
दोहा, कतार : नेपालमा हालै आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारले श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । परदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रवासी नेपालीहरूले दिवंगतप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका छन् ।
कतारको सनैयास्थित सिलौटा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपालको नक्सा आकारमा सजाइएका साना दीपमा उपस्थित सबैले एक–एक वटा दीप प्रज्वलन गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा ज्ञात–अज्ञात शहीद तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव चानक पोखरेलले विपत्तिको समयमा राजनीतिक पहिचानभन्दा माथि उठेर ‘नेपाली भएर’ उद्धार तथा सहयोगमा जुट्न आग्रह गरे । जो–जसले जहाँबाट सकिन्छ, त्यहीँबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले संसारभर रहेका नेपालीहरूले अहिले मातृभूमिको घाउमा मलम लगाउनुपर्ने अवस्था आएको बताए ।
उद्धारपछि साना बालबालिका, अपांगता भएका व्यक्ति तथा परिवार गुमाएका नागरिकको पुनर्स्थापनामा समेत ध्यान दिनुपर्ने उल्लेख गर्दै पोखरेलले अन्तर्राष्ट्रिय कमिटीका तर्फबाट २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको जानकारी दिए ।
कार्यक्रमका सभाध्यक्ष तथा मञ्चका अध्यक्ष अफसर अलि खानले विपत्तिमा परिवार तथा आफन्त गुमाएका नेपालीहरूसँग प्रवासमा रहेका नेपाली पनि दुःखमा सँगै उभिएको बताए ।उपचाररतहरूको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ताहरूको सकुशल खोजीको कामना गर्दै उनले राहत तथा उद्धारमा सरकारले थप सक्रियता देखाउनुपर्ने धारणा राखे ।

जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको विपत्तिको क्षतिपूर्तिमा विकसित राष्ट्रहरूले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । आफूहरू सरकारमा रहे पनि नरहे पनि जनताको दुःखमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै खानले विपत्तिको यस घडीमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मञ्चका संस्थापकसहित अग्रज व्यक्तित्व तथा पदाधिकारीहरूको उपस्थिति थियो । दीप प्रज्वलनलाई दिवंगतप्रति श्रद्धाको प्रतीकसँगै विपत्तिमा परेका परिवारका लागि आशा, सहारा र मानवीय संवेदनाको प्रकाशका रूपमा लिइएको थियो । कार्यक्रमको सहजीकरण मञ्चका सचिव रघुनाथ शर्माले गरेका थिए ।
