
काठमाडौँ : जाजरकोटको भेरी नगरपालिका-२, रिसाङ आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परेका तथा विभिन्न स्थानमा फसेका नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेना परिचालन भएको छ ।
भवानीदल गणबाट साउन ३० गते साँझदेखि परिचालित सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।
हालसम्म पहिरोमा परी घाइते भएका १० जनालाई उद्धार गरिएको छ। त्यस्तै दुई जनाको शव निकालिएको छ भने दुई जना बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
वर्षाका कारण जाजरकोटका विभिन्न तीन स्थानमा करिब ६० देखि ६५ जना नागरिक फसेको जनाइएको छ। उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन सुरक्षा निकायको टोली परिचालन गरिएको छ ।
यसै क्रममा राउतेरह क्षेत्रमा फसेका व्यक्तिमध्ये हालसम्म २० जनाको उद्धार गरिएको छ । बाँकी व्यक्तिको उद्धारका लागि पनि सुरक्षा टोलीले निरन्तर प्रयास गरिरहेको छ ।
अविरल वर्षाका कारण पहिरो जाने क्रम र भौगोलिक कठिनाइका बीच उद्धार कार्य सञ्चालन गर्नुपरेको सुरक्षा निकायले जनाएको छ । नेपाली सेनाले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको सहकार्यमा जोखिममा रहेका नागरिकको पहिचान तथा सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेर अभियान अघि बढाइरहेको छ।