२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

मदरसा इस्लामिया गौरमा लागू पदार्थ तथा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन ३१ गते १६:४०
Shares
मदरसा इस्लामिया गौरमा लागू पदार्थ तथा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

रौतहट : जिल्लाको सदरमुकाम गौर नगरपालिका–१ स्थित मदरसा इस्लामिया गौरमा समुदायमा आधारित लागू पदार्थ नियन्त्रण तथा विपद् व्यवस्थापनसम्बन्धी एक दिने विशेष सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा हेडक्वार्टर रौतहटको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
​
सीमावर्ती क्षेत्रमा बढ्दो लागू औषधको दुर्व्यसनी र बर्खायाममा आउन सक्ने प्राकृतिक विपद्का जोखिमलाई ध्यानमा राख्दै मदरसामा अध्ययनरत बालबालिकालाई लक्षित गरी चेतनामूलक कक्षा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

ncell

कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा उपस्थित सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद भट्टले बालबालिका तथा युवाहरू लागू पदार्थको कुलतमा फस्नुका कारण यसले शारीरिक, मानसिक तथा सामाजिक जीवनमा पार्ने गम्भीर असर र कुलतबाट बच्ने व्यावहारिक उपायहरूबारे विस्तृत प्रशिक्षण दिएका थिए ।

साथै उनले बाढी, पहिरो तथा आगलागीजस्ता विपद्का समयमा अपनाउनुपर्ने सतर्कता प्राथमिक सुरक्षा र तत्कालीन उद्धारसम्बन्धी प्रयोगात्मक अभ्यासका जानकारी प्रस्तुत गरे ।


​
प्रशिक्षणका क्रममा मदरसाका विद्यार्थीहरूले लागू पदार्थको जोखिम र विपद् व्यवस्थापनका व्यावहारिक सीपबारे महत्वपूर्ण ज्ञान हासिल गरेका छन् ।  
​
उक्त कार्यक्रममा स्थानीय भद्रभलादमी, नागरिक समाजका प्रतिनिधि, बिभिन्न संचारक्षेत्रका सञ्चारकर्मी, मुस्लिम समुदायका अगुवा तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सीमावर्ती क्षेत्रका बालबालिका र समग्र समुदायलाई सामाजिक विकृतिबाट जोगाउन र विपद्को पूर्वतयारीबारे सचेत गराउन यस्ता लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।  

​सशस्त्र प्रहरी बल रौतहटले समुदायसँगको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउँदै लैजाने नीतिअनुरूप कार्यक्रम आयोजना गरिएको स्पष्ट पारेको छ । सामाजिक अपराध न्यूनीकरण, लागू औषध नियन्त्रण र विपद् व्यवस्थापनमा जनचेतना अभिवृद्धि गर्न नागरिक-सुरक्षा निकायबीचको सम्बन्धलाई थप कसिलो बनाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरू जारी राखिने प्रतिबद्धता प्रहरीले व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर