
काठमाडौँ : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै प्रहरीले श्रेष्ठमाथिको अनुसन्धान अघि बढाउन थप समय पाएको हो ।
श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा आवश्यक प्रक्रिया पूरा गर्न अदालतबाट म्याद थपको अनुमति लिइएको प्रहरीले जनाएको छ ।
अदालतबाट थप तीन दिन हिरासतमा राख्न अनुमति पाएसँगै सम्बन्धित निकायले घटनासम्बन्धी थप अनुसन्धान तथा प्रमाण संकलनको प्रक्रिया अघि बढाउनेछ ।