
विपद्ले भौतिक संरचना मात्र होइन, बालबालिकाको बाल्यकाल र मानसिक संसार पनि भत्काउँछ । भौतिक पुनर्निर्माणसँगै उनीहरूको मनभित्रको डर हटाउनु, शिक्षाको निरन्तरता सुनिश्चित गर्नु, शोषणबाट जोगाउनु र बालमैत्री वातावरण बनाउनु उत्तिकै जरुरी छ । बालबालिकालाई फेरि निडर भएर हाँस्न सक्ने बनाउनु नै विपद् व्यवस्थापनको वास्तविक सफलता हो ।
विपद्को सबैभन्दा गहिरो चोट सधैं आँखाले देखिँदैन । भत्किएको घर, बगेको सडक र खेतमा थुप्रिएको ढुंगा–माटो सजिलै देखिन्छ, तर बालबालिकाको मनभित्र भत्किएको संसार देखिँदैन । भोटेकोशी बाढीजस्ता प्राकृतिक विपद्ले धेरै परिवारलाई क्षणभरमै उजाड बनाएको छ । कतिपय बालबालिकाले आफ्ना आमाबाबु, आफन्त वा साथी गुमाएका छन् भने कसैले घर, विद्यालय, किताब र खेल्ने ठाउँ । उनीहरू शारीरिक रूपमा बाँचेर सुरक्षित ठाउँमा पुगेका भए पनि उनीहरूको बाल्यकाल भने त्यही बाढीको भेलमा छुटेको हुन सक्छ ।
वयस्क मानिसले विपद्लाई एउटा भयावह घटनाका रूपमा बुझेर शब्दमा ढाल्न सक्छ । तर साना बालबालिकाका लागि यसको अर्थ यति सरल हुँदैन । उनीहरूले देखेको बीभत्स दृश्य मनमा गहिरो छाप बनेर बस्छ । रातको समयमा नदीको आवाज, पानी पर्दाको दृश्य वा ठुलो शब्द सुन्दा पुरानो त्रास फर्किन सक्छ । अभिभावक केही समयका लागि आँखाबाट ओझेल पर्दा पनि सधैंका लागि हराउने हुन् कि भन्ने भय पैदा हुन्छ । यस्तो मानसिक असर तत्काल नदेखिए पनि लामो समयसम्म रहिरहन्छ ।
सबैभन्दा गम्भीर अवस्था आफ्नै आँखाअगाडि परिवारका सदस्य गुमाएका बालबालिकाको हुन्छ । मृत्युको अर्थ पूर्ण रूपमा नबुझे पनि उनीहरूले आफ्नो मान्छे अब कहिल्यै फर्केर आउँदैन भन्ने खालीपन गहिरोसँग महसुस गर्छन् । यस्तो अवस्थामा बच्चालाई ‘नरोऊ, सबै ठीक हुन्छ’ भनेर मात्र पुग्दैन । उनीहरूको मनमा उठिरहेका प्रश्न सुन्नुपर्छ, रोउन र डर व्यक्त गर्न दिनुपर्छ । उसले भोगेको पीडा सुरक्षित वातावरणमा व्यक्त गर्न पाउने अवसर दिनु अनिवार्य हुन्छ ।
अस्थायी शिविर वा होल्डिङ सेन्टरमा बसेका बालबालिकाको शारीरिक सुरक्षासँगै मानसिक अवस्थालाई पनि ध्यानपूर्वक नियाल्नुपर्छ । कुनै बच्चा असामान्य रूपमा चुपचाप बस्नु, अत्यधिक रुनु, आक्रामक हुनु, खाना नखानु वा निदाउन नसक्नु मानसिक आघातका स्पष्ट संकेत हुन् । त्यसैले राहत सामग्रीसँगै मनोसामाजिक सहयोग पनि प्रभावित क्षेत्रमा पुर्याउनुपर्छ । बालबालिकाका लागि सुरक्षित र बालमैत्री स्थान निर्माण गरी उनीहरूलाई खेल्न, चित्र बनाउन र आफ्ना भावना व्यक्त गर्न दिनुपर्छ । खेल मनोरञ्जन मात्र नभई भावनात्मक अभिव्यक्तिको बलियो माध्यम पनि हो ।
विद्यालय शिक्षा दिने संस्था मात्र होइन, बालबालिकाको सामाजिक र भावनात्मक संसार निर्माण गर्ने ठाउँ पनि हो । साथीहरूसँग भेट्ने, शिक्षकसँग कुरा गर्ने, खेल्ने र भविष्यका सपना बुन्ने ठाउँ विद्यालय नै हो । त्यसैले विपद्पछि विद्यालय पुनः सञ्चालन गर्नु भवन खोल्नु मात्र होइन, सामान्य जीवन फर्काउने महत्त्वपूर्ण प्रक्रिया हो । विद्यालय लामो समय बन्द रहँदा पढाइसँगै उनीहरूको सामाजिक सम्बन्ध, आत्मविश्वास र आशामा असर पर्छ ।
