
काठमाडौँ : खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा विद्यार्थी प्रभावित भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारको ध्यानाकर्षण गराएको छ । संघले मंगलबार त्रिचन्द्र क्याम्पस परिसरमा खाली ग्यास सिलिन्डर प्रदर्शन गर्दै विरोध जनाएको हो ।
ग्यासको अभाव र वितरणमा देखिएको समस्याले विद्यार्थीको दैनिक जीवन तथा अध्ययन प्रभावित भएको नेविसंघको भनाइ छ । विद्यार्थीका आधारभूत आवश्यकतासँग जोडिएको इन्धन आपूर्ति सहज बनाउन सरकारले तत्काल पहल गर्नुपर्ने माग संघले अघि सारेको छ ।
प्रदर्शनमा सहभागी विद्यार्थीले विभिन्न माग र सरकारप्रतिको असन्तुष्टि झल्काउने प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले ग्यासको अभाव अन्त्य गर्न, वितरण प्रणाली सहज बनाउन तथा विद्यार्थीले भोगिरहेका समस्याको तत्काल सम्बोधन गर्न माग गरेका थिए ।
प्रदर्शनमा ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुल्हो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’ र ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ लगायतका नारासहितका प्लेकार्ड प्रयोग गरिएको थियो ।
नेविसंघले ग्यासको आपूर्ति समस्या समाधान गरी विद्यार्थी तथा सर्वसाधारणले सहज रूपमा खाना पकाउने इन्धन प्राप्त गर्ने अवस्था सिर्जना गर्न सरकारसँग माग गरेको छ ।