२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

सेती अस्पताल सुधारमा मुख्यमन्त्री भट्टको कडाइ : हरेक १५ दिनमा अनुगमन, बिरामीका गुनासा आफैं सुन्ने

Nada
ललित बोहरा
२०८३ साउन ३१ गते १९:२४
Shares
सेती अस्पताल सुधारमा मुख्यमन्त्री भट्टको कडाइ : हरेक १५ दिनमा अनुगमन, बिरामीका गुनासा आफैं सुन्ने

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राख्दै हरेक १५ दिनमा अस्पतालको अनुगमन गर्ने घोषणा गरेका छन् ।

ncell

आइतबार सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासहित सेती प्रादेशिक अस्पताल पुगेका मुख्यमन्त्री भट्टले आकस्मिक कक्ष, डायलायसिस कक्ष, आइसियू, गाइने वार्ड, फार्मेसी तथा अस्पताल परिसरको स्थलगत निरीक्षण गरेका हुन् ।

अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले अस्पतालको सरसफाइ, सेवा प्रवाह, बिरामीको अवस्था र व्यवस्थापनबारे जानकारी लिएका थिए । उनले आकस्मिक कक्षसँगै जोडिएको शौचालयलगायतका स्थानको समेत निरीक्षण गर्दै अस्पताल प्रशासनलाई सरसफाइ र सेवा प्रवाह चुस्तदुरुस्त बनाउन निर्देशन दिए ।

मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री थापाले अस्पतालमा उपचाररत बिरामीसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या तथा गुनासा समेत सुनेका थिए । बिरामीहरूले उपचार सेवा, जनशक्ति अभाव र अस्पताल व्यवस्थापनसँग सम्बन्धित समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले अस्पतालको अवस्था हेर्दा आमूल सुधार आवश्यक देखिएको बताए । उनले अनुगमन प्रचारका लागि नभई सुधारका लागि ‘एक्सन’ मा जाने उद्देश्यले गरिएको स्पष्ट पारे ।

उनले आगामी दिनमा हरेक १५ दिनमा अस्पतालको अनुगमन गरिने र आवश्यकताअनुसार छड्के अनुगमनसमेत गरिने बताए । अस्पतालको समग्र सुधारका लागि एक हप्ताभित्र कार्ययोजना प्रदेश सरकारसमक्ष पेश गर्न मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयलाई निर्देशन दिइएको छ ।

त्यस्तै, अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले तोकिएको कार्यालय समय पालना गरे–नगरेको विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको छ । सुशासनका विषयमा कुनै सम्झौता नगर्ने भन्दै मुख्यमन्त्री भट्टले जनतालाई दुःख दिने अवस्थाको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिममा सबैभन्दा बढी बिरामीको चाप रहने प्रमुख सरकारी अस्पताल हो । बिरामीको चापअनुसार पर्याप्त जनशक्ति र भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या देखिँदै आएको छ ।

अस्पतालमा स्वीकृत दरबन्दी सीमित रहे पनि अस्पताल व्यवस्थापन समिति तथा विभिन्न कार्यक्रमअन्तर्गत चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन गरी सेवा सञ्चालन हुँदै आएको छ । तर, बढ्दो बिरामीको चापअनुसार जनशक्ति, उपकरण तथा पूर्वाधार पर्याप्त नहुँदा बिरामीले प्रभावकारी सेवा पाउन कठिनाइ भोग्दै आएका छन् ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै प्रदेशका अस्पताललाई क्रमशः आधुनिकीकरण गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् । सेती प्रादेशिक अस्पताललाई थप व्यवस्थित र गुणस्तरीय सेवा दिने अस्पतालका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।

नियमित अनुगमन र सुधारको कार्ययोजना कार्यान्वयन हुने हो भने सेती अस्पतालको सेवा प्रवाह, सरसफाइ, जनशक्ति व्यवस्थापन र बिरामीमैत्री वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर