अन्ततः पाँच वर्ष अगाडि दिइएको जनादेश आज नवीकरण हुँदैछ । २०७४ मंसिर १० र २१ गतेगरी दुई चरणमा आमनिर्वाचन सम्पन्न भएको थियो । एकसाथ सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले बितेको पाँच वर्ष मुलुकको राजनीति चल्यो । आजको मतदानपछि मुलुकको राजनीतिक कोर्सले नयाँ आधार पाउनेछ । आज प्रकट हुने मतकै आधारमा नयाँ सरकार बन्नेछ । संसदीय भूमिका तय हुनेछ । २०७४ को निर्वाचनबाट वाम गठबन्धन अनुमोदित भएको थियो । संघीय संसदमा झण्डै दुई तिहाइ र सात मध्ये ६ प्रदेशमा अत्याधिक बहुमत पाएको थियो । मधेश प्रदेशमा मधेश केन्द्रीत दलहरुले जनादेश पाउँदा नेपाली कांग्रेस र वाम गठबन्धन विपक्षी भूमिकामा थियो । सिंगो राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी भूूमिकामा बस्ने जनादेश पाएको थियो ।
आज हुने मतदानले आगामी पाँच वर्ष कसरी चल्नेछ भन्ने तय हुनेछ । त्यसका लागि दुई ठूला गठबन्धन बनेको छ । एउटा गठबन्धनको नेतृत्व कांग्रेसले गरेको छ भने अर्को गठबन्धनको नेतृत्व नेकपा एमालेले गरेको छ । कांग्रेस गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा छ । एमाले गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, नेपाल परिवार दल लगायत छन् । यसबाहेक साना दलहरु पनि चुनावी प्रतिस्पर्धामा छन् । कतिपय नयाँ राजनीतिक दल र थुप्रै स्वतन्त्र उम्मेदवारी परेको छ । प्रतिनिधिसभातर्फ २,४१२ र प्रदेशसभातर्फ ३२२४ जनाले उम्मेद्वारी दिएका छन् । तिनै मध्येबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र प्रदेशसभातर्फ ३३० जना निर्वाचित हुनेछन् ।
दलगत भन्दा धेरै स्वतन्त्र उम्मेद्वारी यसपटक देखिएका छन् । यिनै उम्मेद्वारहरुबाट अनुमादित हुने प्रतिनिधिहरुको समीकरणकै आधारमा आगामी राजनीतिक मार्ग कोरिनेछ । कुन उम्मेद्वारले जित्नेछन् र कस्तो राजनीतिक समीकरण बन्नेछ भन्ने निर्धारण आजको मतदानले गर्नेछ । मतदाता पनि मतदानका लागि तयार भइसकेका छन् । अतः सामुन्ने दुई वटा आम कार्यभार छन् । पहिलो, मतदानका लागि मतदातालाई सहज बातावरणको निर्माण गर्ने र दोस्रो, जनादेशको सम्मान गर्ने । किनकि यसअघि मतदानकै दिन पनि निर्वाचन आचारसंहिताअनुसार काम हुन नसकेको र मतदानपछि जनादेश बिपरीत राजनीतिक नेतृत्व चलेको आलोचना हुने गरेको छ । जसलाई अन्त्य गर्नु मुलुककै हितमा हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies