२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

Nada
२०८३ साउन ३० गते १४:२१
Shares
गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी : वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका किसानले तीन वर्षपछि क्षतिपूर्तिबापत राहत रकम प्राप्त गरेका छन् । जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्तिबापत रु नौ लाख ६४ हजार ९०० उपलब्ध गराइएको छ । 

ncell

कार्यालयले स‌कंलित क्षतिको निवेदनअनुसार हालसम्म ७३ जना पशुधनमा क्षति पुगेका र एक जना मानवीय घाइते भएकासहित ७४ जनालाई उक्त राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए । उनका अनुसार विसं २०८० साउनदेखिविसं  २०८२ कात्तिकसम्म वन्यजन्तुबाट भएको क्षतिको विवरण स‌कलन गरिएको हो । 

उक्त अवधिमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा ९६ बाख्रा, १५ पाडा र एउटा कुखुरामा क्षति पुगेको उनले बताए। वन्यजन्तुले बालीनाली तथा पशुधनमा क्षति पुर्‍याए पनि लामो समयसम्म राहत नपाउँदा किसानले राहतका लागि पटकपटक डिभिजन वन कार्यालयमा ध्यानाकर्षण गराउँदै आएका थिए । 
        
वन्यजन्तुबाट क्षति भएपछि राहतका लागि निवेदन दिएको लामो समयपछि आफूले राहत रकम पाएको मदाने गाउँपालिका-४ का किसान लालबहादुर घर्तीले बताए। 

‘निवेदन दिएको दुई वर्ष हुँदा पनि राहत नआएपछि आशा मर्दै गएका थियौँ । ढिलो गरी आए पनि खुसी लाग्यो’, उनले भने ।

पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा चितुवा, बाँदर, बँदेललगायत वन्यजन्तुले पशुधन तथा बालीनालीमा क्षति पुर्‍याउने क्रम बढ्दै गएको सूचना अधिकारी सापकोटाले बताए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी चितुवाको आक्रमणबाट किसानले क्षति बेहोर्दै आइरहेका छन् ।

वरिष्ठ वन अधिकृतसमेत रहेका सापकोटाले जिल्लामा किसानले पशुधनको क्षतिबापतको राहत रकम प्राप्त गरे पनि वन्यजन्तुबाट बालीनालीमा पुगेको  क्षतिको राहत भने हालसम्म उपलब्ध नभएको बताए । उनले २०८० देखि यससम्बन्धी राहतका लागि निवेदन आए पनि बालीनाली क्षतिबापतको रकम निकासा हुन नसकेको उल्लेख गरे ।

राहत रकम प्राप्त गर्नका लागि वन्यजन्तुबाट पीडित किसानले दिएको निवेदनका आधारमा जिल्लामा रहेको मूल्यांकन समितिमार्फत प्रदेश वन निर्देशनालयमा सिफारिस गरी पठाउने प्रावधान रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर