
काठमाडौं : रातको करिब दुई बजेको समय । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको गेटबाहिर एक महिला प्रसव पीडाले छट्पटाइरहेकी थिइन् । अस्पतालको छेउकै गल्लीमा पीडा सहन नसकेपछि उनले चिर्पटको सहारामा घुँडा टेकेर बच्चा जन्माइन् । एक महिलाले उनलाई पछाडिबाट समातेर सहयोग गरिरहेकी थिइन् भने अर्कीले सघाइरहेकी थिइन् । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालको सेवा प्रवाहमाथि प्रश्न उठेको छ । राजविराज नगरपालिका–१४ पर्साहीका हरेराम पासवानकी श्रीमती बबिता पासवानले बुधबार बिहान अस्पतालको गेटबाहिर बच्चा जन्माएकी हुन् । मंगलबार राति साढे एक बजे प्रसव व्यथा लागेपछि हरेरामले बबितालाई दुई जना सासू नाता पर्ने महिलासहित सिटी रिक्सामा अस्पताल पुर्याएका थिए ।
अस्पताल पुगेपछि चिकित्सकले बबिताको स्वास्थ्य परीक्षण गराउन भने । परीक्षणका क्रममा सुरुमा तीन हजार रुपैयाँ जम्मा गर्न भनिएको हरेरामले बताए । आफूसँग तत्काल पैसा नभएको भन्दै उनले बिहान रकम जम्मा गर्ने बताएका थिए ।
तर अस्पतालमा रकम जम्मा नभएसम्म बिरामी भर्ना गर्न नमिल्ने र पैसा बुझाएको बिल नल्याएसम्म उपचार नहुने भनिएको हरेरामको भनाइ छ । त्यसपछि उनी श्रीमतीलाई लिएर अस्पतालबाट बाहिरिएका थिए । प्रसव पीडाले छट्पटाइरहेकी बबिता अस्पतालको गेटसम्म पुगेपछि भने अघि बढ्न सकिनन् । गेटकै छेउमा बसेर उनले करिब दुई घण्टा प्रसव पीडा सहिन् । बिहान करिब ४ बजे उनले बच्चा जन्माइन् ।
यसअघि तीन सन्तान जन्माइसकेकी बबिताले यसपटक कुनै स्वास्थ्य जाँच नगरी बच्चा जन्माएकी बताएकी छन् ।
सरकारले सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिबका लागि १० प्रतिशत शय्या छुट्याउने कानुनी व्यवस्था गरेको छ । संघीय सरकारअन्तर्गतको अस्पतालको गेटबाहिरै प्रसूति हुनुपरेको घटनाले सामाजिक सञ्जालदेखि सदनसम्म प्रश्न उठेको छ ।
अस्पताल भन्छ– भर्ना गरिएको थियो
अस्पतालले भने बबितालाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि प्रसूति वार्डको बेड नं. २४ मा भर्ना गरिएको जनाएको छ । अस्पतालको प्रारम्भिक अभिलेखअनुसार बुधबार बिहान करिब २ बजे प्रसवको सुरुवाती अवस्थामा ३० वर्षीया बबिता कुमारी पासवान अस्पताल पुगेकी थिइन् । आवश्यक जाँचसम्बन्धी कुनै रिपोर्ट नभएकाले अत्यावश्यक जाँच गर्न सुझाव दिइएको अस्पतालको भनाइ छ । तर त्यसपछि बबिता र उनका कुरुवा अस्पतालले उपलब्ध गराएको शय्यामा नरहेको अस्पतालले जनाएको छ । बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर प्रसूति भएको जानकारी प्राप्त भएको अस्पतालको भनाइ छ ।
प्रसूति भएपछि आमा र बच्चा सालसहित पुनः प्रसूति वार्डमा आएको अस्पतालले जनाएको छ । ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काटेर आवश्यक स्याहार तथा उपचारका लागि अस्पतालमै रहन पटक–पटक आग्रह गरे पनि उनीहरू अस्पतालबाट बाहिरिएको प्रारम्भिक विवरण रहेको अस्पतालले जनाएको छ ।
हाल बबिता र नवजात शिशु दुवै बेड नं. २२ मा भर्ना छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालले आमा र बच्चाको आवश्यक उपचार, औषधि तथा स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
अस्पतालले घटनाको वास्तविक तथ्य पत्ता लगाउन आन्तरिक छानबिन अघि बढाउने जनाएको छ । छानबिनबाट दोषी देखिए कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
मन्त्रालयले माग्यो स्पष्टीकरण
घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ । मन्त्रालयले अस्पताल प्रशासनसँग स्पष्टीकरण माग्नुका साथै घटनाको सत्यतथ्य छानबिन गर्न टोली राजविराज पठाउने जनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनाको छानबिनका लागि तत्काल टोली पठाइएको जानकारी दिएकी छन् । अस्पताल वा सम्बन्धित पक्षबाट गल्ती वा लापरबाही भएको देखिए प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताएकी छन् ।
मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको टोली बिहीबारै राजविराज जाने भएको छ । काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली घटनाको स्थलगत छानबिनमा जानेछ । मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीसँगै जानेछन् ।
मन्त्रालयले स्वास्थ्य संस्थामा पुग्ने प्रत्येक नागरिकले समयमै उपचारसँगै सम्मानजनक र मानवीय व्यवहार पाउनुपर्ने जनाएको छ । घटनाको तथ्यगत अध्ययनपछि आवश्यक निर्णय लिइने मन्त्रालयले जनाएको छ ।
अस्पतालले पनि बाह्य छानबिन समिति गठन भए आवश्यक सूचना, कागजात र सहयोग उपलब्ध गराउने जनाएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रसूति सेवा व्यवस्थापन र सेवाग्राहीप्रतिको जवाफदेहिता थप सुदृढ बनाउने अस्पतालको प्रतिबद्धता छ ।