
कपिलवस्तु : कृष्णनगर नगरपालिका–३ झण्डानगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले झण्डीनगरस्थित विनोद रावतको एकतले पक्की घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ४ लाख ७५ हजार रुपैयाँ नगद, ३ बुङ तास तथा विभिन्न कम्पनीका १४ थान मोबाइल फोन बरामद गरिएको छ ।
पक्राउ परेका १५ जनालाई बरामद सामग्रीसहित आवश्यक कारबाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तुमा बुझाइएको प्रहरीले जनाएको छ ।