
२६ अगस्टको बिहान नेपाल–तिब्बत सीमावर्ती पहाडमा हिमपहिरो र बाढीले विनाश मच्चाइरहेका बेला हजारौं माइल टाढाका सहरहरूबाट नेपालतर्फ चिन्ताका सन्देश आइरहेका थिए । लाओसको भियन्टिनदेखि सर्बियाको बेलग्रेड, अमेरिकाको लसभेगास र न्युयोर्कदेखि जापानको ओसाकासम्मका शुभेच्छुकहरू एउटै प्रश्न सोधिरहेका थिए, ‘तिमी र तिम्रो परिवार सुरक्षित छ नि ?’ भूगोल फरक थियो, भाषा फरक थियो, तर त्यो दिन संसारभरको चिन्ता एउटै थियो, नेपाल ।
पश्चिम भोटेकोशीले रसुवामा भीषण बाढीको कहर सुरु हुँदा मेरो मोबाइलमा एउटा म्यासेज आयो, ‘मैले भीषण बाढीको समाचार हेरें । तिमी र तिम्रा पारिवारिक सदस्य सबै सन्चै छौ ?’ लाओसको राजधानी भियन्टिनबाट थाउनी सेनेयाकोनले म्यासेज पठाएकी रहिछन् । उनी भियन्टिन इन्टरनेसनल म्याराथनकी इभेन्ट अपरेसन म्यानेजर हुन् । उनीसँग केहीबेर ह्वाट्सएपमा म्यासेज आदानप्रदान भयो । लगत्तै युरोपको देश सर्बियाबाट बेलग्रेड म्याराथनका संस्थापक डेजनले पनि चिन्ताकै शैलीमा म्यासेज गरे ।
भीषण बाढीपहिरोले २६ अगस्टको बिहानैदेखि विध्वंस मच्चाउन सुरु गरिसकेको थियो । बेलुकीतिर विदेशी साथीहरूका म्यासेज लगातार आउन थाले । रसुवामा बाढीपहिरोले विनाश मच्चाउँदा कैयौं घर बगिरहेका थिए, परिवार उजाडिएका थिए, आफ्ना प्रियजन गुमाएकाहरूको आँसु बगिरहेको थियो ।
नेपालभित्र मात्र नभई पीडा र चित्कारको खबर एकैपटक संसारभर फैलिइरहेको थियो । विभिन्न देशका साथीहरूबाट मेरो मोबाइलमा लगातार म्यासेज आउन थाले । ल्यापटप लिएर काम गर्न सुरु गरेको थिएँ, विदेशी साथीहरूका म्यासेज पनि निरन्तर आइरहेको देखें । म साथीहरूलाई निरन्तर जवाफ फर्काइरहेको थिएँ ।
बाङ्सेन म्याराथन, थाइल्यान्डका रेस डाइरेक्टर रुटसँग प्राकृतिक विपत्तिले नेपालमा निम्त्याएको दुःखबारे कुराकानी हुँदै थियो । उनले वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)का प्रेसिडेन्ट पाको बोराओ र महासचिव रेनालाई एकपटक यससम्बन्धमा विस्तृत जानकारी गराउन सुझाए । आफूले नेपालका लागि सक्दो सहयोग जुटाउने आश्वासन पनि दिए । उनले फेरि सोधे, ‘नेपालको अन्य ठाउँको अवस्था कस्तो छ ? तिमी र तिम्रो परिवार सुरक्षित छौ नि ?’
