
काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशमा रिक्त रहेका नेपाली राजदूतको नियुक्तिका लागि प्राप्त सिफारिस तथा आवेदनमाथि आवश्यक छलफल भइरहेको र प्रक्रिया निष्कर्षमा पुग्ने चरणमा रहेको बताएका छन् ।
सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले राजदूत नियुक्तिसम्बन्धी काम मन्त्रालय स्तरमा अघि बढिरहेको जानकारी दिएका हुन्। प्राप्त नाम तथा आवेदनको अध्ययनपछि निर्धारित प्रक्रियाअनुसार नियुक्ति प्रक्रिया पूरा गरिने उनले बताए ।
मन्त्री खनालले आफ्नो कार्यकालमा नेपालका छिमेकी मुलुक तथा अन्य मित्रराष्ट्रसँगको द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पहल गरिएको दाबी गरेका छन् । लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका केही कूटनीतिक संयन्त्रलाई पुनः सक्रिय बनाएर काम अघि बढाइएको उनको भनाइ छ ।
परराष्ट्र मन्त्री खनालले विदेशमा रोजगारी र अध्ययनका लागि पुगेका नेपाली नागरिकले भोग्दै आएका समस्या समाधानलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको बताए । विदेशस्थित नेपाली नागरिकलाई आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउन मन्त्रालयको उपलब्ध स्रोत, साधन र क्षमताअनुसार निरन्तर काम भइरहेको उनले जानकारी दिए ।
रिक्त कूटनीतिक पदमा नियुक्ति प्रक्रिया अघि बढ्नुका साथै विदेशमा रहेका नेपाली नागरिकको संरक्षण तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणलाई समानान्तर रूपमा अघि बढाइएको मन्त्री खनालको भनाइ छ ।