
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेलले लगातार दोस्रो कार्यकालमा पनि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाएपछि स्थानीयस्तरमा उनलाई ‘अहो भाग्यमानी’ भन्दै चर्चा गर्न थालिएको छ ।
नगरप्रमुख प्रेमलाल साह कानु दल त्यागका कारण पदमुक्त भएपछि उपप्रमुख पटेलले पुनः नगरपालिकाको नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपप्रमुख निर्वाचित भएकी पटेलले पहिलो कार्यकालमै तत्कालीन नगरप्रमुख धर्मेन्द्र पटेल निलम्बनमा परेपछि लामो समय कार्यवाहक नगरप्रमुखका रूपमा काम गरेकी थिइन् । तत्कालीन नगरप्रमुख धर्मेन्द्र पटेललाई २०७८ फागुन १५ गते भवन निर्माणको भुक्तानीबापत घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । उनी धरौटीमा रिहा भए पनि मुद्दा किनारा नलागेकाले २०७९ को निर्वाचनसम्म परनिया देवीले नै कार्यवाहक नगरप्रमुखका रूपमा नगरपालिकाको कार्यसम्पादन सम्हालेकी थिइन् ।
२०७९ को निर्वाचनमा नेकपा एमालेबाट पुनः उपप्रमुखमा निर्वाचित पटेलको दोस्रो कार्यकालमा पनि उस्तै परिस्थिति दोहोरिएको छ । एमालेबाट निर्वाचित नगरप्रमुख प्रेमलाल साह कानु र वडा नम्बर ४ का अध्यक्ष रामप्रवेश प्रसाद कुर्मी आम जनता पार्टीमा आबद्ध भएपछि निर्वाचन आयोगले २०८३ साउन १५ गते उनीहरूको पद स्वतः समाप्त भएको सूचना प्रकाशित गरेको थियो । राजनीतिक दलसम्बन्धी कानुनअनुसार दल त्याग गरेपछि पद रिक्त हुने व्यवस्थाबमोजिम उनीहरू पदमुक्त भएका हुन् ।
नगरप्रमुख पदमुक्त भएपछि शुक्रबार कार्यवाहक नगरप्रमुखको पदभार ग्रहण गर्दै पटेलले संविधानले सुनिश्चित गरेको स्थानीय स्वायत्तता, समावेशिता र भेदभावरहित सेवा प्रवाहको मर्मअनुसार काम गर्ने प्रतिबद्धता जनाइन् । उनले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा कुनै राजनीतिक दल वा समूहप्रति भेदभाव नगरी सबैको साथ र सहभागितामा काम गर्ने बताइन् ।
‘नगरपालिकाको विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीबीच सहकार्य र समन्वय आवश्यक छ । नगरवासीको हितलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ,’ पटेलले भनिन् ।
पदभार ग्रहण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पवनकुमार केसरी, वडा नम्बर १ की अध्यक्ष सफिना खातुन, वडा नम्बर २ का अतिकुर रहमान, वडा नम्बर ३ का सञ्जय पटेल, वडा नम्बर ६ का विष्णुकुमार दास, वडा नम्बर ७ का उपेन्द्र राय यादव, वडा नम्बर ८ का विजय पटेल, वडा नम्बर ९ का वीरबहादुर साह लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको उपस्थिति थियो ।
लगातार दुई कार्यकालमा नगरप्रमुखको पद रिक्त हुँदा दुवैपटक उपप्रमुख परनिया देवी पटेलले नै कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाउनु संयोग मात्र नभई देवाही गोनाहीमा चर्चाको विषय बनेको छ । स्थानीयस्तरमा यही कारण उनलाई ‘अहो भाग्यमानी’ उपप्रमुखका रूपमा समेत चर्चा गर्न थालिएको छ ।