२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

नाता–सम्बन्धको वास्तविक मर्म

Nada
अर्जुन सापकोटा
२०८३ भदौ २० गते ०६:००
Shares
नाता–सम्बन्धको वास्तविक मर्म

नाता वा सम्बन्ध भन्नाले दुई वा सोभन्दा बढी व्यक्तिबीच भावनात्मक, जैविक वा कानुनी रूपमा जोडिने साइनो वा आबद्धतालाई बुझिन्छ । यसले दया, माया, विश्वास, साथ–सहयोग र उत्तरदायित्वमार्फत मानिसलाई एकताबद्ध बनाउने काम गर्छ । मानव जीवन र समाजलाई व्यवस्थित, सुरक्षित, मर्यादित र अर्थपूर्ण बनाउन नाता–सम्बन्धको महत्त्वपूर्ण भूमिका हुन्छ । यसले व्यक्ति, परिवार र सम्पूर्ण समाजको भौतिक तथा मनोवैज्ञानिक आवश्यकता पूरा गर्न ठुलो मद्दत पुर्‍याउँछ ।

ncell

संसारमा मानिसलाई मानसिक रूपमा स्वस्थ र सुरक्षित राख्न भावनात्मक सहारा चाहिन्छ । अप्ठ्यारो पर्दा आर्थिक, भौतिक वा श्रमदानमार्फत एक–अर्कालाई सहयोग गर्ने आधार पनि सम्बन्ध नै हो । यसका साथै समाजमा मेलमिलाप, अनुशासन र सामूहिक एकता कायम राख्न, बालबालिका तथा वृद्धवृद्धाको संरक्षण गर्न अनि रीतिरिवाज र नैतिक मूल्य–मान्यता एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न नाता–सम्बन्ध अपरिहार्य मानिन्छ ।

व्यावहारिक र आध्यात्मिक दृष्टिले मानव जीवनमा देखिने नाता–सम्बन्धलाई मुख्यतया तीन भागमा विभाजन गरेर हेर्न सकिन्छ । 

जन्मजात नाता (रगतको सम्बन्ध) 

जन्मसँगै स्वतः स्थापित हुने वंशाणुगत सम्बन्ध जन्मजात नाता हो, जस्तै बुबा, आमा, छोरा, छोरी, दाजु, भाइ, दिदी र बहिनी । यो सम्बन्ध मानिसले आफ्नो इच्छाले चाहेर पनि बदल्न वा फेर्न सक्दैन । जन्मिसकेपछि अभिभावक वा सहोदर दाजुभाइ–दिदीबहिनी परिवर्तन हुन सम्भव छैन । भौतिक शरीर रहेसम्म मात्र यसको आयु रहन्छ र मृत्युपश्चात् शरीर समाप्त भएसँगै यो सम्बन्ध पनि सदाका लागि अन्त्य भएर जान्छ ।

सम्पादित नाता 

यस धर्तीमा जन्म लिइसकेपछि निर्मित हुने वा जोडिने सम्बन्धहरू सम्पादित नाता हुन् । विवाहको माध्यमबाट जोडिने पति, पत्नी, सासू, ससुरा, जेठाजु, देवर, नन्द, बुहारी, साला, सालीजस्ता पारिवारिक साइनो यसभित्र पर्छन् । त्यसैगरी सामाजिक रूपमा गाँसिने मित्रता, मित–मितेरी, धर्मपुत्र–धर्मपुत्री तथा गुरु–चेलाको सम्बन्ध पनि सम्पादित नातै हुन् । यस्ता नाता समाप्त हुन मृत्यु नै पर्खिनुपर्दैन । दुव्र्यवहार, मनमुटाव, विचार र चरित्रको अमेल वा लामो समयको दूरीका कारण जीवन छँदै पनि यस्ता सम्बन्ध बीचैमा टुट्न वा समाप्त हुन सक्छन् ।

नित्य नाता

नित्य नाता भनेको कहिल्यै नाश नहुने, सर्वदा अटल र शाश्वत सम्बन्ध हो । यो समय, परिस्थिति र भौतिक शरीरको सीमाभन्दा धेरै माथि हुन्छ । परमात्मा र जीवात्माबीचको सम्बन्ध नै नित्य नाता हो । शरीरको अस्तित्व आत्माबिना रहन सक्दैन भने आत्माको नित्य आधार परमात्मा हुन् । हामी शरीर नभई आत्मा भएकाले हाम्रा नित्य नाता केवल परमात्मा हुन् ।

