२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

विपद् र महामारीमा दक्ष प्राविधिक

Nada
रामप्रसाद पौडेल
२०८३ भदौ २२ गते ०६:००
Shares
विपद् र महामारीमा दक्ष प्राविधिक

नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक हो । भूकम्प, बाढी, पहिरो, डुबान, चट्याङ, आगलागी, वनडढेलो, हिमपहिरो तथा विभिन्न प्रकारका महामारीले नेपाली जनजीवनलाई पटक–पटक प्रभावित पार्दै आएका छन् । पछिल्ला वर्षमा जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण, जोखिमयुक्त बस्ती विकास र कमजोर पूर्वाधारका कारण विपद्को स्वरूप अझ जटिल बन्दै गएको छ । यस्तो अवस्थामा विपद् आएपछि राहत र उद्धार गर्ने जनशक्ति मात्र होइन, विपद् आउनुअघि नै जोखिम पहिचान, पूर्वसूचना र न्यूनीकरण गर्न सक्ने दक्ष प्राविधिक जनशक्ति देशको अपरिहार्य आवश्यकता बनेको छ ।

ncell

नेपालले २०७२ सालको विनाशकारी भूकम्पबाट ठुलो पाठ सिकेको छ । भूकम्पले जनधनको ठुलो क्षति गर्नुका साथै विद्यालय, स्वास्थ्य संस्था, सडक, पुल, खानेपानी तथा सांस्कृतिक सम्पदामा समेत गम्भीर असर पुर्‍यायो । उद्धारदेखि उपचार, क्षति मूल्यांकनदेखि पुनर्निर्माणसम्म विभिन्न क्षेत्रका प्राविधिक जनशक्तिको भूमिका महत्त्वपूर्ण रह्यो । त्यस घटनाले विपद् व्यवस्थापनमा पूर्वतयारी, वैज्ञानिक अध्ययन र दक्ष जनशक्तिको महत्त्वलाई अझ स्पष्ट बनायो । तर भूकम्पपछि पनि विपद्का घटना रोकिएका छैनन् । मनसुन सुरु हुनासाथ बाढी र पहिरोको जोखिम बढ्छ । तराईमा डुबान, पहाडी क्षेत्रमा पहिरो र हिमाली क्षेत्रमा हिमपहिरो तथा आकस्मिक बाढीको जोखिम रहन्छ । कतिपय ठाउँमा सडक निर्माण र बस्ती विस्तार गर्दा वातावरणीय तथा भौगोलिक जोखिमको पर्याप्त अध्ययन नहुँदा प्राकृतिक जोखिम मानवीय गतिविधिसँग जोडिएर झन् भयावह बन्ने गरेको छ ।

पछिल्लो समय भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपालको विपद् व्यवस्थापनमा नयाँ चुनौतीतर्फ ध्यानाकर्षण गराएको छ । हिमाली क्षेत्रमा उत्पन्न आकस्मिक जलप्रवाहले केही समयमै नदी तटीय क्षेत्रको जनजीवन प्रभावित पार्न सक्छ । बाढीले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक संरचना र सञ्चार सम्पर्कमा असर पार्दा प्राकृतिक विपद्को प्रभाव मानिसको दैनिक जीवनबाट राष्ट्रिय अर्थतन्त्रसम्म पुग्ने देखिन्छ । भोटेकोशीको घटनाले हामीलाई एउटा गम्भीर प्रश्न सोधेको छ– यस्ता आकस्मिक विपद्को जोखिम समयमै पहिचान गर्न, पूर्वसूचना दिन र तत्काल प्रतिक्रिया जनाउन हामीसँग पर्याप्त दक्ष प्राविधिक जनशक्ति छ कि छैन ? विपद् व्यवस्थापन भनेको उद्धार टोली परिचालन गर्नु मात्र होइन । नदीको बहाव र जलस्तर अध्ययन गर्ने जलविज्ञानी, मौसमको अवस्था विश्लेषण गर्ने मौसमविद्, हिमनदी तथा हिमाली जोखिम अध्ययन गर्ने विज्ञ, भूगर्भविद्, जोखिम नक्सांकन गर्ने इन्जिनियर, सूचना प्रविधि विशेषज्ञ, सञ्चार प्राविधिक, विद्युत् प्राविधिक तथा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको संयुक्त प्रयास आवश्यक हुन्छ ।

आज प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ । मौसम पूर्वानुमान, उपग्रहबाट प्राप्त सूचना, नदीको जलस्तर मापन, डिजिटल नक्सा र पूर्वसूचना प्रणालीले विपद् जोखिम न्यूनीकरणमा ठुलो सहयोग पुर्‍याउन सक्छन् । तर प्रविधि आफैंले निर्णय गर्दैन । त्यसलाई सही ढंगले सञ्चालन गर्ने, प्राप्त सूचना विश्लेषण गर्ने र सही समयमा सही निर्णयमा रूपान्तरण गर्ने दक्ष जनशक्ति आवश्यक हुन्छ । प्राकृतिक विपद् अचानक आउन सक्छ, तर विपद्को तयारी अचानक गर्न सकिँदैन । नदीको माथिल्लो क्षेत्रमा पानीको अवस्था बदलिँदा त्यसको प्रभाव तल्लो क्षेत्रमा कस्तो पर्न सक्छ भन्ने विश्लेषण समयमै गर्नुपर्छ । जोखिममा रहेका बस्ती पहिचान गरी पूर्वसूचना दिनुपर्छ । सुरक्षित स्थान र वैकल्पिक बाटो पहिल्यै निर्धारण गर्नुपर्छ । यसका लागि स्थानीय तहदेखि राष्ट्रिय तहसम्म दक्ष प्राविधिक जनशक्ति र प्रभावकारी समन्वय आवश्यक हुन्छ ।

विपद्को समयमा स्वास्थ्य क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । भूकम्प, बाढी वा पहिरोपछि घाइतेको उपचार मात्र होइन, खानेपानी, सरसफाइ, संक्रमण नियन्त्रण र रोगको निगरानी पनि आवश्यक हुन्छ । मेडिकल ल्याबोरेटरी प्राविधिक, रेडियोग्राफी प्राविधिक, फार्मेसी प्राविधिक, आपत्कालीन स्वास्थ्यकर्मी तथा जनस्वास्थ्यकर्मीले संकटको समयमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्छन् । महामारीको अनुभवले पनि प्राविधिक जनशक्तिको महत्त्व स्पष्ट पारेको छ । कोभिड–१९ का समयमा रोग पहिचान, नमुना संकलन, प्रयोगशाला परीक्षण, संक्रमण नियन्त्रण, औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापन, खोप कार्यक्रम र तथ्यांक संकलनमा स्वास्थ्य प्राविधिकहरूको योगदान महत्त्वपूर्ण रह्यो । महामारीपछि डेंगुजस्ता संक्रामक रोगको फैलावटले पनि रोग नियन्त्रण अस्पतालको चार पर्खालभित्र मात्र सम्भव हुँदैन भन्ने देखाएको छ । रोगको प्रारम्भिक पहिचान, प्रयोगशाला परीक्षण, रोग निगरानी, सरसफाइ, वातावरण व्यवस्थापन, लामखुट्टे नियन्त्रण, जनचेतना र जोखिम सञ्चारका लागि स्थानीय तहसम्म दक्ष जनशक्ति आवश्यक हुन्छ । त्यसैले स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्तिलाई महामारी र विपद् व्यवस्थापनसँग जोडेर तयार गर्नुपर्छ ।

नेपालको समस्या जनशक्तिको संख्या मात्र होइन, आवश्यक समयमा आवश्यक ठाउँमा आवश्यक सीप भएको जनशक्ति उपलब्ध हुनु पनि हो । राजधानी र ठुला सहरमा मात्र दक्ष जनशक्ति केन्द्रित हुँदा दुर्गम तथा विपद् प्रभावित क्षेत्रमा तत्काल सेवा पुर्‍याउन कठिन हुन्छ । त्यसैले प्रदेश र स्थानीय तहसम्म दक्ष प्राविधिक जनशक्तिको सन्तुलित वितरण आवश्यक छ । प्राविधिक तथा व्यावसायिक शिक्षालयहरूले पनि अब आफ्नो शिक्षण प्रणालीलाई समयको मागअनुसार विकास गर्नुपर्छ । स्वास्थ्यसम्बन्धी प्राविधिक शिक्षामा आपत्कालीन स्वास्थ्य सेवा, प्राथमिक उपचार, संक्रमण नियन्त्रण, महामारी व्यवस्थापन तथा विपद्का समयमा स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान आवश्यक छ । त्यस्तै इन्जिनियरिङ तथा अन्य प्राविधिक शिक्षामा भूकम्पप्रतिरोधी संरचना, बाढी पहिरो जोखिम, वातावरणीय प्रभाव, जलस्रोत व्यवस्थापन र विपद् प्रतिरोधी पूर्वाधार निर्माणसम्बन्धी सीपलाई प्राथमिकता दिनुपर्छ ।

विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । विपद् हुँदा सरकारी उद्धार टोली पुग्नुअघि स्थानीय नागरिक नै पहिलो उद्धारकर्ता बन्ने गर्छन् । त्यसैले स्थानीय तहमा तालिमप्राप्त स्वयंसेवक र प्राविधिक टोली तयार गर्नुपर्छ । विद्यालय, अस्पताल, उद्योग, जलविद्युत् आयोजना तथा सार्वजनिक संस्थामा नियमित विपद् अभ्यास सञ्चालन गरिनुपर्छ । नेपालले अब विपद्लाई केवल राहत र क्षतिपूर्तिको विषयका रूपमा हेर्नुहुँदैन । विपद् जोखिम न्यूनीकरणलाई विकास योजनाकै अभिन्न अंग बनाउनुपर्छ । सडक बनाउँदा पहिरोको जोखिम, पुल बनाउँदा नदीको बहाव, बस्ती विकास गर्दा डुबान र भूकम्पीय जोखिम तथा जलविद्युत् आयोजना निर्माण गर्दा आकस्मिक बाढीको सम्भावनालाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ । यहाँ हाम्रो सोचमै परिवर्तन आवश्यक छ । विपद् आएपछि राहत बाँड्ने क्षमता मात्र राज्यको सफलता होइन, विपद् आउनुअघि जोखिम घटाउन सक्ने क्षमता नै सुशासनको वास्तविक परीक्षा हो ।

भूकम्प, बाढी, पहिरो, भोटेकोशीजस्ता आकस्मिक नदीजन्य विपद् वा महामारी जे सुकै होस्– यी सबै घटनाले संकटको समयमा स्रोतसाधनभन्दा पनि स्रोत परिचालन गर्न सक्ने दक्ष जनशक्ति निर्णायक हुन्छ भन्ने सिकाएका छन् । वैज्ञानिक अध्ययन, पूर्वसूचना, सुरक्षित पूर्वाधार, दक्ष प्राविधिक जनशक्ति, स्थानीय क्षमता र प्रभावकारी समन्वयबाट क्षति अवश्य घटाउन सकिन्छ । आज प्राविधिक शिक्षामा गरिएको लगानी भोलिको संकटमा जोगाइने जीवनको लगानी हो । भोटेकोशीको बाढीले दिएको सन्देशलाई आत्मसात् गर्दै जोखिम पहिचान गर्ने, समयमै सूचना दिने र संकटमा जीवन जोगाउन सक्ने दक्ष प्राविधिक जनशक्ति तयार गर्नु नै आजको मुख्य आवश्यकता हो । दक्ष मानव पूर्वाधारले नै संकटको समयमा राष्ट्रलाई जोगाउँछ ।

uae

ताजा खबर

सम्बन्धित खबर