२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च

Nada
२०८३ भदौ १ गते १६:४९
Shares
मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन् ।

ncell

सोमबार प्राधिकरणमा आयोजित मनसुन पुर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । नेपालमा यसवर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम कायमै रहेको उनले बताए ।

नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन १३ र पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ । भदौ १ सम्म आइपुग्दा मनसुन अवधि करिब एक महिना १४ दिन बाँकी रहेको छ । अब जोखिम व्यवस्थापनका लागि ‘काउन्टडाउन’मा जानुपर्ने अवस्था रहेको प्रमुख उप्रेतीले बताए ।

उनका अनुसार यसवर्ष मनसुनको वर्षा देशभर समान रूपमा भएको छैन । मध्यपहाडी क्षेत्रमा कतिपय स्थानमा खण्डवृष्टिका कारण ठुलो जनधनको क्षति भएको छ भने मधेश क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक उद्धृत गर्दै प्रमुख उप्रेतीले नेपालमा वार्षिक औसत वर्षा करिव १ हजार ४ सय ७० मिलिमिटर हुनेमा भदौ १ सम्म करिव ८ सय २४ मिलिमिटर वर्षा भएको बताए । यो कुल औसतको करिब ५५ प्रतिशत हो ।

तर वर्षाको समग्र परिमाणभन्दा यस वर्षको वितरण र प्रवृत्ति फरक देखिएको उनको भनाइ छ । पश्चिम नेपालमा आगामी तीन दिनमा भारी वर्षा हुन सक्ने र तराई तथा मधेश क्षेत्रमा पनि ठुलो वर्षाको सम्भावना देखिएको उनले बताए ।

उनले यस वर्षको असामान्य वर्षा प्रणालीलाई एल निनोको प्रभावसँग जोडेर हेर्न सकिने बताए । साथै हिन्द महासागरको ‘इण्डियन ओसन डाइपोल’ (आइओडी) को अवस्थाले पनि वर्षाको प्रवृत्तिमा प्रभाव पार्नसक्ने उनले जानकारी दिए । हाल आइओडी तटस्थ अवस्थामा रहेपनि केही अन्तर्राष्ट्रिय मौसमी मोडलहरूले आगामी दिनमा यो सकारात्मक अवस्थामा जान सक्ने संकेत गरेको उनको भनाइ छ ।

आइओडी सकारात्मक भएमा दशैं–तिहारको आसपाससमेत वर्षा हुन सक्ने सम्भावना रहने उनले जानकारी दिए । उनले मनसुनसम्बन्धी जानकारी दिन एकीकृत सूचना प्रणालीको विकास गर्न लागेको पनि बतए । उनले स्थानीय तहमा डोजर प्रयोग गरेर अनावश्यक सडक खन्दा वर्षाको समयमा पहिरो जाने जोखिम बढेको देखिएको बताए ।

सम्बन्धित खबर