२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जहाँ छ विश्वास र आशा

ADV
अस्मिता बम
२०८१ साउन ३२ गते ०६:४५
जहाँ छ विश्वास र आशा

काठमाडौं : एक्लै कुदिरहेका एक बालक । जो चिप्लेटीमा चिप्लिन खोजिरहेका थिए, आफ्नै लयमा खेलिरहेका थिए । झट्ट हेर्दा उनी जिद्दि देखिन्थे ।

यो दृश्य बालुवाटारमा रहेको नियो चाइल्ड केयर सेन्टरको हो । जहाँ अटिजम भएका बालबालिकालाई उपचार गर्नुका साथै उनीहरुको क्षमताअनुसारको शिक्षा दिइन्छ । 

जिद्धि देखिने ती बालक नियोकै विद्यार्थी हुन् । ६ वर्षका उनलाई नियोमा पाँच महिना अघि मात्र भर्ना गराइएको थियो । उनमा एक ठाउँमा बस्न नसक्ने, मानिसहरुसँग घुलमिल हुन नसक्ने, आफूलाई गर्न मन लागेको कुराहरु गर्न नसक्ने र भन्न पनि नसक्ने किसिमको समस्या रहेको सोही केयर सेन्टरमा कार्यरत थेरापिस्ट सिम्रन बस्नेत बताउँछिन् । 

थेरापिस्ट बस्नेतका अनुसार ती बालक भर्ना भएको समयतिर मोबाइलमा केही हेरिरहन मात्र रुचाउँथे । मोबाइल हातमा नभएको समयमा आफैँ रिसाउने पनि गर्थे र कसैको नजिक जादैनथेँ । ‘फोनमा मात्र केन्द्रित हुने अनि एक ठाउँमा बस्दै नबस्ने, दौडिरहने स्वभाव थियो बाबुको’, बस्नेतले भनिन् । 

बस्नेतकै कार्यकक्षमा थिए, १४ वर्षका सुशान्त । उनी हेर्दा सामान्य देखिए पनि स्वभाव भने असामान्य थियो । बोली अस्पष्ट, व्यवहार पाँच-छ वर्षका नानीबाबु सरह र नयाँ कोही अगाडि देख्दा उनलाई असहज हुने रहेछ । 

यी समस्याबीच पनि उनमा भएको मादल बजाउने खुबी प्रष्टै देख्न सकिन्थ्यो । मादल हातमा लिएर बसेका सुशान्तले गीतसँगै आफूले मादल बजाउने स्वेच्छा राखेकाले बस्नेतले ‘म्याउ म्याउ विरालो यता तिर आऊ’ भन्ने बालगीत गाउँदै थिइन्, सुशान्त ताल मिलाएझैं गरी मादल ठोक्दै थिए । 

बस्नेतले गीत फेरिन्, ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’, सुशान्तले पनि सुरमा सुर मिलाउन खोज्दै भने, ‘फूल.....को आँ..खामा’, सँगै मादलको दुईतिरै राखेका हातलाई जोरले ठोके ।

खासै घुलमिल हुन नखोज्ने भएपनि विगत सात महिनादेखिको थेरापीले उनलाई गाउन र मादल बजाउन प्रोत्साहन मिलेको थेरापिस्ट बस्नेतले बताइन् । 

बस्नेतकै कार्यकक्ष छेउमा अर्की थेरापिस्ट निलम लामाको कार्यकक्ष छ । जसमा लामाले एक जना बाबुसँग सम्वाद गर्दै थिइन् ।  

ती बाबु नौ वर्षका प्रशिद्ध कुँइकेल हुन् । थेरापिस्ट लामाका अनुसार उनमा विषय बाहिरको कुरा गर्ने र एकोहोरो बोलिरहने समस्या रहेछ । विगत दुई महिनादेखि नियोमा आउन थालेका उनकाे ती बानीमा हिजोआज सुधार आइरहेको थेरापिस्ट लामाको भनाइ थियो । 

अटिजमको समस्या भएकाहरुको हेरचाहका लागि सन् २०२२ मा खुलेको सो केयर सेन्टरमा ८० जनाभन्दा बढी बालबालिका उपचारका साथै अध्ययन गरिरहेका छन् । नियोले हाल अटिजम, सेरिब्रल पाल्सी, डाउन सिन्ड्रोम, बहु अपाङ्गता र सामाजिकीकरणमा समस्या भएकाहरुको उपचार गराइरहेको छ । 

अटिजमको पूर्ण उपचार सम्भव नभएपनि सो समस्या भएका व्यक्तिहरुको दैनिकिलाई सहज बनाउन एउटा समय तालिकामा रहेर व्यावहारिक ज्ञानमा ढाल्दै लैजानुपर्ने बताउँछिन् नियोमा अध्यापन गराइरहेकी निर्जिता ढकाल । 

उनी भन्छिन्, ‘अटिजम रोग त होइन, एउटा समस्या हो । यो समस्यालाई पूर्ण रुपमा निर्मूल पार्न पनि सकिन्न । तर एउटा तालिका बनाएर त्यस्ता व्यक्तिको माइन्ड सेट गराइदिने हो भने उनीहरुले आफै गर्ने प्रयास गर्छन् ।’ 

दैनिक रुपमा उनीहरुका लागि उठेदेखि नसुतेसम्म तालिका बनाइ त्यसैअनुसार उनीहरुलाई अभ्यास गराइरहे समस्या न्यूनीकरण गर्ने सकिने उनको भनाइ छ । ‘हामी १० बजेदेखि तीन बजेसम्म रहन्छौं बच्चाहरुसँग । यो समयमा सेड्युलअनुसार नै चलिन्छ । त्यसपछिका लागि पनि एउटा सेड्युल तयार पारेर अभिभावकहरुलाई दिन्छौं । उहाँहरुले त्यसैअनुसार बच्चालाई सानो सानो कुरा सिकाउँदै जानुहुन्छ’, उनले भनिन् । 

केयर सेन्टरमा गराइने चार/पाँच घण्टाको थेरापी र अभ्यासले मात्र समान्य न्यूनीकरण सम्भव नभएको बताउँदै उनले बच्चाहरुको मानसिक र शारीरिक गतिविधिमा परिवर्तन ल्याउन अभिभावक प्रमुख पात्र बन्ने उनको बुझाइ छ । 

यसैगरी नियोका अध्यक्ष हरि कुँवरका अनुसार पनि अटिजमको समस्या समाधानमा अभिभावकको प्रमुख दायित्व हुने गर्दछ । साथै नेपाली समाजमा अटिजमलाई समस्याको रुपमा नहेरी ठूलै रोगको रुपमा हेरेर मूल्यांकन गर्ने र होच्याउन खोज्ने प्रवृति विद्यमान रहेको पनि उनी बताउँछन् । भन्छन्, ‘अटिजम जस्तो समस्यालाई हाम्रो समाजले ठूलै रोग ठान्छ । कसैको घरमा त्यस्ता बालबच्चा छन् भने उनीहरुलाई अपाङ्ग भन्छन् । नभए मानसिक रोगी नै भनिदिने पनि गर्छन् । जसबाट त्यस्ता बालबच्चाको मात्र नभइ अभिभावकमा समेत डर पैदा हुुन्छ ।’

आफ्ना नानीबाबुहरुमा अटिजमका लक्षण देखिँदा समयमै पहिचान गर्न पनि उनको आग्रह छ । योसँगै अटिजमकै लागि भनेर औषधि पनि नबनेकाले त्यस्तो समस्या भएकाहरुसँग गरिने व्यवहार र उनीहरु वरपरको सरकारात्मक वातावरण नै उपचारको मुख्य स्रोत बन्न सक्ने अध्यक्ष कुँवरको भनाइ छ । 

यस्तै, यस सेन्टरका कार्यकारी निर्देशक तथा बाल विशेषज्ञ फिजियोथेरापिष्ट समिद कतिला श्रेष्ठले विशेष सेवाको आवश्यकता भएका बालबालिकालाई एकै ठाउँमा शिक्षा र स्वास्थ्यको व्यवस्था गराउने सोचले यो केन्द्र स्थापना गरेको भएतापनि समावेशी शिक्षा प्रथमिकता भएको औंल्याए । 

उनले भने, ‘केही बालबालिकालाई समावेशी शिक्षामा राख्नु अघि केही समय थेरापी वा विशेष विद्यालय पठाउनुपर्ने पनि हुन्छ तर लामो दौरानमा सबै बालबालिकालाई आफ्नो उमेर साथीहरुसगै समावेश गराउने वातावरण बनाउनुपर्छ ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise