२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

ललितपुरमा अपराधसँगै सडक दुर्घटना र सामाजिक सुरक्षाको चुनौती बढ्दो

Nada
रामहरि कार्की
२०८३ भदौ २ गते १६:२९
Shares
ललितपुरमा अपराधसँगै सडक दुर्घटना र सामाजिक सुरक्षाको चुनौती बढ्दो

ललितपुर : ललितपुरमा अपराध नियन्त्रणसँगै सडक दुर्घटना र सामाजिक सुरक्षाका घटना प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा देखिएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको २०८३ साउन महिनाको विवरणले जिल्लामा एक महिनामै ठूलो संख्यामा आपराधिक घटना, उजुरी, सवारी दुर्घटना तथा सामाजिक सुरक्षासँग सम्बन्धित घटना भएको देखाएको छ ।

ncell

प्रहरीका अनुसार साउनमा जिल्लामा विभिन्न प्रकृतिका १७९ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा जघन्य तथा गम्भीर अपराधदेखि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटना र अन्य अपराध छन् । सो अवधिमा चालु मुद्दाका १२० जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनका क्रममा थप ३३ जना पक्राउ परेका छन् ।

फैसला कार्यान्वयनका क्रममा पक्राउ परेकाबाट अदालतले तोकेको १० वर्ष १० महिना ७ दिन कैद, २ करोड ८८ लाख २६ हजार ७०९ रुपैयाँ बिगो र १८ लाख ८५ हजार ८२५ रुपैयाँ जरिवाना असुलउपर भएको प्रहरीले जनाएको छ ।

तर ललितपुरको सुरक्षा चुनौती आपराधिक घटनामै सीमित देखिँदैन । एक महिनामा भएका ८५ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु र १३१ जना घाइते भएका छन् । दुर्घटनामा १२४ वटा सवारीसाधन संलग्न थिए । दुर्घटनामा परेका १२५ जनालाई प्रहरीले उद्धार गरेको जनाएको छ ।

सवारी दुर्घटनामा हुने मानवीय क्षतिले ललितपुरमा सडक सुरक्षाको अवस्था पनि गम्भीर रहेको देखाएको छ । प्रहरीले तीव्र गति, ठक्कर, सवारी अनियन्त्रित हुनु तथा सवारीसाधनमा चढ्ने–ओर्लने क्रममा हुने जोखिमलाई दुर्घटनाका कारणका रूपमा औंल्याएको छ । दुर्घटना न्यूनीकरणका लागि गरिएको कारबाहीबाट साउनमा ४ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

घरेलु हिंसादेखि हराएका नागरिकसम्म

साउनमा प्रहरीकहाँ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ३९ वटा उजुरी पुगेका छन् । तीमध्ये ३७ वटा फर्छ्योट भएका छन् भने दुई वटा बाँकी छन् ।

त्यस्तै घरेलु हिंसाका ३५ उजुरी परेका छन् । तीमध्ये ३४ वटा मिलापत्रबाट टुंगिएका छन् । बाँकी एउटा उजुरीमाथि प्रक्रिया अघि बढिरहेको छ । घरेलु हिंसाका उजुरीमध्ये ललितपुर महानगरपालिकाबाट मात्रै २२ वटा आएका छन् । महालक्ष्मी नगरपालिकाबाट सात, गोदावरीबाट पाँच र बागमती गाउँपालिकाबाट एक उजुरी परेको प्रहरीको विवरणमा उल्लेख छ ।

मानिस हराउने घटना पनि प्रहरीको मासिक विवरणमा देखिएको छ । साउनमा विभिन्न उमेर समूहका ५८ जना हराएको सूचना प्रहरीमा आएकोमा ३६ जना फेला परेका छन् ।

प्रहरी कार्यालयमा नागरिकले प्रत्यक्ष रूपमा दिएका ४५३ वटा ठाडो उजुरीमध्ये ४३१ वटा फर्छ्योट भएका छन् । २२ वटा उजुरी बाँकी छन् । जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीमा आएका ९५ उजुरीमध्ये ९१ वटा फर्छ्योट भएका छन् ।

लागुऔषध र आत्महत्याले अर्को जोखिम देखायो

लागुऔषध नियन्त्रणतर्फ साउनमा सात वटा मुद्दा दर्ता गरी ११ जना पक्राउ परेका छन् । प्रहरीले पोल्याण्ड, ट्रामाडोल, हेरोइन, माल्टाजेपाम र गाँजा बरामद गरेको जनाएको छ । बरामद सामग्रीमा करिब २ किलो ५७० ग्राम पोल्याण्ड, ट्रामाडोलका ५९ क्याप्सुल र ७१० ट्याब्लेट, ०.२४ ग्राम हेरोइन, माल्टाजेपामका ३८२ ट्याब्लेट तथा २४० ग्राम गाँजा छन् ।

अर्कोतर्फ साउनमा आत्महत्याका कारण १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ महिला र छ पुरुष छन् । १३ जनाले झुण्डिएर र एक जनाले विषादी सेवन गरेर आत्महत्या गरेको प्रहरीको विवरण छ ।

आत्महत्या गर्नेमा १९ देखि ३० वर्ष उमेर समूहका सात जना, ३१ देखि ४० वर्षका दुई जना, ४१ देखि ५० वर्षका एक जना, ५१ देखि ६० वर्षका तीन जना र एक जना नाबालक छन् ।

चोरीदेखि पाँच वर्ष पुराना अपराधसम्म अनुसन्धान

साउनमा प्रहरीले चोरी तथा पुराना आपराधिक घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न पनि सक्रियता देखाएको छ । साउन २२ गते हरिसिद्धीमा घर चोरीको सूचना पाएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले एकै दिन पाँच स्थानमा चोरी गरेको आरोपमा गोदावरी नगरपालिका–१४ टौखेलका ३३ वर्षीय सुरज महर्जनलाई पक्राउ गरेको जनाएको छ ।

सीसीटीभी फुटेज तथा अन्य अनुसन्धानका आधारमा उनलाई मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट सुन तथा चाँदीजस्तो देखिने गरगहना, नगद, मोबाइल, झोला, पर्स तथा चोरीमा प्रयोग भएका औजार बरामद गरिएको छ ।

त्यस्तै कर्तव्य ज्यान मुद्दामा करिब पाँच वर्षदेखि फरार रहेका गोदावरी नगरपालिका–८ डुकुछापका प्रदीप थापा मगर, प्रविन थापा मगर र गोपिनी थापा मगर पक्राउ परेका छन् । उनीहरूलाई अदालतमा उपस्थित गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको ठुलो जनशक्ति

साउनमा ललितपुरमा सुरक्षा व्यवस्थापनका लागि ठुलो संख्यामा प्रहरी परिचालन भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको सवारी, विदेशी पाहुनाको आवागमन, राजनीतिक कार्यक्रम, विरोध प्रदर्शन, धर्ना, र्‍याली, मेला–पर्व, जात्रा, परीक्षा तथा जिल्ला प्रशासन कार्यालयका कार्यक्रमलगायत ८० वटा विशेष कार्यक्रममा ५ हजार ८५० प्रहरी परिचालन भएको प्रहरीले जनाएको छ ।

अपराध न्यूनीकरणका लागि प्रहरीले विभिन्न स्थानमा चेकपोस्ट स्थापना, नियमित चेकजाँच, सहरी तथा ग्रामीण गस्ती र स्वीप अपरेसन सञ्चालन गरेको छ ।

प्रहरीको जिम्मेवारी अपराध अनुसन्धान र पक्राउमा मात्र सीमित छैन । विपद्का घटनामा उद्धार, राजस्व तथा भन्सार छली नियन्त्रण, अवैध मदिरा नियन्त्रण र प्राकृतिक स्रोतको दोहन रोक्न पनि प्रहरी परिचालन भएको छ ।

साउनमा प्रहरीले एक हजार ८६० लिटर घरेलु मदिरा बरामद गरेको छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा तीन वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा डोजर र ट्र्याक्टरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

अपराध नियन्त्रणसँगै सचेतनामा जोड

प्रहरीले अपराध भएपछि अनुसन्धान गर्नेभन्दा अपराध हुन नदिन समुदाय र विद्यालय केन्द्रित कार्यक्रमलाई पनि प्राथमिकता दिएको जनाएको छ ।

लैंगिक हिंसा, घरेलु हिंसा, महिला हिंसा, साइबर अपराध, लागुऔषध, चोरी नियन्त्रण तथा आत्महत्या न्यूनीकरणलगायत विषयमा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन भएका छन् । यस्ता कार्यक्रममा २ हजारभन्दा बढी नागरिक सहभागी भएको प्रहरीको विवरणमा उल्लेख छ ।

विद्यालय केन्द्रित ३१ वटा कार्यक्रममा भने १ हजार ६४२ विद्यार्थी सहभागी भएका छन् । ती कार्यक्रममा लागुऔषध, साइबर अपराध, आत्महत्या न्यूनीकरण, आधारभूत सुरक्षा, लैंगिक हिंसा, सडक दुर्घटना तथा चोरी–लुटपाट नियन्त्रणका विषयमा प्रशिक्षण दिइएको छ ।

प्रहरीले नागरिक सहायता सेवालाई पनि विस्तार गरेको जनाएको छ । साउनमा जिल्ला प्रहरी परिसरको नागरिक सहायता कक्षबाट १५ हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रअन्तर्गत ६९ जनालाई निःशुल्क निवेदन लेखन र १०४ जनालाई परामर्श दिइएको छ ।

प्रहरीभित्रै क्षमता अभिवृद्धि

सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिमा पनि जोड दिइएको छ । जिल्ला प्रहरी परिसर ललितपुर र साथी श्रम प्रशिक्षण केन्द्रको सहकार्यमा प्रहरी कर्मचारीलाई व्यवस्थापन, उद्घोषण तथा क्षमता अभिवृद्धिसम्बन्धी १० कार्यदिनको तालिम दिइएको छ । महिला प्रहरी कर्मचारीका लागि आघात–सूचित सेवा प्रवाह र मनोसामाजिक सु–स्वास्थ्यसम्बन्धी तीनदिने तालिमसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार मासिक विवरणले ललितपुरमा अपराध अनुसन्धानसँगै सामाजिक तथा सामुदायिक सुरक्षाका गतिविधिलाई पनि प्रहरीले प्राथमिकतामा राखेको देखाउँछ ।

साउनको तथ्यांकले ललितपुरमा सुरक्षा चुनौती बहुआयामिक बन्दै गएको संकेत गरेको छ । अपराधका मुद्दा, घरेलु हिंसा, लागुऔषध, आत्महत्या, हराएका व्यक्ति र चोरीका घटनासँगै सडक दुर्घटनाबाट हुने मानवीय क्षति पनि उत्तिकै गम्भीर देखिएको छ । यसले अपराध नियन्त्रणसँगै सडक सुरक्षा, सामाजिक सचेतना र समुदायसँगको प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।

सम्बन्धित खबर