
प्युठान : रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा परी बेपत्ता भएका पाँच जनाको शव प्युठानका विभिन्न स्थानमा फेला परेको छ । फेला परेका सबै शवको आफन्तले सनाखत गरेपछि उनीहरू कोटलबाराको पहिरोमा परी बेपत्ता भएकै व्यक्तिहरू भएको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बिहीबार बिहानदेखि प्युठानका विभिन्न स्थानमा माडी तथा लुङ्ग्री खोलाको किनारमा पाँच जनाको शव फेला परेको थियो । स्वर्गद्वारी नगरपालिका–९ जुडापाटामा करिब ७ वर्षीय बालकको, वडा नं. ३ किमिचौरमा पुरुषको, वडा नं. ४ गोठीबाङमा महिलाको तथा वडा नं. ५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा अर्की महिलाको शव भेटिएको थियो। त्यस्तै, माण्डवी गाउँपालिका–५ अर्दुसस्थित माडी खोलाको किनारमा एक पुरुषको शव फेला परेको थियो ।
प्रहरीका अनुसार जुडापाटामा फेला परेको शव ७ वर्षीय अशोक पुन मगरको रहेको उनका काका कृष्ण पुन मगरले सनाखत गरेका छन् । किमिचौरमा फेला परेको शव ३४ वर्षीय महेन्द्र घर्तीको रहेको उनका भान्जा कृष्ण पुन मगरले पहिचान गरेका छन् ।
त्यसैगरी, स्वर्गद्वारी–४ गोठीबाङमा भेटिएको शव ६६ वर्षीया मनि पुन मगरको रहेको उनका छोरा गोबबहादुर पुन मगरले सनाखत गरेका छन् । स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा भेटिएको शव ३४ वर्षीया विष्णु पुनको रहेको उनका मामा गोबबहादुर पुन मगरले सनाखत गरेका छन् ।
माण्डवी गाउँपालिका–५ अर्दुसस्थित माडी खोलाको किनारमा भेटिएको शव भने ८० वर्षीय बलबहादुर पुन मगरको रहेको उनका भतिज गोबबहादुर पुन मगरले सनाखत गरेका छन् ।
रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा बुधबार साँझ अविरल वर्षापछि पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो । पहिरोमा परी १० जनाको मृत्यु भएको, दुई जना अझै बेपत्ता रहेको र दुई जना घाइते भएको पछिल्लो विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
पहिरोपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा खोलाको बहावसँगै शवहरू प्युठानतर्फ बगेर आएको हुनसक्ने प्रहरीको प्रारम्भिक आकलन छ । प्युठानमा शव भेटिएका स्थानहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी उद्धार तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
पाँचवटै शवको सनाखत भएसँगै रोल्पाको कोटलबारामा गएको पहिरोमा बेपत्ता भएका व्यक्तिहरूमध्ये पाँच जनाको अवस्था पुष्टि भएको छ । यद्यपि, अझै दुई जना बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण पहाडी क्षेत्रमा खोलानाला तथा नदीमा पानीको बहाव बढिरहेकाले रोल्पा तर्फ माडी र लुङ्ग्री खोलाको तटीय क्षेत्र र प्युठानको लङ्ग र झिमरुक तर्फ सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।