
काठमाडौं : टोखा नगरपालिकाको वडा नम्बर १ मा पूर्वजनप्रतिनिधि फोरमको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। टोखा नगरपालिका–१, झोरमा रहेको पब्लिक बोर्डिङ स्कुलमा शनिबार बिहानदेखि स्वास्थ्य शिविर सञ्चालन भइरहेको हो।
शिविरमा स्थानीयवासीको स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गरिँदैछ। शिविरमा हाडजोर्नी तथा नशासम्बन्धी जाँच, मुटुरोग परीक्षण, स्त्रीरोगसम्बन्धी परामर्श तथा परीक्षण, सामान्य चिकित्सा (जनरल फिजिसियन) सेवा, रक्तचाप (प्रेसर) तथा मधुमेह (सुगर) जाँच र फिजियोथेरापी परामर्शलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।
शिविरमा आवश्यकताअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण र परामर्श प्रदान गरिने आयोजकले जनाएको छ। स्थानीयवासीलाई घरनजिकै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।
टोखा नगरपालिका–१ वडा कार्यालय र स्वास्थ्य शाखाको सहजीकरण तथा अल नेपाल अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भइरहेको छ।