाममा गरिने प्रतिबद्धता र छलफललाई व्यवहारमा उतार्दै प्रभावित समुदायका लागि तत्काल राहत, पुनर्स्थापना र उचित क्षतिपूर्तिको व्यवस्था गर्न विश्व नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर