२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

अस्पतालको मूल गेटबाहिर प्रसूति प्रकरण : ड्युटीमा रहेका कर्मचारी बर्खास्त

Nada
२०८३ भदौ २६ गते १६:४६
Shares
अस्पतालको मूल गेटबाहिर प्रसूति प्रकरण : ड्युटीमा रहेका कर्मचारी बर्खास्त

काठमाडौँ : सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले शिशु जन्माएको घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाइएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार प्रतिनिधिसभाको बैठकमा घटनाबारे जानकारी दिँदै सम्बन्धित कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर छानबिन थालिएको बताइन् ।

आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको बताइन् ।

‘राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ,’ उनले भनिन्, ‘छानबिन प्रतिवेदन प्राप्त भएपछि दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही हुनेछ ।’

घटनाको स्थलगत अध्ययनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र आचारसंहितासम्बन्धी समितिका डा.अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको मन्त्री मेहताले जानकारी दिइन् ।

उक्त टोलीसँग स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा। पवनजङ्ग रायमाझी पनि स्थलगत छानबिनमा सहभागी छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत घटनाको छानबिन गर्न छुट्टै समिति गठन गरेको छ । यससँगै मन्त्रालय, मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यालयबाट घटनाको जाँच अघि बढेको हो ।

घटनाको जानकारी प्राप्त भएलगत्तै मन्त्रालयले अस्पतालसँग २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । अस्पतालले मन्त्रालयसमक्ष स्पष्टीकरण पेस गरिसकेको मन्त्री मेहताले बताइन् ।

अस्पतालबाट प्राप्त प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको अवस्थामा रहेकी ३० वर्षीया महिला उपचारका लागि अस्पताल पुगेकी थिइन् ।

प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति कक्षको शय्या नम्बर २४ मा भर्ना गरिएको थियो । आवश्यक परीक्षणका प्रतिवेदन उपलब्ध नभएकाले स्वास्थ्यकर्मीले अत्यावश्यक परीक्षण गर्न सुझाव दिएका थिए ।

अस्पतालको प्रारम्भिक विवरणमा महिला र उनका कुरुवा उपलब्ध गराइएको शय्यामा नरही अस्पतालबाट बाहिरिएको उल्लेख छ । बिहान करिब ४ बजेर ४५ मिनेटमा उनले अस्पतालको मूल गेटबाहिर शिशु जन्माएको जानकारी प्राप्त भएको मन्त्री मेहताले बताइन् ।

प्रसूतिपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति कक्षमा ल्याइएको थियो । त्यसपछि ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काटेर आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

आमा र शिशु त्यसपछि अस्पतालबाट बाहिरिएको विवरण अस्पतालले मन्त्रालयलाई उपलब्ध गराएको छ । घटनाको वास्तविकता र अस्पतालबाट सेवा प्रवाहमा भएको सम्भावित कमजोरीबारे छानबिन समितिले अध्ययन गरिरहेको छ।

मन्त्री मेहताले प्रारम्भिक विवरण मात्रैका आधारमा निष्कर्षमा नपुगिने र छानबिन समितिको प्रतिवेदनका आधारमा जिम्मेवारी निर्धारण गरिने बताइन् ।

अस्पतालले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ। मन्त्रालयले पनि सुरक्षित मातृत्व र नवजात शिशुको उपचारमा संवेदनशील बन्न अस्पताललाई सचेत गराएको मन्त्री मेहताले जानकारी दिइन् ।

ताजा खबर

सम्बन्धित खबर