
महाराष्ट्र जालमा : इन्डियन जर्नलिस्ट एसोसिएसनको नवौं अन्तर्राष्ट्रिय सम्मान कार्यक्रम भारतको महाराष्ट्रस्थित जालना, मातोश्री लान्सको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालका दुई पत्रकार मध्यान्हकर्मी विशेष अतिथि इसत्याक अहमद र आरोही टेलिभिजनका सञ्चालक तथा सम्पादक मेवालाल कुमार यादवलाई सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि अहमदले अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय भएको बताए । आयोजक संस्थाका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैसी तथा जालना टोलीलाई बधाई ज्ञापन गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीच मात्र सीमित नभई जनस्तर, संस्कृति र इतिहासको गहिरो सेतु भएको उल्लेख गरे । 'फेक न्युज र सनसनीपूर्ण प्रस्तुतिका कारण विवाद सिर्जना हुने वर्तमान डिजिटल युगमा स्वतन्त्र, सन्तुलित र उत्तरदायी पत्रकारिताको खाँचो छ,' अहमदले भने ।

अहमदले पत्रकारितालाई सत्ता वा राजनीतिक शक्तिको साधन नबनाई जनता र सत्यप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । भारतले नेपाललाई एउटा स्वतन्त्र पहिचान र सार्वभौमसत्ता सम्पन्न छिमेकीका रूपमा हेर्नुपर्ने र दुवै देशका मिडियाले तथ्यपरक दृष्टिकोण अपनाउनुपर्ने उनको भनाइ थियो । उनले पत्रकारिताले सीमा होइन सेतु बनाउने, दूरी होइन संवाद स्थापित गर्ने र भ्रम होइन सत्यलाई अगाडि ल्याउने संकल्प लिनुपर्ने आह्वान गरे ।
नेपाली पत्रकारिताका चुनौतीहरूबारे प्रकाश पार्दै पत्रकार यादवले श्रमजीवी पत्रकार ऐनको फितलो कार्यान्वयन, आर्थिक अनिश्चितता, डिजिटल मिडिया रूपान्तरणको संकट र मोफसलका पत्रकारहरूले भोग्नुपरेको सुरक्षा जोखिमबारे चिन्ता व्यक्त गरे । उनले नेपाल र भारतका सीमावर्ती क्षेत्रका पत्रकारहरूको समस्या समान रहेकाले इन्डियन जर्नलिस्ट एसोसिएसन र नेपाली पत्रकार संगठनहरूबीच संयुक्त तालिम, क्षमता अभिवृद्धि र तथ्य–जाँचमा सहकार्य हुनुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा इन्डियन जर्नलिस्ट एसोसिएसनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैसी, वरिष्ठ पत्रकार अशोक मानडवे, आयोजक टोलीका सदस्यहरूका साथै भारत तथा विभिन्न देशका दर्जनौं पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।