२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

भन्सार जाँचपास सहज बनाउन चार मुलुकबीच पूर्व-आगमन सूचना आदानप्रदान

Nada
२०८३ भदौ ४ गते १४:१९
Shares
भन्सार जाँचपास सहज बनाउन चार मुलुकबीच पूर्व-आगमन सूचना आदानप्रदान

काठमाडौँ : नेपालसहित चार मुलुकका भन्सार प्रशासनबीच मालवस्तु गन्तव्य मुलुकमा आइपुग्नुअघि नै त्यससम्बन्धी सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । व्यापार सहजीकरण र जोखिममा आधारित भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सबीच यस्तो समझदारी भएको हो ।

ncell

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत माल्दिभ्समा आयोजित १४औँ सबग्रुप बैठकका क्रममा चारै मुलुकका भन्सार प्रशासकले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार मालवस्तु सम्बन्धित मुलुकको भन्सारमा आइपुग्नुअघि नै त्यसको विवरण आदानप्रदान हुनेछ । प्राप्त सूचनाका आधारमा भन्सार प्रशासनले अग्रिम जोखिम विश्लेषण गर्न सक्ने भएकाले जोखिमयुक्त वा शंकास्पद मालवस्तुको पहिचान, निगरानी र नियन्त्रणमा सहजता आउने विभागले जनाएको छ ।

पूर्व–आगमन सूचनाको प्रयोगले नियमित कारोबार गर्ने व्यवसायीका मालवस्तुको जाँचपाससमेत छिटो गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट व्यापारिक प्रक्रियामा लाग्ने समय र लागत घट्नुका साथै वैदेशिक व्यापार थप पारदर्शी र पूर्वानुमानयोग्य हुने विभागको भनाइ छ ।

नेपालले यसअघि भारतसँग पनि पूर्व–आगमन सूचना आदानप्रदानसम्बन्धी समझदारी गरिसकेको छ । गत माघको पहिलो साता नयाँदिल्लीमा नेपाल भन्सार विभाग र भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डबीच उक्त समझदारीमा हस्ताक्षर भएको थियो ।

अन्तर्राष्ट्रिय अभ्यासमा प्रमुख व्यापारिक साझेदार मुलुकबीच मालवस्तु गन्तव्यमा प्रवेश गर्नुअघि नै निकासीसम्बन्धी तथ्यांक आदानप्रदान गरी जोखिममा आधारित भन्सार व्यवस्थापन गर्ने गरिन्छ । चार मुलुकबीच भएको पछिल्लो समझदारीले क्षेत्रीय व्यापार सहजीकरण तथा भन्सार प्रशासनबीचको समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर