२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

घर भत्कियो, मन नभत्कियोस्

Nada
लक्ष्मी बिसी
२०८३ भदौ २१ गते ०६:०५
Shares
घर भत्कियो, मन नभत्कियोस्

प्रकृति जब आफ्नो कठोर र भयानक रूपमा प्रकट हुन्छ, मानिसले जीवनभर जोडेको जायजेथा, सपना र सम्बन्धहरू छिनभरमै बगर बन्छन् । गत भदौ १० गतेको त्यो अकल्पनीय दिन, जब अविरल वर्षासँगै आएको विनाशकारी बाढी र पहिरोले देशका विभिन्न भेगमा ताण्डव मच्चायो। विशेषगरी उत्तरी नाका रसुवा र नुवाकोटसहित धादिङ, गोरखा, चितवन तथा अन्य आसपासका जिल्लाहरूमा यस प्राकृतिक विपद्ले अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

ncell

प्रारम्भिक सरकारी तथ्याङ्क अनुसार यस विपद्बाट करिब १६ लाख मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । १२ सयभन्दा बढीको शव भेटिइसकेको छ भने चार हजारभन्दा बढी अझै बेपत्ता छन्। हजारौं विस्थापित भएका छन् । त्यसले प्रभाविक प्रत्येक परिवारका हजारौँ सपनामा नमेटिने पीडा दिएको छ । 

बगेका सडक, भत्किएका पर्खाल, पुरिएका खेतबारी र बगरमा परिणत भएका बस्तीहरूमा आज केवल आफन्तको प्रतीक्षा र टोलाएका आँखाहरू मात्र बाँकी छन्। अस्पतालका आकस्मिक कक्षहरू, प्रहरी प्रशासनका परिसरहरू र अस्थायी राहत शिविरहरूमा आफ्ना हराइरहेका मानिस भेटिने आशमा भौँतारिएका आफन्तहरूको आँसु र छटपटीले जुनसुकै कठोर हृदयलाई पनि पगालिदिन्छ।

उजाडिएका बस्ती र व्यक्तिगत शोक 

विपद्को यो कहरले प्रभावित बस्तीहरूमा यतिबेला गहिरो सन्नाटा र शोक छाएको छ। कतिपय परिवारका सबै सदस्यहरूलाई बाढीले एकैपटक खोसेर लगेको छ भने कतिपय सिङ्गो गाउँ नै नक्साबाट मेटिने अवस्थामा पुगेको छ। आफ्ना बाबुआमा, जीवनसाथी, छोराछोरी वा सहोदर दाजुभाइ–दिदीबहिनी गुमाउनुको पीडा कति भयानक हुन्छ भन्ने कुरा त्यो परिस्थितिबाट गुज्रिरहेको व्यक्तिलाई मात्र थाहा हुन्छ। त्यो असहजता, छातीभित्रको गहिरो शून्यतातर्फ ढल्केको मन र आहत भावनालाई कुनै पनि भाषाका शब्दहरूले पूर्ण रूपमा बयान गर्न सक्दैनन्।
यस्तो संकटमा घरबारविहीन बनेका बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरी, घाइते तथा दीर्घरोगीहरूको अवस्था झनै दयनीय र संवेदनशील बनेको छ। शारीरिक अशक्तताका कारण उनीहरूलाई न्यूनतम राहत सामग्री प्राप्त गर्न र नयाँ वातावरणमा घुलमिल हुन निकै सास्ती भइरहेको छ।

अदृश्य घाउः विपद्पछिको गहिरो मनोसामाजिक सङ्कट

कुनै पनि प्राकृतिक महाविपद्‌ केवल भौतिक विनाश र धनजनको क्षतिमा मात्र सीमित रहँदैन। यसले मानव मस्तिष्क, चेतना र भावनामा कहिल्यै नमिल्ने गहिरो आघात (त्चबगmब) छोडेर जान्छ। संकटकालीन मनोविज्ञानको सिद्धान्त अनुसार यस्ता घट्नापछि प्रभावित मानिसहरूमा तीव्र तनाव, गहिरो शोक, अनौठो डर, निराशा, पछुतो, दिक्दारी, अविश्वास र तीव्र असुरक्षाको भावना उत्पन्न हुन्छ।

हाल स्वयम्भूस्थित पहेँलो गुम्बाको होल्डिङ सेन्टर वा विभिन्न स्थानमा रहेका आश्रयस्थलहरूमा पुग्दा यो मनोवैज्ञानिक आघात मानिसहरूको अनुहारमा छर्लङ्ग देखिन्छ। त्यहाँ धेरै मानिसहरू अचेत वा अर्धचेत अवस्थामा छन्। कोही निरन्तर रोइरहन्छन्, कोही घण्टौँसम्म एकै ठाउँ टोलाएर बसिरहन्छन्। कसैलाई बोलाउँदा पनि सुन्दैनन्, कोही सामान्य आवाजमा पनि झस्किन्छन् भने कोही बोल्नै नसक्ने वा बोल्नै नचाहने अवस्थामा पुगेका छन्।

उनीहरूले भोगेको त्रास यति भीषण छ कि ‘मलाई गाह्रो भयो’, ‘टाउको दुख्यो’ वा ‘निन्द्रा लागेन’ भनेर आफ्नो शारीरिक र मानसिक अवस्था व्यक्त गर्नेसम्मको सामथ्र्य उनीहरूमा बाँकी छैन। डाक्टर र नर्सहरूले औषधीमार्फत शरीरको जाँच त गर्न सक्छन्, तर मनभित्र गुम्सिएर रहेको यो असीम पीडा फुकाउन र उनीहरूलाई सञ्चो बनाउन मनोसामाजिक परामर्श अनिवार्य भइसकेको छ।

अबोध बालमनोविज्ञान र उनीहरूप्रतिको संवेदनशीलता

विपद्को सबैभन्दा ठूलो र निष्ठुरी मार अबोध बालबालिकाहरूमा परेको छ। आफ्ना अभिभावक गुमाएका वा उनीहरूबाट छुट्टिएका साना बालबालिकाहरू आफ्नो वरिपरि के भइरहेछ भन्ने बुझ्न सकिरहेका छैनन्। होल्डिङ सेन्टरमा रहेका कतिपय बालबालिकाहरूलाई आफू कति दिनदेखि त्यहाँ छु भन्ने सम्झनासमेत छैन; उनीहरू आफ्नै आमाबाबु र दाजुभाइको नामसमेत भुल्ने अद्र्धचेत अवस्थामा पुगेका छन्। उनीहरू आफ्ना बाबुआमा नयाँ ठाउँमा आउने आशमा बाटो हेरिरहेका छन्।

समूह छलफलका क्रममा रसुवाकी ११ वर्षीया डोमाको प्रसङ्गले जोकोहीको मन चसक्क बनाउँछ। आमालाई खाना खुवाउँछु भन्दै जुरुक्क उठेर उनले भनिन्, ‘बाटोमा भेट्टाएर आमा बनाएको, उहाँको आँखा देख्नुहुन्न ।  मैले नै खाना खुवाउँछु, मेरो आफ्नै आमा त हुनुहुन्न उहाँ नै मेरो आमा हो ।’ त्यो अबोध बालिकामा संकटका बीच पनि पलाएको सहयोग, करुणा र आत्मीयताको भावनाले धेरैलाई स्तब्ध बनाउँछ।

बालमनोविज्ञानका अनुसार यस्ता बालबालिकालाई जबरजस्ती उनीहरूले भोगेका दुःखी घटना सुनाउन वा बोल्न लगाउनु झनै घातक हुन्छ। उनीहरूसँग समय बिताउने, उनीहरूलाई चित्र बनाउन दिने, खेलमा भुलाउने, कथा सुनाउने र उनीहरूलाई स्वाभाविक रूपमा सहज महसुस गराउनु पर्छ। उनीहरू धेरै डराएका छन् कि, एकाएक बोल्न छाडेका छन् कि भन्ने कुरामा अभिभावक, स्वयंसेवक र परामर्शदाताले विशेष ध्यान दिनु आवश्यक छ।

सम्बन्धको बिछोड र भावनात्मक सङ्क्रमण

विपद्को अर्को दुखद् पाटो भनेको परिस्थितिले निर्माण गरेका मानवीय सम्बन्धहरू पुनः टुट्नु हो। होल्डिङ सेन्टरमा केही दिन सँगै बसेका पीडितहरूबीच एउटा अदृश्य आत्मीयता र सहाराको नाता जोडिएको थियो। एउटै पीडा भोगिरहेका मानिसहरू एकापसमा कुरा सुन्ने र साट्ने बनेका थिए। तर, जब उनीहरूलाई अर्को सुरक्षित स्थानमा सार्न थालियो, उनीहरूमा पुनः अर्को निराशा र विछोडको पीडा थपियो।

टिमुरेका पासाङ जब औषधीको प्याकेट र जेब्रा झोला बोकेर गाडी चढे, उनको आँखामा आँसु थियो। ‘जहाँ लगे पनि जानै पर्छ’ भन्ने उनको भावुक शब्दभित्र एउटा गहिरो विवशता थियो । साना बालबालिकाहरू पनि नामै नथाहा भएका आफ्ना साथीहरूसँग छुट्टिनुपर्दा निराश देखिन्थे । विपद्ले मानिसको भौतिक घर मात्र होइन, उसले सुरक्षित महसुस गर्ने भूगोल, छिमेक र छोटो समयमै बनेका भावनात्मक सम्बन्धहरू पनि खोसेर लैजाँदो रहेछ।

