
काठमाडौं : अन्तरजातीय विवाहपछि रहस्यमय मृत्यु भएका काभ्रे–पाँचखालका अजित मिजारको शव त्रिवि शिक्षण अस्पतालमा थन्किएको १० वर्ष पूरा भएको छ । अस्पतालमा राखिएको उनको चिसो शरीरले सरकारबाट न्यानो न्यायको अपेक्षा गरिरहेको छ ।
अजितको परिवारले यो १० वर्षमा छोरा मात्र गुमाएन, ‘मेरो लागि राज्य छ है’ भन्ने भरोसा पनि गुमायो । उनीहरूले आफ्ना कुरा राज्यलाई नसुनाएका हैनन् । राज्यले उनीहरूको कुरा नसुनेको पनि हैन । सुन्ने र सुनाउने सिलसिला आजसम्म चलिरहेको छ, तर न्याय कहिले पाइन्छ उनीहरू स्वयंलाई थाहा छैन ।
अजितका बुबा हरिभक्त ढकाल (मिजार) र आमा काली मिजार गत साउन २२ गते फेरि सरकारलाई भेट्न पुगे । उनीहरूले महिला, बालबालिका तथा लैंगिक तथा यौनिक अल्पसंख्यकमन्त्री सीता बादी र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारसँग भेट गरे ।
उनीहरू प्रहरीले आत्महत्या भनेको अजितको शवको पुनः फरेन्सिक (विधि विज्ञान) परीक्षण गराउन चाहन्छन् । फरेन्सिक परीक्षणबाट अजितको मृत्यु कसरी भयो भन्ने सत्य थाहा हुने उनीहरूको विश्वास छ । सत्यतथ्य बाहिर नआइकन अजितको शव नबुझ्ने अडानकै कारण १० वर्षदेखि शव अस्पतालमै अड्किएको हो । भेटपछि सदाझैं न्यायको आश्वासन दिइयो, तर जुन माग मिजार परिवारको थियो, त्यो जहाँकोतहीँ अल्झिएको छ ।
सचेतक परियारले मिजार परिवारको पीडाप्रति पूर्ण सहानुभूति प्रकट गर्दै न्याय दिलाउने प्रक्रियामा राज्यका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने आश्वासन दिएका छन् । ‘पहुँचवादी र वर्चस्ववादीले कानुनलाई आफ्नो हातमा लिएर दलितमाथि गरेको शासनले समाजमा समता स्थापना हुन सकेन,’ उनी भन्छन्, ‘यस्तो प्रवृत्ति प्रहरी प्रशासनमा पनि छ, त्यो अगुवामा पनि छ, कर्मचारीतन्त्रमा पनि छ, यसले राम्रो परिणाम दिँदैन ।’
कानुनले जुनसुकै जात र धर्म मान्नेलाई समान रूपमा देख्छ । तर, हाम्रो सामाजिक संरचनाले दलितलाई बढी प्रताडित गरेको रास्वपा सांसद प्रकाशचन्द्र परियार बताउँछन् । ‘सरकार फेर्न सजिलो रहेछ, तर संस्कार फेर्न गाह्रो छ, हामीसँग जुन मानसिकता छ, सोचाइ छ त्यसलाई फेर्न सकेका छैनौं,’ उनी भन्छन्, ‘म यो परम्परालाई भत्काउने प्रयास गर्नेछु, राज्यसँग गुनासो बोकेर आएका अजितको परियारलाई न्याय दिलाउन कुनै कसर बाँकी रहँदैन ।’
२०७३ साल असार ३० गते धादिङको गजुरीमा मृत भेटिएका अजितको शव परिवारलाई थाहै नदिई प्रहरीले आफूखुसी गाडेपछि घटनाले अर्कै मोड लिएको थियो । परिवारलाई थाहै नदिई प्रहरीले कसरी लासको सनाखत ग¥यो भन्ने प्रश्न त्यो बेला पनि उठेको थियो । आज पनि उनको परिवार यसैको उत्तर खोजिरहेको छ । ‘यदि त्यो हत्या थिएन भने प्रहरीले हतार–हतार लास किन गाड्यो ?’ हरिभक्त प्रश्न गर्छन् ।
छोराको शव फेला परेको थाहा पाएपछि परिवार काभ्रेबाट धादिङ पुग्यो । त्यहाँ पुग्दा प्रहरीले अजितको शव गाडिसकेको बतायो । ‘एक हप्तासम्म पोस्टमार्टम गर्न पनि कुर्नुपर्छ,’ हरिभक्त भन्छन्, ‘प्रहरीले त त्यो पनि कुरेनछ, मैले छोरालाई गाडेको ठाउँबाट निकालेर त्रिवि शिक्षण अस्पताल ल्याएको हुँ, अहिले पनि छोराको शव त्यहीँ छ ।’
प्रहरीले आत्महत्याबाट अजितको मृत्यु भएको बतायो । छोराले झुन्डिएर आत्महत्या गरेको प्रहरीको रिपोर्टलाई उनी सत्य मान्न तयार छैनन् । युवती पक्षबाट ज्यान मार्ने धम्की पटकपटक आइरहने गरेकाले यसको छानबिन नभएसम्म छोराको लास नजलाउने उनीहरूको अडान छ । ‘हाम्रो दाहसंस्कार होला, तर न्याय नपाएसम्म अजितको अन्त्येष्टि हुँदैन,’ हरिभक्तले भने ।
अजितको शवको पटक–पटक पोस्टमार्टम भएको छ । झुन्डिएको अवस्थामा मृत भेटिएका अजितको अनुहार कालो–निलो भएको थियो । कपाल खुइलिएको थियो । तर, पोस्टमार्टममा त्यसबारे परीक्षण नै भएको थिएन । पोस्टमार्टममा संलग्न डा. रिजेन श्रेष्ठले ‘मृतकको शरीरमा घाउचोट थिए, नीलडाम थिए’ भनी बयान दिएका थिए । डा.अमृता श्रेष्ठले पनि ‘शरीरमा घाउचोट थिएन, तर मृतकको अनुहार नीलो थियो’ भनी बयान दिएकी थिइन् ।
‘यी सबै कुरालाई नजरअन्दाज गरेर पीडककै पक्षमा फैसला हुनु भनेको हाम्रा लागि न्याय मरेसरह हो । जातकै कारण छोरो म¥यो, जातकै कारण न्याय पाइएन,’ हरिभक्तले भने ।
‘अजितको शरीर क्षतविक्षत भएको भनेर बाहिर रिपोर्ट आयो, तर उसले लगाएको सर्टको टाँकसमेत खोलिएको थिएन,’ हरिभक्त भन्छन्, ‘पोस्टमार्टम नै नगरी हचुवाका भरमा रिपोर्ट बनाएर हत्यालाई आत्महत्या भनियो ।’
अहिले मुद्दा सर्वोच्चमा चलिरहेको छ । मुद्दाको फैसला हुनुअघि अजितको शवको फरेन्सिक परीक्षण हुनुपर्ने परिवारको माग छ । फरेन्सिक परीक्षणले सत्य तथ्य पत्ता लाग्ने परिवारको विश्वास छ । ‘यहाँबाट न्याय नपाए अन्तर्राष्ट्रिय न्यायालय जान्छु,’ उनले भने, ‘न्यायबिना छोराको अन्तिम संस्कार गर्दिनँ ।’
अजितको मृत्युपछि सडक र सदनमा कुरा नउठेको हैन । ‘दलितलाई खै’ अभियान चलाइरहेका अभियन्ता खगेन्द्र सुनारले त्यतिबेला अजितले न्याय नपाए अपराधीलाई आफँैले सजाय दिने उद्घोषसमेत गरेका थिए । अहिले उनी संघीय सांसद बनेका छन् । उनकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेको छ । ‘सडकमा हुँदा त न्याय दिलाउँछु भन्नुहुन्थ्यो, सदन र सरकारलाई पनि उहाँले दबाब दिनुहुन्छ भन्ने आशा छ,’ उनले भने ।
‘अहिले युवाको सरकार छ,’ हरिभक्त भन्छन्, ‘मलाई त बालेन सरकारबाट पनि ठुलो अपेक्षा छ ।’ हरेक सरकार बन्दा अजितको परिवार न्याय माग्न काभ्रेबाट काठमाडौं आइपुगेको छ । यो सरकार बनेपछि पनि माइतीघरमा उनीहरूले ‘हाम्रो छोराले न्याय कहिले पाउँछ सरकार ?’ भनेर प्रदर्शन गरेका थिए ।
यस्तो थियो घटना
घटना २०७३ सालको हो । काभ्रेकै कल्पना पराजुली नाम गरेकी किशोरी र अजितले असार २५ गते प्रेम विवाह गर्छन् । विवाह गरेको पाँच दिनमै उनीहरूको प्रेम दुर्घटनामा पर्छ । असार ३० गते धादिङको परेवाटारमा अजितको शव भेटिन्छ । त्यो दिनबाट सुरु भएको उनीहरूको दुःख आज पनि उस्तै छ ।
केटीको परिवारलाई आफ्नी छोरीले कथित अछुत जातका केटासँग सम्बन्ध बनाएको पटक्कै मन परिरहेको थिएन । उनीहरू कुनै पनि हालतमा यो सम्बन्ध छुटाउने पक्षमा थिए । विवाहपछि अजित र कल्पना भक्तपुरस्थित अजितकी दिदीको घरमा पुगेका थिए ।
यता, अजितको परिवारलाई केटीपक्षले लगातार धम्की दिन थाले । ‘छोरा कहाँ छ, झिकाउनुप¥यो’ यो बोलीले आज पनि हरिभक्त र कालीलाई तर्साउँछ । २०७३ असार २६ गते बिहान स्थानीय रमेशप्रसाद काफ्ले कल्पनाका बुबा भोजबहादुर पराजुलीलाई लिएर हरिभक्तको घरमा पुगेका थिए । उनीहरूले ‘छोरोलाई कहाँ लुकाइस्, कता छ झिकाइहाल्, नत्र राम्रो हुँदैन’ भन्दै धम्की दिन थाले ।
घरैमा आएर थर्काएर फर्किएका भोजबहादुरसँग असार २७ गते पाँचखाल प्रहरी चौकीमा भेट्ने कुरा भयो । २७ गते उनीहरू प्रहरी कार्यालय पुगे । प्रहरीले बिहे गर्न केटा र केटी दुवैको उमेर नपुगेको भन्दै उनीहरूलाई घर फर्काउने सहमति गरायो । त्यसको तीन दिनपछि अजित धादिङको परेवाटारस्थित विश्रामस्थलमा झुन्डिएको अवस्थामा मृत फेला परे ।
प्रहरी चौकीमा भेटेको दिन कल्पनाकी दिदी सम्झनाले भनेकी थिइन्, ‘जति पैसा खर्च गरेर पनि अजितलाई माटोमाथि हिँड्न दिन्नँ ।’ प्रहरी चौकीबाट घर आएपछि अजित र उनको परिवारलाई अपरिचित व्यक्तिहरूबाट धम्की आउन थाल्यो । ‘नयाँ–नयाँ नम्बरबाट फोन आउने, धम्की दिने हुँदा पनि अजितले कल्पनालाई छाड्न आँट गरेन’ अजितकी आमा भन्छिन् । असार २९ गते कल्पना र अजितले भेट्ने कुरा गरेको पनि परिवार बताउँछ ।
कल्पनाले ‘म २९ गते जसरी भए पनि यहाँबाट भागेर आउँछु’ भनेका कारण अजित मोबाइल घरमै छाडेर बाहिर निस्किएका थिए । त्यसपछि अजित बेपत्ता भए । बेपत्तापछि उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो ।
छोरो हराएपछि आमा काली उनलाई खोज्न तामाघाट बजार पुगेकी थिइन् । मासुपसलका एकजनाले धादिङमा एकजना झुन्डिएको फोटो मोबाइलमा आएको छ, त्यही त होइन भनेको याद छ, कालीलाई । ‘त्यति टाढा जान मेरो छोरासँग पैसा नै थिएन, कहाँ जान्छ, ‘होइन’ भनेँ,’ उनी भन्छिन्, ‘पछि झुन्डिएको फोटो देखाउनुभयो । जुत्ता, कपडाले चिन्यौँ, अजितै रहेछ ।’
अजितको शव भेटिएपछि हरिभक्तले केटी पक्षविरुद्ध जाहेरी दिएका थिए । भदौ २० गते प्रहरीले उनीहरूलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलायो । तर, जिल्ला अदालत धादिङले उक्त मुद्दामा २०७५ जेठ २० गते विनोद भनिने टेकबहादुर पराजुली, ध्रुव भनिने भोजबहादुर पराजुली र सम्झना पराजुलीलाई सफाइ दियो ।
जिल्ला अदालतको फैसला जिल्ला चित्त नबुझेपछि उनीहरू उच्च अदालत गए । उच्च अदालत पाटनले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो । उच्च अदालतले २०७९ वैशाख १२ गते दोषीलाई उन्मुक्ति दिने गरी फैसला गरेपछि मुद्दा सर्वोच्च पुगेको बुवा हरिभक्त बताउँछन् । यो मुद्दा अहिले सर्वोच्च अदालत पुगेको छ ।
‘न्यायालयको विश्वास छैन, तर म प्रतिरोध गरिरहन्छु, यो लडाइँ अब मेरो मात्र रहेन, ६० लाख दलितहरूको हो,’ ‘उनी भन्छन्, ‘अब मैले हार मानेँ भने १० वर्षदेखि शिक्षण अस्पतालमा बरफ भएर बसेको छोराले के भन्ला ?’ अजितजस्ता थुप्रै छोराछोरीका लागि लड्न बाँकी रहेको उनी बताउँछन् ।