२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

दुई दिने बिदाले पनि रोकिएन ‘बुक फ्रि फ्राइडे’

Nada
सपना बोहरा
२०८३ साउन ३० गते १६:४६
Shares
दुई दिने बिदाले पनि रोकिएन ‘बुक फ्रि फ्राइडे’

काठमाडौं : रामशाह पथस्थित पद्मोदय माध्यमिक विद्यालयका छात्रछात्रा यतिबेला खुशी छन् । कारण हो– शैक्षिक सत्र सुरु भएदेखि नै अन्योलमा रहेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम पुनः सञ्चालन हुनु । विद्यालयमा कक्षा ७ मा अध्ययनरत आयसा खातुनले ‘बुक फ्रि फ्राइडे’का लागि गीत गाउने इच्छा रहेको भन्दै नाम दर्ता गराइसकेकी छन् । उनी गत वर्ष पनि कार्यक्रममा सहभागी भएकी थिइन् ।

ncell

उनी भन्छिन्, ‘बुक फ्रि फ्राइडे कार्यक्रम राम्रो छ, हामीले आफूलाई मन लागेको क्रियाकलाप गर्न पाउँछौं ।’ उनलाई गीत गाउन मन पर्छ । उनी गीत गाउने समूहमा आफ्नो नाम सुरक्षित गरेर खुशी भएकी छन् । ‘अहिले हाम्रो विद्यालयको परीक्षा चलिरहेको छ, परीक्षा सकिएपछि गत वर्षको जस्तै पुनः विद्यालयमा अतिरिक्त कार्यक्रमहरू हुन्छन्’, उनले खुशी हुँदै भनिन् । उनीसँगै पढ्ने अप्सरा खातुन र सन्ध्या आहुँजाले आफूले चाहेको सीप सिक्नका लागि समूह छनोट गरिरहेका छन् ।
जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिलकुमार झा विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापका लागि समूह बनाउँदै छन् । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई रुची भएका विभिन्न आठ वटा समूह बनाउँदै उनीहरूलाई अतिरिक्त क्रियाकलापका लागि सम्बन्धित प्रशिक्षकको समेत व्यवस्था गरिँदै छ ।

‘प्रत्येक शुक्रबार विद्यालयमा पुनः हुने अतिरिक्त कार्यक्रमले विद्यार्थी हौसिएका छन्,’ उनले भने, ‘यो कार्यक्रमले विद्यार्थीहरूको भविष्य निर्माणका लागि सहयोग पुग्छ ।’ विगतमा सञ्चालन भएको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक भएर आत्मनिर्भर बन्नसमेत सहयोग गरेको उनले बताए ।

काठमाडौं महानगरपालिकाले विद्यालयमा सञ्चालन गरेको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ । सरकारको शनिबार र आइतबार दुई दिने बिदाका कारण अन्योलमा रहेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमलाई निरन्तरता दिने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको शिक्षा विभागले पुस्तकरहित शुक्रबार कार्यक्रमको समीक्षा गर्दै विद्यार्थीहरूमा गहन सोच्ने क्षमताको विकास, रचनात्मकता वृद्धि, सञ्चार तथा सहकार्यको अभ्यासमा उत्प्रेरणा बढाएको र कार्यक्रम नतिजामुखी रहेको पृष्ठपोषण आएपछि आगामी कार्यक्रमको तयारी थालेको हो ।

त्यसका लागि शिक्षा विभागले महानगरमा रहेका सबै सामुदायिक विद्यालयलाई अतिरिक्त क्रियाकलापका लागि विद्यार्थीहरूको रुचिसहितको समूह बनाउन निर्देशनसमेत दिइसकेको छ । ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमलाई निरन्तरता दिँदै अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने शिक्षा विभागका विभागीय प्रमुख नमराज ढकाल बताउँछन् । त्यसका लागि १३ करोडभन्दा बढी बजेटसमेत छुट्याइएको छ ।

‘सिर्जनात्मक सीपअन्तर्गत ९ वटा, सीपअन्तर्गत ५ वटा कार्यक्रम सञ्चालन हुन्छन्,’ उनले भने, ‘सबै विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’

दुई दिन बिदाले ‘बुक फ्रि फ्राइडे’लाई कुनै असर नपार्ने उनले बताए । ‘महानगरले शैक्षिक क्यालेन्डरमा बुक फ्रि फ्राइडेलाई निरन्तरता दिएको छ,’ उनले भने, ‘यसले बालबालिकाको सिकाइ उपलब्धिमा सकारात्मक सुधार ल्याएको छ । त्यसैले निरन्तरता दिइएको हो ।’

प्रधानमन्त्री एवं तत्कालीन मेयर वालेन्द्र शाहको चुनावी घोषणापत्रमा हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने उल्लेख गरिएको थियो । सोही घोषणाअनुरूप महानगरका सबै सामुदायिक विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ ।
महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ र कक्षा ९ र १० मा शिक्षामा सीप कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यार्थीहरूको संख्या र रुची, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक तथा सम्बन्धित सरोकारवालाको सुझावका आधारमा विषय र उपसमूह निर्धारण गरिएका छन् ।

शिक्षा नियमावली, २०५९ ले विद्यार्थीको सिर्जनात्मक प्रतिभाको विकासका लागि शुक्रबारको दैनिक पठनपाठनको कार्य समाप्त भएपछि चित्रकला, हस्तकला, वाद्यवादन, नृत्य, नाटक, वक्तृत्वकला, हाजिरीजवाफ, हिज्जे तथा साहित्यिक क्रियाकलाप गर्नुपर्ने व्यवस्थासमेत गरेको छ । विद्यालयले कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि ८३२ घण्टा, कक्षा ४ देखि ८ सम्मका लागि १ हजार २४ घण्टा र कक्षा ९ र १० का लागि १ हजार १८४ घण्टा कक्षा सञ्चालन गर्नुपर्छ ।

गत वर्ष सिर्जनात्मक सिकाइअन्तर्गत २३ वटा विषयमा ७०५ वटा उपसमूहमा क्रियाकलाप सञ्चालन भएका थिए । स्काउट, वातावरण, व्यक्तित्व विकास, स्टीम, उद्यमशील सोच, पठन संस्कार, योग तथा ध्यान, विपद् व्यवस्थापन, भित्ते चित्र (म्युरल आर्ट), कोडिङ, संस्कृति तथा सम्पदा, चलचित्रको दृष्टिकोणबाट सिकाइ, हस्तकला, अबाकस, कथावाचन, नृत्य, गायन, बाँसुरी, मादल, धिमे, धाः बाजा, डम्फु तथा नाट्यलगायतका समूह बनाएर अतिरिक्त क्रियाकलाप गरिँदै आएका थिए ।

त्यसैगरी शिक्षामा सीपतर्फ १० वटा विषयमा तालिम दिइएको थियो । व्युटिसियन एन्ड हेयर स्टाइल, चित्रकला तथा मूर्तिकला, कार्पेन्ट्री एन्ड उड कार्भिङ, प्लम्बिङ, इन्डिजिनस एन्ड कन्टेम्पोररी मेसिनरी–डिजास्टर रेडिनेस, हाउस वायरिङ, मोबाइल एन्ड इलेक्ट्रोनिक्स, कुलिनरी आर्टस्, एग्रीकल्चर एन्ड अर्बन फार्मिङ तथा फेसन डिजाइन एन्ड टेलरिङ विषयमा विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गरिएको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर