२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

धापाखेलको नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

Nada
दीपकप्रसाद घिमिरे
२०८३ साउन ३० गते २१:१७
Shares
धापाखेलको नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर : ललितपुर महानगरपालिका–२४, धापाखेलस्थित ऐतिहासिक तथा धार्मिक सम्पदा नागदहमा आगामी भदौ १ गते लाग्ने नागपञ्चमी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

ncell

नागपञ्चमी पर्वको तयारीका विषयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नागदह विकास तथा संरक्षण समितिका अध्यक्ष एवं वडाध्यक्ष दिनेशजंग पाण्डेले मेलाको तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले नागदहको विकास, सिमसार क्षेत्र संरक्षण तथा नागपञ्चमी मेलासहित यसको धार्मिक, पौराणिक र वातावरणीय महत्वबारे जानकारी गराएका थिए ।

ऐतिहासिक, धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण ५२ रोपनी क्षेत्रफलमा फैलिएको नागदहलाई काठमाडौं उपत्यकाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको वडाध्यक्ष पाण्डेले बताए । तीव्र सहरीकरणका बीच ‘पृथ्वीको मिर्गौला’ मानिने सिमसार क्षेत्र तथा जलचरहरूको जैविक विविधता संरक्षणका लागि दहमा ढल तथा फोहोर मिसिन नदिने, निकास व्यवस्थापन गर्ने र वृक्षारोपण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

यस वर्षको नागपञ्चमी मेलालाई थप व्यवस्थित, स्वच्छ र भव्य बनाउन प्रचारप्रसार, सुरक्षा, सरसफाइ, गंगा आरती, पूजा तथा बजार व्यवस्थापन, प्रसाद व्यवस्थापनलगायत ११ वटा विषयगत उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको प्रचारप्रसार उपसमिति संयोजक एवं वडा सदस्य इन्द्रा श्रीस रानाले बताइन् । 

वडा कार्यालयले नागदह, सन्तानेश्वर, बज्रबाराही र नागेश्वर धामलाई जोडेर नयाँ धार्मिक पर्यटकीय रुट निर्माण गर्ने योजनासमेत अघि बढाएको छ । अध्यक्ष पाण्डेले नागपञ्चमीका दिन नागदहमा पूजाआजा गरी पुण्यलाभ लिन सम्पूर्ण भक्तजन तथा पर्यटकलाई निमन्त्रणा गर्दै नागदहको दीर्घकालीन विकास र सौन्दर्यीकरणमा सहयोग पु¥याउन सञ्चार जगत्लाई आग्रह गरेका छन् । 

पत्रकार सम्मेलनमा समितिका उपाध्यक्षद्वय पूर्वगाविस अध्यक्ष गणेशमान महर्जन र संस्कृति मन्त्रालयका पूर्वसचिव केदारबहादुर अधिकारी, सचिव देवराज लामिछाने, कोषाध्यक्ष धनेश गिरी, सहकोषाध्यक्ष कमला माली, सहसचिव महेश गिरी, समितिका पदेन सदस्य एवं वडासदस्यहरू इन्द्रा श्रीश, निशा मालबुल, उद्धव बस्नेत, हरिकृष्ण महर्जनलगायतको उपस्थिति थियो । 

ललितपुरको सदरमुकाम लगनखेलबाट करिब पाँच किलोमिटर दक्षिणमा रहेको नागदह ललितपुर महानगरपालिका–२४, धापाखेलमा ५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक दह हो। परापूर्वकालमा तालका रूपमा रहेको काठमाडौंको पानी चोभारको गल्छीबाट पठाइएपछि स्वतः निर्मित दहका रूपमा नागदहको छुट्टै धार्मिक तथा प्राकृतिक महत्व रहेको स्थानीयवासी बताउँछन् । 

आगामी दिनमा नागदहलाई केन्द्रमा राखेर सत्यनारायण मन्दिर, बासुकी, नागेश्वर धाम, आँखीदह, गौखुरेश्वर महादेव, सप्तऋषि मन्दिर र नौलिङ्गेश्वर महादेव मन्दिरलगायत क्षेत्रको विकासलाई एकीकृत रूपमा अघि बढाउने योजना वडा कार्यालयले बनाएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर