
रौतहट : रौतहटको दक्षिण–पश्चिम सीमावर्ती क्षेत्र बौधीमाई नगरपालिका–७ स्थित बंकुल बजारमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ ।
भदौ १ गते सोमबार राति भारतबाट भन्सार छली ल्याइएका कपडा तथा अन्य उपभोग्य सामग्री नियन्त्रणमा लिने क्रममा करिब ३०–४० जनाको समूहमा आएका तस्कर तथा स्थानीय बिचौलियाले सुरक्षाकर्मीमाथि कुटपिट गर्दै नियन्त्रणमा लिइएको सामानसमेत खोसेर लगेको जनाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) सरमुजवाका सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र पुलामी मगरको कमान्डमा खटिएको टोलीले बंकुल बजार क्षेत्रबाट अवैध सामान बरामद गरेको थियो। सामान नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाउँदै गर्दा ठूलो संख्यामा आएका तस्कर तथा बिचौलियाको समूहले प्रहरी टोलीलाई घेराबन्दी गरेको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार सामान खोस्ने क्रममा समूहले सुरक्षाकर्मीमाथि लाठी र ढुंगामुढा प्रहार गरेको थियो । आक्रमणका क्रममा केही सुरक्षाकर्मीमाथि कुटपिटसमेत भएको र बरामद गरिएका अवैध सामग्री समूहले खोसेर लगेको दाबी गरिएको छ ।
घटनास्थल आसपास जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजमा समेत समूहले संगठित रूपमा सुरक्षाकर्मीमाथि आक्रमण गरेको दृश्य देखिएको स्थानीय प्रशासनले जनाएको छ । फुटेजका आधारमा सुरक्षाकर्मीमाथि हातपात गर्ने तथा तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान भइरहेको बताइएको छ ।
खुला सीमाको फाइदा उठाउँदै बंकुल, सरमुजवालगायतका क्षेत्रबाट लामो समयदेखि कपडा, खाद्यान्न तथा विद्युतीय सामग्रीको अवैध पैठारी हुँदै आएको स्थानीयको भनाइ छ । सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि नै खुलेआम आक्रमण हुनुले क्षेत्रमा शान्ति सुरक्षा र कानुनी शासनको अवस्थाप्रति प्रश्न उठाएको उनीहरूको भनाइ छ ।
घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले उक्त क्षेत्रमा गस्ती तथा निगरानी बढाएका छन् । जिल्ला सुरक्षा निकायका अनुसार सीसीटीभी फुटेजका आधारमा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउने तथा खोसिएका सामान बरामद गर्ने उद्देश्यले अनुसन्धान अघि बढाइएको छ । सम्भावित स्थानमा छापा मार्ने कार्यसमेत भइरहेको जनाइएको छ ।