सामान्य समयमा भएको भए यस्तो प्रश्न सामान्य शिष्टाचारजस्तो लाग्थ्यो । तर, विपत्तिको समयमा विदेशबाट देखाइएका चासो ठुलो आत्मीयता लाग्दो रहेछ । मलाई यस्तै महसुस भयो ।
२७ अगस्ट बिहानै एम्स प्रेसिडेन्ट पाको बोराओको सन्देश आयो । उनले मेरो हालचाल मात्र सोधेनन्, नेपालमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । अझ महत्त्वपूर्ण कुरा, उनले एम्स परिवारका सदस्यहरूलाई नेपालका बाढीपहिरो पीडितका लागि अन्तर्राष्ट्रिय रेडक्रसमार्फत यथाशक्य सहयोग गर्न आग्रह गर्दै वक्तव्यसमेत जारी गरे ।
मलाई लाग्यो, म्याराथनले बनाएको सम्बन्धको वास्तविक अर्थ सायद यही हो । हरेकपटक म्याराथन फिनिसिङ लाइनमा अन्त्य हुन्छ । सम्बन्ध भने कहिल्यै अन्त्य हुँदैन । झन् प्रगाढ बन्दै जाँदो रहेछ ।
अमेरिकाको लसभेगासबाट एम्सका कोषाध्यक्ष अल बोकाले नेपालमा भइरहेको भयावह विपत्ति देखेर आफू अत्यन्तै दुःखी र मर्माहत भएको टेक्स्ट गरे । नेपाल र नेपाली जनतासँग आफ्नो मन, विचार र प्रार्थना रहेको बताउँदै उनले पछिल्लो अवस्थाबारे चासो राखे । उनले नेपालमा दौड संस्कृतिको विकास तथा प्रवर्धन गर्ने अभियानलाई निरन्तर अघि बढाइरहन पनि आग्रह गरे ।
इस्टोनियाबाट एम्सका महासचिव रेना निल्सले नेपालले व्यहोर्नुपरेको विनाशकारी विपत्तिबाट आफू अत्यन्त दुःखी भएको बताइन् । यस विपत्तिबाट प्रभावित सम्पूर्ण नेपालीप्रति गहिरो सहानुभूति रहेको उनको भनाइ थियो । एम्सले आफ्ना विभिन्न सञ्चारमाध्यममार्फत यस अवस्थाबारे जानकारी गराइसकेको थियो । नेपालमा जारी आपत्कालीन राहत र उद्धार प्रयासमा सहयोग पु¥याउन आफ्ना सदस्य तथा विश्वभरको दौड समुदायलाई सहयोग तथा आर्थिक योगदान गर्न आग्रह गरिएको थियो । ‘यस अत्यन्तै कठिन समयमा हामी नेपालका जनता र सम्पूर्ण नेपाली दौड समुदायको साथमा छौं,’ रेनाले भनिन् ।
अमेरिकाको सिकागोबाट बैंक अफ अमेरिका सिकागो म्याराथनका प्रमुख सञ्चालन अधिकृत माइक निसीले बाढीका कारण उत्पन्न भयावह अवस्थाबारे आइरहेका दुःखद समाचारले आफैंलाई बेचैन भइरहेको बताए । अस्ट्रेलियाको सिड्नी पुगेका मास पार्टिसिपेसन वल्र्ड (सिंगापुर)का संस्थापक एवं सिइओ क्रिस रोबले यो दुःखद र त्रासदीपूर्ण समयमा नेपालप्रति माया दर्शाए । बेलुकीतिर न्युयोर्कबाट वन ग्लोबल माइलका संस्थापक जोन बोकाको सन्देश आयो । नेपालका लागि अन्तर्राष्ट्रिय रेडक्रसले स्थापना गरेको सहयोग रकम संकलन गर्ने माध्यम फेला पारेको र साथीहरूलाई सेयर गरिरहेको बताए । वन ग्लोबल माइलको सामाजिक सञ्जालमार्फत पनि आह्वान गर्ने उनले बताइरहेका थिए ।
ओसाका म्याराथन, जापानका कार्यकारी निर्देशक अकिराले पनि नेपालमा अचानक आएको विपत्तिबाट प्रभावित सम्पूर्ण मानिसका बारेमा सुन्दा अत्यन्त दुःखी भएको सन्देश पठाए । माल्दिभ्स हाफ म्याराथनका रेस डाइरेक्टर सुजाउले पनि सम्झिएर म्यासेज पठाए । कम्बोडियामा रनिङ संस्कृतिको विकासमा ठुलो योगदान दिँदै आएका सेम फल्लाले नेपालका लागि आर्थिक सहयोग जुटाउन लागेको उल्लेख गरे । संखला म्याराथनका प्लेन्सिङ्चाइले नेपालको पीडामा ऐक्यबद्धता जनाए । भियतनामबाट हनोइ इन्टरनेसनल म्याराथनकी ट्रानले पनि म्यासेज गरिन् । म्यासेज आउने क्रम अझै रोकिएको छैन । थाइल्यान्ड, स्पेन, अमेरिका, इस्टोनिया, सर्विया, अस्ट्रेलिया, जापान, माल्दिभ्स, कम्बोडिया, भियतनामलगायत संसारका अन्य धेरै देशबाट म्यासेज आइरहेका छन् ।