ऐक्यबद्धता, मानवीयता र स्वयंसेवकहरूको उच्च आत्मबल

यो सङ्कटको समयमा नेपाली समाजको बलियो मानवीय पक्ष र ऐक्यबद्धता पनि उजागर भएको छ। पहेँलो गुम्बाको होल्डिङ सेन्टरलगायतका स्थानहरूमा खाना, लत्ताकपडा, स्वास्थ्य शिविर र सुरक्षाको राम्रो व्यवस्थापन देखिएको छ। गुम्बा व्यवस्थापन समिति, डाक्टर, नर्स, मनोपरामर्शदाता र स्वयंसेवकहरूको भूमिका प्रशंसनीय छ।

सबैभन्दा प्रेरक कुरा त ती स्वयंसेवकहरू हुन्, जसले आफ्नै परिवारका सदस्यहरू गुमाएका छन् वा जो अझै बेपत्ता छन् । रसुवा कर्चुङका स्वयंसेवक, जसका परिवारका ३ जना सदस्य अझै हराइरहेका छन्, उनी भन्दैथिए, ‘मेरो जस्तै पीडा अरूको पनि छ। सेन्टरमा बसिरहँदा मनमा पीडा मात्र हुन्छ, अरूलाई सहयोग गर्दा मन भुल्छ ।’  आफ्नै आँसु पिएर अरूको आँसु पुछ्न खटिने यस्ता उच्च आत्मबल भएका स्वयंसेवकहरूको योगदानप्रति सम्पूर्ण देशले उच्च सम्मान व्यक्त गर्नुपर्छ । 

हामीले विपद्मा परेका मानिसहरूको सबै दुःख त एकैपटक मेटाउन सक्दैनौँ, तर उनीहरूलाई ‘हामी तिम्रो साथमा छौँ, तिमी एक्लो छैनौ’ भन्ने आत्मीयता र भरोसा अवश्य दिन सक्छौँ । 

दीर्घकालीन पुनःस्थापना र मनोसामाजिक प्राथमिकता

विपद्‌ व्यवस्थापन केवल तत्कालीन राहत, खाद्यान्न वितरण वा टेन्ट बाँड्ने काममा मात्र सीमित रहनु हुँदैन। जब प्रारम्भिक संकटको समय बित्दै जान्छ, तब मानिसहरूमा वास्तविक क्षति र भविष्यको अनिश्चितताको बोध हुन थाल्छ। आफ्ना सपनाहरू खोसिएको र जीवनको पहिचान गुमेको महसुस हुँदा अवसाद (म्भउचभककष्यल) र पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डरजस्ता जटिल मानसिक स्वास्थ्य समस्याहरू निम्तिन सक्छन्।

त्यसैले, राज्य र गैरसरकारी क्षेत्रले पुनर्जागरण तथा पुनःस्थापनाका कार्यक्रमहरू तयार गर्दा भौतिक पूर्वाधार विकाससँगै दीर्घकालीन मानसिक स्वास्थ्य सेवालाई एकीकृत रूपमा अगाडि बढाउनुपर्छ। सामुदायिक तहमा स्थानीय मनोपरामर्शदाताहरूको टोली परिचालन गर्ने, बालबालिकाका लागि बालमैत्री स्थान र सिकाइ केन्द्रहरू सञ्चालन गर्ने तथा प्रभावित मानिसहरूलाई पुनः आयआर्जन र आत्मनिर्भरताका उपायहरूसँग जोड्न सके मात्र उनीहरूको खलबलिएको मनलाई पुनः लयमा फर्काउन सकिन्छ।

निष्कर्ष

नरोएको मानिसलाई दुःख छैन भन्ने हुँदैन, नबोलेको मानिसलाई पीडा छैन भन्ने होइन। अहिलेको यो विषम परिस्थितिमा शारीरिक स्वास्थ्य र भौतिक राहत (गाँस, बास, कपास) जत्तिकै महत्त्वपूर्ण पक्ष मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श हो।

बगेका खेतबारी र भत्किएका भौतिक घरहरू त समयक्रममा पुनः बन्दै जालान्, तर भत्किएको मानिसको मन, टुट्न लागेको आत्मबल र खलबलिएको मानसिक सन्तुलनलाई पुनर्गठन गर्न धेरै समय र धैर्यता लाग्छ। राहत र उद्धारको यो चरणमा अब हामीले भावनात्मक उपचार र पुनर्मिलनलाई प्राथमिकता दिनुपर्छ। हराइरहेका आफन्तहरू सकुशल भेटिऊन्, पीडित परिवारलाई यो बज्रपात सहन सक्ने शक्ति मिलोस्। खोजी, उद्धार र मानसिक स्वास्थ्यको यो अभियानमा हामी सबैले आफ्नो ठाउँबाट हातेमालो गरौँ, ताकि घर र बस्ती भत्किए पनि कसैको आशा र मन नभत्कियोस्।

uae

ताजा खबर

सम्बन्धित खबर