
काठमाडौं : एसइई सकिएपछिको खाली समयमा काठमाडौंका १८ वर्षीय किशोर साथीहरूसँग रमाउन थाले । साथीहरू लागुऔषधमा फसिसकेका थिए । उनलाई पनि चाख्न भन्दै हौसाए । उनले पनि ट्याब्लेट खाए । साथीहरूसँग लठ्ठिएर समय बित्न थाल्यो । मिल्ने साथीले नै उनलाई लतमा फसाइसकेका थिए । साथीलाई लतमा फसाउनुको अर्काे स्वार्थ थियो– लागुपदार्थको कारोबार ।
‘लहैलहैमा लागुपदार्थ प्रयोग गरेँ । सुरुमा सित्तैमै खुवाउने साथीहरूले पछि मलाई नै ग्राहक बनाए,’ उनले मध्यान्हसँग भने, ‘आफूले सस्तोमा लिएर नाफा खाएर बेच्दा रहेछन् ।’ लागुपदार्थ किन्दाकिन्दै ती युवासँग भएको पैसा सकियो । साथी, आफन्तबाट सापट लिएर पनि केही समय काम चलाए । तर, जसरी भए पनि लागुऔषध प्रयोग गर्नेपथ्र्यो । नत्र उनलाई छटपटी र असैह्य हुन्थ्यो ।
त्यसपछि उनले साथीहरूले जस्तै आफ्नै काकाको छोरालाई लागुपदार्थ प्रयोग गर्न सिकाए । पछि उनका भाइलाई लागुपदार्थ बेच्न थाले । ‘लागुपदार्थ नभइ हुँदैन, आफूनजिकका साथीभाइलाई सुरुमा प्रयोग गर्न सिकाउने अनि उनीहरूलाई बेच्नुपथ्र्यो,’ उनी भन्छन्, ‘नाफाबाट आएको पैसाले आफ्ना लागि लागुपदार्थको जोहो गर्नुपथ्र्यो ।’
उनले यसैगरी दुई वर्ष बिताए । दिमागको सोच्ने क्षमतै गुमाउँदै गएको थियो । शरीर लठ्ठिएर चल्नै नसक्ने भयो । त्यसपछि परिवारले उनलाई सुधार केन्द्रमा तीन वर्ष राखेर घरमा ल्याए । तर, अहिले पनि उनी सुस्त मनस्थितिका बिरामी छन् । उनी भन्छन्, ‘दुव्र्यसनबाट त छुटकारा भएँ, तर त्यसको असर दिमागमा परेको छ ।’ उनी एकैछिनमा सामान राखेको ठाउँ भुल्छन्, बोलेको कुरा बिर्सन्छन् ।
पछिल्लो समयमा भुसको आगोजस्तै लागुपदार्थको दुव्र्यसनी फैलिएको छ । लागुपदार्थको व्यापारसमेत भइरहेको छ । पछिल्लो समय ठुलो मात्रामा लागुऔषधको कारोबार भइरहेको छ । नेपाल प्रहरी र लागुऔषध नियन्त्रण ब्युुरोको आधिकारीक वेबसाइटमा हेर्ने हो भने पनि अधिकांश घटना लागुऔषध कारोबारीसँग सम्बन्धित छन् ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले पछिल्लो समय लागुपदार्थ दुव्र्यसनी पनि कारोबारमा संलग्न हुन थालेको बताउँछन् । ‘आफूले पनि लागुपदार्थ प्रयोग गर्ने र केही पैसा नाफा छुटाएर बेच्ने गरेको अनुसन्धानमा पाइएको छ,’ उनले भने । तर, लागऔषध दुव्र्यसनीको हकमा भने प्रहरीले पक्राउ गर्दैन । ‘दुव्र्यसनी आफैंमा बिरामी हुन्, प्रहरीले आफन्तको जिम्मा लगाउँछ,’ उनले भने, ‘लागुऔषध कारोबारीभन्दा प्रयोगकर्तामा केही कानुनी छुटको पनि व्यवस्था छ ।’

आर्थिक वर्ष २०८२-०८३मा ९९३ मुद्दा दर्ता भएका थिए । जसमा १ हजार ६ जना पक्राउ परेका छन् । १९७ जना विदेशी नागरिक रहेका छन् । कारोबारीको साथबाट ठुलो परिमाणमा लागुऔषधसमेत बरामद हुने गरेको ब्युरोको तथ्यांकमा छ । ब्युरोले मध्यान्ह दैनिकलाई उपलब्ध गराएको विवरण अनुसार, आर्थिक वर्ष २०८२÷०८३ मा १ हजार ८०७ केजी २४८ ग्राम गाँजा, ४१ केजी ५४ ग्राम चरेस, २३ केजी ४५१ ग्राम हेरोइन, १३ केजी ३४७ ग्राम कोकिन, ४३ केजी ४१२ ग्राम अफिम बरामद गरेको छ । त्यस्तै, एम्पुल ६६,१०३, स्पास्मो ७,६९९, नाइट्रोजेपाम ३४,४४५, कोरेक्स ३२० बोतल, ट्रामाडोल ५,४१,९२७ क्याप्सुल, एम्फेटामाइन ५५० ग्राम, एल एसडी १,०४० पिस, एमडी एमए २१३ ग्राम, बुप्रेनर्फिन धुलो १४ ग्राम, चरेसको तेल ५ लिटर नियन्त्रमा लिएको ब्युरोले जनाएको छ ।
ब्युरोले एम्पुल, नाइट्राभेट, कोरेक्स र ट्रामाडोलजस्ता लागुऔषध ठुलो परिमाणमा बरामद गरेको छ । त्यस्तै गाँजा चरेस, हेरोइन पनि ठुलो मात्रामा बरामद गरेको पछिल्लो तीन वर्षको तथ्यांकले देखाएको छ ।
नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । लागुऔषध प्रयोगकर्ताको संख्या मात्रै होइन, सामाजिक र संगठित प्रकारका अधिकांश अपराधमा पनि लागुऔषध जोडिने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । गृह मन्त्रालयले ६ वर्षअघि गरेको सर्वेक्षणअनुसार, एक लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागुपदार्थ सेवन गर्नेको संख्या छ । त्यसमध्ये सात प्रतिशत महिला छन् । प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुव्र्यसनीको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । त्यसयता सरकारले सर्वेक्षण गरेको छैन ।
अधिकांश कक्षा ८ देखि पढ्दै गरेका झन्डै ७० प्रतिशत विद्यार्थी दुव्र्यसनीमा फस्ने गरेको नार्कोनन नेपालका अध्यक्ष एवं पूर्वएसएसपी वसन्तराज कुँवर बताउँछन् । उनको अध्ययनअनुसार, नेपालमा ८० प्रतिशत प्रयोगकर्ता १४ देखि १९ वर्षको उमेरमा कुलतमा फस्छन्, तर तिनीहरू पुनस्र्थापना केन्द्रसम्म आइपुग्न ७ देखि १० वर्ष ढिलो भइसकेको हुन्छ ।