देश फरक । सहर फरक । भाषा फरक । संस्कृति फरक । यतिबेला चिन्ता भने एउटै छ–नेपालका लागि प्रार्थना ।
मैले सबैलाई एउटै जवाफ दिइरहेको छु– म र मेरो परिवार सुरक्षित छौं । हामी नेपालको दक्षिण–पश्चिम क्षेत्रमा बस्छौं । बाढीपहिरो आएको उत्तरी भेगमा हो । त्यसको असर तल्लो भेगका केही ठाउँमा पनि परेको छ । तर, नेपालको ठुलो भूभाग र नागरिक सुरक्षित छन् । जलवायु परिवर्तनको असर मेरो देशलाई भारी परिरहेको छ । नेपालले धेरै कम कार्बन उत्सर्जन गर्छ, तर विश्वव्यापी जलवायु परिवर्तनको मारमा नेपाली पर्नुपरेको छ ।
रसुवामा रोइरहेको परिवार र नेपालगन्जमा बसिरहेको मेरो परिवारबीच ठुलो दूरी छैन । नेपालको एउटा कुनामा बगेको आँसु अर्को कुनामा बस्ने नेपालीको पनि आँसु हो । सायद यही अनुभूतिले संसारभरका हाम्रा साथीहरूको मन छोएको हो ।
लामो समयदेखि म म्याराथनसँग जोडिएको छु । नेपालगन्ज म्याराथन सुरु गर्दा हाम्रो सपना एउटा दौड आयोजना गर्ने मात्र थिएन । हामी दौडलाई समाजसँग जोड्न चाहन्थ्यौं । समुदायलाई म्याराथनसँग जोड्न चाहन्थ्यौं । नेपाललाई संसारको बृहत् दौड समुदायसँग जोड्न चाहन्थ्यौं । त्यो यात्रा कहाँसम्म पुग्ला भन्ने हामीलाई त्यतिबेला थाहा थिएन । आज फर्केर हेर्दा लाग्छ, दौडले हामीलाई सोचेभन्दा धेरै कुरा दिएको रहेछ । मित्रता, सम्बन्ध, विश्वास र संकटको समयमा एकअर्काको साथ दिने एउटा विश्व परिवार । सायद नेपालगन्ज म्याराथनले प्राप्त गरेको एम्स सोसल अवार्ड २०२६ हाम्रा लागि एउटा पुरस्कार मात्र थिएन ।
म नेपालका लागि एम्स दूतका रूपमा काम गरिरहेको छु । त्यसैले आज नेपालको दुःखमा एम्स परिवारका साथीहरू यसरी जोडिँदा यसको अर्थ मेरो लागि अझ गहिरो छ । दौडको मैदानमा बनाएको सम्बन्ध अहिले मानवीयताको मैदानमा देखिएको छ ।
एउटा म्याराथनमा हजारौं मानिस एउटै सडकमा दौडन्छन् । धर्म फरक हुन्छ, भाषा फरक हुन्छ, राष्ट्रियता फरक हुन्छ । आर्थिक अवस्था फरक हुन्छ । जीवनकथा अर्कै हुन्छ । तर दौड सुरु भएपछि सबैको एउटा साझा लक्ष्य हुन्छ– अगाडि बढ्ने । फिनिस लाइन छुने । सायद मानव जीवन पनि यस्तै हो । हामी सबै फरक बाटोबाट आएका छौं । हाम्रा कथा फरक छन् । हाम्रा सपनाहरू फरक छन् । तर अन्ततः हामी सबै पृथ्वीका यात्रु हौं ।
तसर्थ रसुवाको विपत्तिले मलाई अर्को प्रश्न पनि सोधिरहेको छ, हामीले यो पृथ्वीलाई कस्तो अवस्थामा छोड्दै छौं ? जलवायु परिवर्तनको विषय किताबका पानामा सीमित विषय रहेन । असामान्य वर्षा, बाढी, पहिरो, हिमपहिरो, अत्यधिक गर्मी र मौसममा देखिएको अस्वाभाविक परिवर्तनले हामीलाई बारम्बार चेतावनी दिइरहेको छ । नेपालजस्ता हिमाली देशहरू यसको असरबाट अझ बढी जोखिममा छन् । हिमाल पग्लिँदै छन् । वर्षाको ढाँचा बदलिँदै छ । पहाडहरू जोखिममा छन् । प्राकृतिक विपत्तिको स्वरूप बदलिँदै छ ।
