२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

बाढीपीडितको उद्धारदेखि रोजगारीसम्म : भिक्टोरिया ज्वेलर्सको १० लाख सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ १९ गते १७:१९
Shares
बाढीपीडितको उद्धारदेखि रोजगारीसम्म : भिक्टोरिया ज्वेलर्सको १० लाख सहयोग

दोहा, कतार : नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एनआरएनए एनसिसी कतारले अघि बढाएको अभियानमा ऐक्यबद्धता जनाउँदै भिक्टोरिया ज्वेलर्स एन्ड डायमन्डले १० लाख रुपैयाँ सहयोग गरेको छ । सहयोगसँगै संस्थाले बाढीबाट प्रभावित परिवारका १० जना युवा–युवतीलाई रोजगारी दिने घोषणा गरेपछि भिक्टोरियाको सहयोग राहतमा मात्र सीमित नरही रोजगारी र पुनर्स्थापनासम्म जोडिएको छ ।

ncell

बिहीबार साँझ आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा भिक्टोरिया ज्वेलर्सका तर्फबाट उक्त रकम घोषणा तथा हस्तान्तरण गरिएको हो । रकम एनआरएनए आइसिसीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी विपद् प्रभावितका लागि उपयोग गरिने बताइएको छ ।

भिक्टोरिया ज्वेलर्सका तर्फबाट बोल्दै ब्रान्ड प्रवर्धन संयोजक तथा एनसिसी कतारका उपाध्यक्ष रोशन अर्यालले विपत्तिको यस घडीमा एनआरएनए एनसिसी कतारले अघि बढाएको राहत अभियानमा भिक्टोरिया ज्वेलर्सले पनि आफ्नो तर्फबाट सहयोग गरेको बताए । नेपाली समुदाय दुःखमा पर्दा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै उनले सहयोग वास्तविक पीडितसम्म पुग्ने विश्वास व्यक्त गरे ।

अर्यालले आगामी दिनमा एनआरएनए आइसिसीको पुनर्स्थापना अभियानमा समेत भिक्टोरिया ज्वेलर्स सहभागी हुने जानकारी दिए । पीडित परिवारका लागि घर निर्माण तथा विकट क्षेत्रका विद्यालयलाई सहयोग गर्ने योजना रहेको उल्लेख गर्दै उनले नेपाली समुदायलाई पनि भिक्टोरिया ज्वेलर्सलाई साथ र प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले भिक्टोरिया ज्वेलर्सका सञ्चालक मोहम्मद फैजल भिक्टोरियाले प्रदान गरेको १० लाख रुपैयाँ शिक्षा, एकल महिला, खाद्यान्न, चिकित्सकीय टोली तथा औषधिलगायतका क्षेत्रमा उपयोग गरिने बताए । विपद्को कठिन घडीमा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै पन्थीले नेपाली समुदायले यस मानवीय सहयोगलाई कहिल्यै नबिर्सने बताए ।

नेपाल अहिले विपद्को अवस्थामा रहेकाले सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिँदै पन्थीले भने, 'रकम ठुलो वा सानो होइन, मन ठुलो हुनुपर्छ। एक रियालदेखि एक हजार र एक मिलियन रुपैयाँसम्म, जसले जति सकिन्छ सहयोग गरौं र नेपाललाई विपद्‍बाट उठाउन हातेमालो गरौं ।'

कार्यक्रममा भिक्टोरिया ज्वेलर्सका सञ्चालक मोहम्मद फैजल भिक्टोरियाले बाढी–पहिरोबाट प्रभावित परिवारका १० जना युवा–युवतीलाई रोजगारी दिने घोषणा गरे । नेपालमा काठमाडौं शाखा विस्तारको तयारी भइरहेको जानकारी दिँदै उनले पीडित परिवारको चाहना र आवश्यकता अनुसार नेपालसँगै दुबई र कतारमा समेत प्रभावित परिवारका युवालाई रोजगारीको अवसर प्रदान गर्ने बताए ।

आर्थिक सहयोगसँगै रोजगारी सिर्जना गर्ने फैजलको घोषणालाई कार्यक्रममा सहभागी वक्ताहरूले पीडित परिवारका लागि दीर्घकालीन राहतको महत्वपूर्ण प्रयासका रूपमा प्रशंसा गरे । उनीहरूले विपद्का बेला आर्थिक सहयोगसँगै रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धताले प्रभावित परिवारमा नयाँ आशा र आत्मविश्वास जगाउने बताए ।

सन् २०१२ देखि सुनचाँदी तथा हिराका गहनाको व्यवसायमा सक्रिय भिक्टोरिया ज्वेलर्स एन्ड डायमन्डले हाल २०० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । नेपाली समुदायसँगको लामो व्यावसायिक तथा सामाजिक सम्बन्धलाई निरन्तरता दिँदै विपद्को समयमा समेत सहयोग र सहकार्यलाई प्राथमिकता दिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा वक्ताहरूले नेपाली समुदायलाई दुःख र विपत्तिको समयमा साथ दिँदै आएको भिक्टोरिया ज्वेलर्सप्रति आभार व्यक्त गर्दै आवश्यक गहना तथा सामग्री खरिद गर्दा संस्थालाई प्राथमिकता दिएर सहयोगको भावनालाई निरन्तरता दिनुपर्ने धारणा राखे । उनीहरूले व्यवसाय र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने यस्ता प्रयासले नेपाली समुदाय र प्रवासी समाजबिचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

uae

सम्बन्धित खबर