
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले कर्मचारी र ग्यास उद्योगीको मिलोमतोमा ग्यासको अभाव भइरहेको बताएकी छिन् । उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज नहुने उनको दाबी छ ।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले मन्त्रालयका कर्मचारीहरूले उद्योगी–व्यवसायीसँगको मिलोमतोमा काम गर्ने गरेको आरोप लगाइन् । आफूले राम्रो गर्न खोज्दा सबैको आँखाको तगरो बन्नु परेको उनले बताइन् । मन्त्रालयले बनाउने विधेयक तथा कानुन पनि कर्मचारीले उद्योगी व्यवसायीसँगको मिलेमतोमा बनाउने गरेको उनको आरोप छ । उद्योगीहरूको हितअनुकूल नियम–कानुन बनाइएको भन्दै उनले त्यसलाई परिवर्तन गर्न खोज्दा कर्मचारीतन्त्रबाट असहयोग हुने बताइन् । मन्त्री यादवले आफूले उद्योग क्षेत्रमा सुधारका लागि पटक–पटक निर्देशन दिए पनि कर्मचारीले परिवर्तन गर्न नमानेको गुनासो गरिन् ।
विधेयक निर्माण गर्दासमेत कर्मचारीतन्त्रले उद्योगीले भनेअनुसारका प्रावधान राख्ने गरेको उनको आरोप छ । बलियो सरकार हुँदासमेत कर्मचारीतन्त्रको असहयोगका कारण आफूले चाहेजस्तो काम गर्न नसकेको उनको भनाइ छ ।
उनले भनिन्, ‘दुईवटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन । साँच्चिकै सोध्नुहुन्छ भने धेरैमा दुइटा । अरू सबै खारेज गर्नुपर्छ । मैले पनि हात जोडेर सबैलाई भनेको छु कि ग्यास आपूर्ति सहज बनाइदिनुस् ।’
हात जोडेर नभएको उनको गुनासो छ । उनले थपिन्, ‘सभापतिज्यूले भन्नुभयो विधेयकहरू ल्याउनुस्, विधेयक केका लागि कहाँ ल्याउनुहुन्छ ? सबै उद्योगीको हिसाबले हाम्रा कर्मचारीतन्त्रले चलाइरहेको छ । तपाईं भन्नुस् यो चेन्ज गरेर ल्याउनुस्, कर्मचारी भन्छ– हुँदैन, मिल्दैन हजुर । तपाईं १० चोटि भन्नुस्, मिल्दैन भन्छ । के गरौं ?’
नेपालमा स्वदेशी उद्योग स्थापना गर्ने वातावरण नरहेको दाबी गर्दै उनले कच्चापदार्थ आयात र तयारी वस्तुको आयातबीचको भन्सार नीतिमा समेत पुनरावलोकन आवश्यक रहेको बताइन् । सस्तो मूल्यमा तयारी वस्तु आयात हुने, तर सोही वस्तु उत्पादनका लागि आवश्यक कच्चापदार्थ महँगो पर्ने अवस्थाले नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ ।
उद्योगीहरूको प्रभावबाट नीतिनिर्माण प्रक्रिया मुक्त नगरेसम्म ग्यासको समस्या समाधान नहुने उनको दाबी छ । उद्योगीको प्रभावबाट समिति र कानुन निर्माण प्रक्रिया मुक्त गरी राष्ट्रहितलाई केन्द्रमा राखेर कानुन बनाउनुपर्नेमा उनले जोड दिइन् । ग्यास आपूर्ति सहज बनाउन आवश्यक कदम चाल्न आफू तयार रहेको, तर उद्योगीहरूको प्रभाव कायम रहेसम्म समस्या समाधान गर्न नसक्ने उनको भनाइ छ । उनले नेपालमा आवश्यकताभन्दा धेरै ग्यास उद्योग सञ्चालनमा रहेका कारण ग्यास आपूर्ति सहज बनाउन नसेकेको दाबी गरिन् । ग्यास आपूर्ति सहज बनाउन उद्योगको संख्या घटाउनुपर्ने उनको भनाइ छ ।