काठमाडौं : हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ । आइतबार २२ औं राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइएको छ । दिवसका अवसरमा राष्ट्रपतिदेखि मन्त्री र विभिन्न दलका नेताहरू धान रोपेका छन् । नेताहरूले धान रोपको दृश्यले उनीहरू कृषि र कृषक मैत्री रहेको देखाउँछ । तर ती नेताहरू आआफ्नो स्थानमा रहँदा कृषकको समस्याबारे एक शब्द पनि बोल्दैनन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवास शीतल निवासमा धान रोपाइँ गरे । यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, नेसपा (नयाँ शक्ति) बाबुराम भट्टराईसहितका नेताहरूले धान रोपाइँ गरेको दृश्यलाई प्रशंसाभन्दा आलोचना भएको छ ।
नेताहरू सञ्चार माध्यमको खपतका लागि र कृषकहरूको सहानुभूतिका लागि मात्र तमासा देखाउन रोपाइँ गरेको कतिपयले टिप्पणी गर्छन् ।
अरू बेला अन्यत्रै व्यस्त रहने नेताहरू १४ असारका दिन खेत–खेतमा पुग्छन् । अनि, मञ्चन गर्छन्, धान रोपाइँको नाटक ।
यसपटक पनि उनीहरूले त्यसै गरे । कृषिसँग जोडिएको धान दिवसको पवित्र सांस्कृतिक साइनोलाई उनीहरू हल्का मनोरञ्जनका रूपमा लिने गरेका छन् । ३६४ दिन किसानलाई वास्ता नगर्ने नेताहरू एक दिन किसान नै जस्ता बनेर हिलोमा डुब्छन् ।कृषिप्रधान देशमा किसान सर्वाधिक उपेक्षित छन् । बेलामा मल पाउँदैनन् । सिँचाइ अभाव व्याप्त छ । उन्नत बीउ खेतसम्म पुग्दैन ।
नेताहरूले रोपाइँ गरेको दृश्य सामाजिक सञ्जालमा आइतबार भाइरल भए । सर्वसाधारणले तिनमा कडा टिप्पणी गरिरहेका छन् । कतै घाँटीमा धानको बीउको लामो–लामो माला लगाए । कतै बाजा गाजा बजाइयो । कतै बाउसे बनेर, कतै हलो जोतेर । कतै खेतमै पसेर रोपाहारसँग हिलो छ्याप्दै ठट्टा गर्दै धान रोपाइँ गरेर । कृषिप्रधान देशमा कृषिबारे संघीय संसद् र प्रदेशसभालगायत स्थानमा भरपर्दो लबिङ नगने प्रवृत्तिका कारण नेपालीले आयात गरिएको चामलको भात खानुपर्ने अवस्थमा पुगेका छन् ।
११ महिनामा ३९ अर्बको चामल आयात
कृषिमा उचित लगानी नगरिएका कारण चालु वर्षको पछिल्लो ११ महिनामा ३९ अर्बको चामल भारतलगायत तेस्रो मुलुकबाट आयात भइसकेको छ । गत वर्ष २४ अर्बको चामल आयात भएको थियो । कृषिप्रधान देशको उपमा पाएको देशमा सरकारको द्वैध चरित्रका कारण कृषिमा परनिर्भरता बढ्दै गएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्त सम्ममा धान÷चामल आयातमा मात्रै ३८ अर्ब ९४ करोड रुपैयाँ विदेशिएको हो ।
कुल धान खेती हुने क्षेत्रफल १५ लाख ५२ हजार हेक्टरमध्ये १८ प्रतिशतमा मात्रै १२ महिना सिँचाइ सुविधा उपलब्ध छ । त्यो पनि जहाँ बढी धानको क्षेत्रफल छ, त्यहाँ सिँचाइ सुविधा पर्याप्त छैन ।
नेपालमा उपभोग हुने कुल खाद्य कृषि बालीमध्ये धानले करिब ८० प्रतिशत हिस्सा ओगटेको छ । जुन नेपालको मुख्य खाद्यबाली हो । १४ असारसम्म १५.६ प्रतिशत धान रोपाइँ भएको छ ।
सरकारले धानको उत्पादन र उत्पादकत्व बढाउन दाबी गरेपनि प्रतिफल देखिएको छैन । जसकाकारण धान–चामल आयातको तथ्यांक डरलाग्दो छ । चालु आर्थिक वर्षको ११ महिनामा झण्डै ३९ अर्ब रुपैयाँको धानचामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो अवधिमा २६ करोड १९ लाख १९ हजार किलो धान आयात भएको छ ।
नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग छ । यसमध्ये १० लाख मेट्रिक टन धान अपुग हुन्छ । वार्षिक १२ देखि १५ लाख मेट्रिक टन बराबरको धानचामल नेपालमा आयात हुने गरेको तथ्यांक छ ।
विशेषगरि चालममा बढ़ी निर्भरता, त्यसमध्ये पनि नेपालमा कम उत्पादन हुने मसिना तथा वासनादार चामलमा उपभोक्ताको बढ़ी रोजाइ, छिमेकी मुलुक भारतले धान निर्यातमा लिने नीतिगत व्यवस्था लगायतका कारण उत्पादन वृद्धि हुँदाहुँदै पनि धान÷चामलको आयात अपेक्षाकृत कम हुन नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
सरकारले आव २०८२/८३ को बजेट बक्तव्यमा मार्फत मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । ‘आगामी वर्षहरूमा धानको उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्राथमिकताका साथ विशेषगरी चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृद्धिका कार्यक्रमहरू तीनै तहका सरकारमार्फत गरिने छ’, कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताए ।
कुनै समय नेपालले धान र चामल निर्यात गर्ने नेपाल परनिर्भर बन्दै गएको छ । नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गरेको थियो । नेपालमा उत्पादित धान र चामल आन्तरिक उपभोगमा बढी भएका कारण निर्यात हुन्थ्यो । तर अहिले निर्यातभन्दा आयात हुन थालेको छ ।
अहिले धान चामलमा देखिएको परनिर्भरता हटाउन सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । तैपनी परनिर्भरता हटाउने कार्यक्रम बजेटमा राख्न भने छाडिएको छैन ।