
काठमाडौं : काठमाडौं टोखा नगरपालिका–१, झोरस्थित पब्लिक बोर्डिङ स्कुलमा पूर्वजनप्रतिनिधि फोरम टोखाको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । टोखा नगरपालिका–१ वडा कार्यालय तथा स्वास्थ्य शाखाको सहजीकरण र अल नेपाल अस्पतालको प्राविधिक सहयोगमा शनिबार सञ्चालन गरिएको शिविरमा स्थानीय महिला तथा पुरुष गरी १५० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा हाडजोर्नी तथा नशासम्बन्धी जाँच, मुटुरोग परीक्षण, स्त्रीरोगसम्बन्धी परीक्षण तथा परामर्श, सामान्य चिकित्सा सेवा, रक्तचाप तथा मधुमेह परीक्षण र फिजियोथेरापी परामर्शलगायतका सेवा उपलब्ध गराइएको थियो ।

स्थानीयवासीलाई घरनजिकै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताअनुसार स्वास्थ्य परीक्षण गर्नुका साथै उपचार तथा स्वास्थ्यसम्बन्धी परामर्श दिएका थिए ।
टोखा नगरपालिका–१ का वडाध्यक्ष रमेशकुमार लामिछानेले पूर्वजनप्रतिनिधि फोरमले आयोजना गरेको स्वास्थ्य शिविरबाट वडावासी प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए । वडावासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडा कार्यालयले काम गरिरहेको भन्दै उनले यस्ता कार्यक्रमले वडाको स्वास्थ्य सेवामा थप सहयोग पुगेको बताए ।
टोखा नगरपालिका–१ का पूर्ववडाध्यक्ष श्रीकृष्ण अधिकारीले पूर्वजनप्रतिनिधि फोरमले सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको बताए । स्वास्थ्य शिविरबाट वडा नम्बर १ का नागरिक लाभान्वित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्ने बताए ।

टोखा नगरपालिका–११ का पूर्ववडाध्यक्ष उत्तम अधिकारीले पूर्वजनप्रतिनिधिका रूपमा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुँदा विशेषगरी वृद्धवृद्धा, महिला तथा नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्ने नागरिकलाई सहज भएको आयोजकले जनाएको छ ।