तसर्थ जन्मजात र सम्पादित नाता–सम्बन्धको स्वरूप क्षणिक मानिन्छ । भौतिक शरीरसँग जोडिएका यी सम्बन्ध संसारमा जीवले सहज ढंगले व्यावहारिक जीवन चलाउन प्रारब्धअनुसार केही समयका लागि प्राप्त भएका हुन् । यस्ता क्षणिक सम्बन्धलाई नै वास्तविक र स्थायी मान्नु ठुलो भ्रम हो ।

हामीलाई यो दुर्लभ मानव देह प्राप्त हुनुको मुख्य उद्देश्य अनन्त जन्मदेखि बिग्रिएका कुराहरू सुधार्नु हो । शास्त्रहरूका अनुसार ८४ लाख जुनीमा भट्किरहेको जीवलाई मानव शरीर प्रदान गर्नु ईश्वरको पहिलो ठुलो कृपा हो भने ईश्वरप्राप्तिका मार्ग देखाउने वास्तविक महापुरुष वा सद्गुरुसँग मिलन गराउनु अन्तिम कृपा हो । ईश्वरसँग जीवको प्रत्यक्ष सम्पर्कको सुविधा नभएकाले महापुरुषको आज्ञा र मार्गदर्शनमार्फत मात्र मानिस परमात्माको नजिक पुग्न सक्छ ।

मानव जीवनमा हामीले एउटा आधारभूत कुरा बुझ्न नितान्त आवश्यक छ– संसारी नाता–सम्बन्ध जोगाउन ‘कुशल व्यवहार’ चाहिन्छ भने नित्य नाता अर्थात् ईश्वर प्राप्तिका लागि ‘मनको लगाव’ चाहिन्छ ।

तर, प्रायः मानिसहरू यसको ठीक उल्टो गरिरहेका हुन्छन् । हामी मनद्वारा संसारमा मोह, माया, राग र द्वेष गर्छौं, तर पूजा, पाठ, व्रत र तीर्थजस्ता शारीरिक व्यवहार मात्र ईश्वरका लागि गर्ने गर्छौं । वास्तवमा संसारलाई मनको आसक्ति चाहिएकै छैन । संसारमा त केवल इमानदारी, सम्मान, दया, करुणा, खुला संवाद, पारदर्शिता र सहयोगजस्ता कुशल व्यवहार भए सजिलै काम चल्छ । मनलाई संसारमा अति आसक्त बनाएकै कारण मानिसले यसै जीवनमा अनेक प्रकारका दुःख र कष्टहरू भोग्नुपरेको हो । 

संसारका जन्मजात र सम्पादित नाताहरूलाई जोगाउन उनीहरूप्रति आफ्नो कर्तव्य पूरा गर्दै तटस्थ र सकारात्मक व्यवहार गरे पुग्छ । अरूप्रति दुर्भावना नराखी, कसैको निन्दा नगरी र आफ्नो मनलाई नमैल्याई संसारमा दायित्व निर्वाह गर्नुपर्छ । संसारमा कसैप्रति धेरै राग वा द्वेष गर्नुको परिणाम एउटै हुन्छ– पुनर्जन्म र मृत्युको चक्रमा अलमलिनु । त्यसैले संसारमा तटस्थ व्यवहार गरेर अनासक्त रहन सिक्नुपर्छ ।

अर्कोतर्फ, नित्य नाता अर्थात् परमात्मालाई प्राप्त गर्न मनैदेखि अहंकाररहित भएर साँचो प्रेम र समर्पण अर्पण गर्नुपर्छ । जब मानिसको मन ईश्वरका नाम, रूप, गुण, लीला र धाममा रमाउन थाल्छ, तब संसारको अनित्य आसक्ति स्वतः छुट्दै जान्छ र मन शुद्ध हुँदै जान्छ ।

निष्कर्षमा भन्नुपर्दा, संसारी नाता–सम्बन्धलाई अधिकार वा अहंकारले होइन, निःस्वार्थ कुशल व्यवहारले सिञ्चित गर्नुपर्छ । अरूबाट सम्मानको आशा नराखी सबैलाई सम्मान दिने गुणको विकास गर्दा पराई पनि आफ्ना हुन्छन् । आफ्ना लौकिक सम्बन्धप्रति दायित्व निर्वाह गर्दै मनलाई परमात्मातर्फ मोड्नु नै मानव चोलाको वास्तविक सफलता हो । एक नाताले अर्को नातालाई आफ्ना नित्य नाता ‘परमात्मा’सँग जोड्ने अभ्यास गरियो भने मात्र हामी सबैको कल्याण हुन्छ ।

(सापकोटा जब्सपट इन्टरनेसनल प्रा.लि.का सञ्चालक हुन् ।)

uae

सम्बन्धित खबर