हामीले अब दौडलाई स्वास्थ्य र प्रतिस्पर्धाको विषय मात्र बनाएर पुग्दैन कि जस्तो लाग्दै छ । किनकि अब दौड पृथ्वीका लागि पनि हुनुपर्छ । त्यसैले नेपालगन्ज म्याराथन, गौघाट ग्रिन रन, राप्तीसोनारी नेचर रन, काठमाडौं२५ हेरिटेज रेसलगायत अभियानलाई हामी वातावरण, प्रकृति र जलवायु सचेतनासँग जोड्दै अघि बढ्दै छौं । दौडसँग वृक्षारोपण र वातावरण संरक्षण जोड्दै छौं । प्लास्टिक न्यूनीकरणलाई व्यवहारमा उतार्दै छौं । युवा र विद्यार्थीलाई जलवायु सचेतनासँग जोड्दै छौं । स–साना बालबालिकालाई प्रकृतिसँग जोड्दै छौं । समुदायलाई आफ्नो वातावरणप्रति जिम्मेवार बनाउँदै छौं ।
हामीले एउटा बिरुवा रोप्दा त्यो सँगै भविष्य रोपिरहेका हुन्छौं । एउटा प्लास्टिकको बोतल प्रयोग नगर्दा बोतल मात्र बचाएका हुँदैनौं, पृथ्वीप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने सानो प्रयास पनि गरिरहेका हुन्छौं । दौडिरहेका बेला केही किलोमिटर मात्र पूरा गरिरहेका हुँदैनौं, एउटा विचारलाई अगाडि बढाइरहेका हुन्छौं । मानवता, जिम्मेवारी र परिवर्तनको विचार ।
रसुवाको विपत्तिपछि आएका ती सन्देशले मलाई एउटा कुरा सिकाएको छ– संसार वास्तवमै त्यति ठुलो रहेनछ । न्युयोर्कमा बसेको मान्छेको मन नेपालका पहाडसम्म पुग्न सक्छ । लसभेगासबाट आएको म्यासेजले काठमाडौंको दुःख बुझ्न सक्छ । ओसाकाबाट आएको एउटा शब्दले रसुवाको पीडा महसुस गर्न सक्छ । थाइल्यान्डबाट आएको प्रश्नले नेपालगन्जमा बसेको परिवारलाई ‘हामी एक्ला छैनौं’ भन्ने अनुभूति दिन सक्छ । सायद, यही नै म्याराथनको शक्ति हो । खेलकुदको शक्ति हो । सँगै दौडिरहेको मान्छे तपाईंको देशको नहुन सक्छ । तर, संकटको समयमा ऊ तपाईंको सबैभन्दा नजिकको साथी बन्न सक्छ । त्यसैले खेलकुदलाई खेल मात्र भनेर बुझ्नु अधुरो बुझाइ हुनेछ । खेलकुद समाज हो । सम्बन्ध हो । संवाद हो । कूटनीति हो । समग्रमा मानवता हो । कहिलेकाहीँ दौडले जित्ने मेडलभन्दा ठुलो कुरा जितिरहेको हुन्छ, मान्छेको मन ।
आज नेपाललाई सहयोगको आवश्यकता छ । सरकार, निजी क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदाय सबैको साथ आवश्यक छ । कहिलेकाहीँ आर्थिक सहयोगभन्दा पनि ठुलो कुरा एउटा भावना हुन्छ, ‘तिमी एक्लो छैनौ’ भन्ने सन्देश । म सबै अन्तर्राष्ट्रिय समुदायका साथीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । तपाईंहरू हजारौं किलोमिटर टाढा हुनुहुन्छ । तर, तपाईंहरूको एउटा म्यासेजले दूरी घटाइदिएको छ । आत्मीयता बढाइदिएको छ । पीडामा रहेका नेपालीलाई संसारले सम्झिरहेको छ भन्ने अनुभूति दिलाएको छ ।
व्यक्तिगत रूपमा म र मेरो परिवार सुरक्षित छौं । तर, मेरो देशका धेरै परिवार शोक र पीडामा छन् । तर, हामी दौडिरहनेछौं– नेपालका लागि, मानवताका लागि, पृथ्वीका लागि । र, अब हाम्रो गन्तव्य केवल फिनिस लाइन हुनेछैन । त्यस्तो समाजतर्फ दौड्नुपर्नेछ जहाँ विपत्तिमा कोही एक्लो नहोस् । त्यहाँ दौडनेछौं जहाँ देशको सीमा मानवताको सीमाभन्दा अग्लो नहोस् । त्यस्तो भविष्यतर्फ दौडनेछौं जहाँ विकास र प्रकृतिबीच युद्ध नहोस् । त्यस्तो पृथ्वीतर्फ दौडनेछौं जहाँ हाम्रा सन्तानले हामीले भन्दा सुन्दर संसार पाऊन् ।
त्यसैले त भनिएको हो, म्याराथनको सबैभन्दा ठुलो जित फिनिस लाइनमा पुग्नु मात्र होइन । आफू दौडेको बाटोमा कसैलाई पछाडि नछोड्नु पनि हो । जीवनको सबैभन्दा सुन्दर दौड पनि सायद यही हो ।
(ठकुरी एम्सका सद्भावना दूत तथा नेपालगन्ज म्याराथनका संस्थापन अध्यक्ष हुन् ।)