तर विद्यालय सुरु हुँदैमा समस्या स्वतः समाधान भइहाल्दैन । विपद् भोगेका विद्यार्थी किताब खोलेर तुरुन्तै पुरानै अवस्थामा फर्किन सक्दैनन् । यस्तो अवस्थामा शिक्षकले पाठ्यपुस्तकको पाठ मात्र पढाएर पुग्दैन, विद्यार्थीको मन पढ्न पनि सक्नुपर्छ । ‘तिमी किन पढ्दैनौ ?’ भनेर गाली गर्नुको सट्टा ‘तिमीलाई के भएको छ ?’ भनेर सोध्ने संस्कार आवश्यक छ । कक्षामा ध्यान नदिने वा अनुपस्थित हुने विद्यार्थीको मनमा घर वा अभिभावक गुमाएको गहिरो पीडा हुन सक्छ ।
बालबालिकाले घरलाई संसारकै सुरक्षित ठाउँ ठान्छन् । जब त्यही घर बाढीले बगाउँछ, उनीहरूको सुरक्षाको आधार नै भत्किन्छ । त्यसैले सम्झाएर मात्र पुग्दैन, व्यवहारबाटै उनीहरू सुरक्षित भएको अनुभूति गराउनुपर्छ । अझ अभिभावक गुमाएका अनाथ बालबालिकालाई केवल खाना र बास पर्याप्त हुँदैन, उनीहरूलाई स्थायी भावनात्मक सुरक्षा चाहिन्छ । उनीहरूलाई आफन्तको जिम्मा लगाउँदा पनि राज्यले नियमित अनुगमन गर्नुपर्छ ।
यससँगै बालबालिकाको तस्करी र शोषणको खतरा पनि तीव्र रूपमा जोडिन्छ । अभिभावक गुमाएका बालबालिकालाई ‘पाल्छु’ वा ‘पढाइदिन्छु’ भन्ने प्रलोभनमा पारेर बालश्रम र शोषणतर्फ धकेल्न सकिन्छ । त्यसैले प्रभावित क्षेत्रबाट कुनै बालबालिकालाई बाहिर लैजाँदा अनिवार्य अभिलेख र कानुनी प्रक्रिया पालना हुनैपर्छ ।
परिवारको आम्दानी गुमेपछि खर्च जुटाउन नसकेर विद्यार्थीले बिचमै पढाइ छोड्न सक्छन् । यसले एउटा सिंगो पुस्तालाई नै शिक्षाबाट बाहिर धकेल्ने खतरा रहन्छ । त्यसैले प्रभावित विद्यार्थीका लागि निःशुल्क शैक्षिक सामग्री, पोसाक, छात्रवृत्ति र आवासको व्यवस्था गर्नुपर्छ । लामो समय विद्यालय बाहिर रहेका विद्यार्थीलाई पुनः शिक्षामा जोड्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
सरकारले दीर्घकालीन बाल संरक्षण तथा शिक्षा पुनर्जीवन कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसको उद्देश्य केही महिनाको राहतमा सीमित नभई शिक्षा, स्वास्थ्य, मनोसामाजिक अवस्था र सुरक्षाको निरन्तर निगरानी गर्ने प्रणाली बनाउनु हुनुपर्छ । बालबालिकाको मनोविज्ञानलाई नबुझी गरिने भौतिक पुनर्निर्माण सधैं अधुरो रहन्छ ।
विपद्पछि बालबालिकालाई सामान्य जीवनमा फर्काउने मुख्य माध्यम परिवार र समुदाय हुन् । सम्भव भएसम्म परिवारसँग पुनर्मिलन गराउनुपर्छ वा वैकल्पिक संरक्षण दिनुपर्छ । अभिभावकले बालबालिकाको व्यावहारिक परिवर्तनलाई गम्भीरतापूर्वक लिनुपर्छ । समाजले पनि दया होइन, समान अवसर र आत्मसम्मान दिनुपर्छ । ‘पीडा समयले आफैं निको पार्छ’ भन्ने भ्रम त्यागेर दीर्घकालीन परामर्शको प्रणाली विकास गर्नुपर्छ ।
बाढीले बगाएको घर वा विद्यालय पुनः बनाउन सकिएला, तर मनभित्र बसेको डर र निराशा हटाउन माया, सुरक्षा र निरन्तर साथ चाहिन्छ । विपद् व्यवस्थापन भनेको उद्धार र राहत बाँड्नु मात्र होइन, एउटा बच्चालाई फेरि निडर भएर हाँस्न सक्ने बनाउनु पनि हो । कुनै बालक फेरि मुस्कुराउँदै विद्यालय जाँदा र बालिकाले कक्षाकोठामा बसेर भविष्यको सपना देख्दा मात्र हाम्रो पुनर्स्थापनाले सही अर्थ पाउनेछ ।