२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

इस्मामा शिक्षक दरबन्दी मिलान : विद्यार्थी संख्या र नतिजालाई बनाइयो मुख्य आधार

Nada
सुमन महतरा
२०८३ भदौ ४ गते १७:३१
Shares
इस्मामा शिक्षक दरबन्दी मिलान : विद्यार्थी संख्या र नतिजालाई बनाइयो मुख्य आधार

गुल्मी : इस्मा गाउँपालिकाले गाउँपालिकाभित्रको शैक्षिक गुणस्तर सुधार, विद्यालयको आवश्यकता र विद्यार्थीको सिकाइ उपलब्धिलाई केन्द्रमा राखेर शिक्षक दरबन्दी मिलान तथा अन्तरविद्यालय सरुवा गरेको जनाएको छ ।

ncell

गाउँपालिकाले विद्यार्थी संख्या, विद्यालयको आवश्यकता र विगतको शैक्षिक नतिजालाई मुख्य आधार बनाएर दरबन्दी व्यवस्थापन गरिएको स्पष्ट पारेको हो ।

गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले दरबन्दी मिलानलाई विद्यालयको वास्तविक आवश्यकता र विद्यार्थीको हितसँग जोडेर अघि बढाइएको बताएका छन् । विद्यार्थी कम भएका विद्यालयमा आवश्यकताभन्दा बढी शिक्षक रहने र शिक्षक अभाव भएका विद्यालयमा पठनपाठन प्रभावित हुने अवस्था अन्त्य गर्न दरबन्दीको पुनःव्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।

गाउँपालिकाका अनुसार नयाँ शैक्षिक सत्रको भर्ना अभियानपछि गाउँपालिकाभित्रका विद्यालयको प्रत्यक्ष अनुगमन गरिएको थियो । अनुगमनका क्रममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा रहेको विद्यार्थी संख्यालगायतका तथ्याङ्कलाई आधार बनाइएको थियो ।

दरबन्दी मिलानको प्रक्रिया पछिल्लो निर्णयबाट मात्र सुरु नभएको गाउँपालिकाले जनाएको छ । २०८२ माघ १२ गते सम्पूर्ण विद्यालयका प्रधानाध्यापकसँग बैठक गरी मौजुदा दरबन्दी, विद्यार्थी संख्या तथा विद्यालयगत आवश्यकताबारे छलफल गरिएको थियो । छलफलपछि विद्यालयगत तथा तहगत न्यूनतम शिक्षक तथा कर्मचारीको आवश्यकता निर्धारण गरी दरबन्दी मिलानको प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

त्यसपछि २०८२ चैत २७ गते र २०८३ साउन २२ गते बसेको शिक्षा समितिको बैठकमा दरबन्दी व्यवस्थापनका विषयमा थप छलफल गरिएको थियो । शिक्षा समितिको छलफल तथा सिफारिसका आधारमा २०८३ साउन २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले दरबन्दी मिलान गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

निर्णयअनुसार विद्यार्थी संख्या न्यून रहेका र दरबन्दी बढी भएका विद्यालयबाट शिक्षक कटौती गरी दरबन्दी अपुग भएका विद्यालयमा व्यवस्थापन गरिएको छ । यस क्रममा प्राथमिक तहका सात शिक्षक दरबन्दी, दुई जना बालविकास सहयोगी कार्यकर्ता र दुई जना कार्यालय सहयोगीलाई आवश्यकताअनुसार समायोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले शिक्षक तथा कर्मचारीलाई सकेसम्म घरपायक र अनुकूल हुने गरी सरुवा तथा खटाउने व्यवस्था मिलाइएको जनाएको छ । धेरै टाढा खटाउँदा पठनपाठन तथा सेवा प्रवाहमा असर पर्न सक्ने भएकाले उक्त पक्षलाई समेत निर्णयका क्रममा ध्यान दिइएको प्रवक्ता पार्वती कुँवरले बताएकी छन् ।

यसैगरी, गाउँपालिकाले विगत तीन वर्षको कक्षा १० को एसईई नतिजा तथा गाउँपालिकाले सञ्चालन गर्ने कक्षा ८ को परीक्षाको विद्यालयगत नतिजाको समीक्षा गरेको जनाएको छ । विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकबाट प्राप्त गुनासो र विद्यालयको समग्र कार्यसम्पादनको समेत विश्लेषण गरिएको गाउँपालिकाको भनाइ छ ।

समीक्षाका क्रममा केही शिक्षकको कार्यसम्पादन तथा प्रशासनिक सहयोग सन्तोषजनक नरहेको पाइएको र केही शिक्षकको अतिरिक्त क्षमता, योग्यता तथा अनुभवलाई अन्य विद्यालयको आवश्यकताअनुसार उपयोग गर्न सकिने देखिएपछि समेत हेरफेर गरिएको गाउँपालिकाले जनाएको छ ।

दरबन्दी मिलानमा राजनीतिक प्रभाव वा पहुँचलाई आधार बनाइएको भन्ने विषयमा गाउँपालिकाले भने कुनै राजनीतिक दल वा नेताको निकटताका आधारमा निर्णय नगरिएको स्पष्ट पारेको छ । शिक्षाजस्तो संवेदनशील क्षेत्रमा दलीय राजनीतिभन्दा माथि उठेर शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने गाउँपालिकाको धारणा छ ।

गाउँपालिकाका अनुसार दरबन्दी मिलानका विषयमा विभिन्न राजनीतिक दल तथा सरोकारवालाबाट समय–समयमा गाउँपालिकामा डेलिगेसन आएको थियो । सार्वजनिक सुनुवाइमार्फत समेत विद्यालयको आवश्यकताअनुसार शिक्षक व्यवस्थापन गर्नुपर्ने माग उठेको गाउँपालिकाले जनाएको छ ।

सोही क्रममा गाउँ शिक्षा समितिमा घनिभूत छलफल गरी गाउँ कार्यपालिकाबाट सर्वसम्मत निर्णय गराएर दरबन्दी मिलान कार्यान्वयनमा लगिएको प्रवक्ता कुँवरले जानकारी दिएकी छन् ।

अध्यक्ष खड्काले दरबन्दी मिलान कुनै व्यक्ति वा समूहलाई लक्षित गरेर नभई विद्यार्थीको हित, विद्यालयको आवश्यकता र शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राखेर गरिएको बताएका छन् । उनका अनुसार उपलब्ध शिक्षक जनशक्तिलाई आवश्यकता भएका विद्यालयमा व्यवस्थापन गर्दा विद्यार्थीको सिकाइ उपलब्धि र पठनपाठनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले शिक्षक दरबन्दी मिलानलाई इस्माको सार्वजनिक शिक्षालाई थप व्यवस्थित, नतिजामुखी र गुणस्तरीय बनाउने अभियानका रूपमा व्याख्या गरेको छ । निर्णय कार्यान्वयनमा सहयोग गर्ने शिक्षक, अभिभावक, राजनीतिक दल, शिक्षाप्रेमी तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिँदै आगामी दिनमा पनि शैक्षिक सुधारका कार्यमा सहयोगको अपेक्षा गरेको गाउँपालिकाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर