
वीरगञ्ज : ‘तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश’ नारासहित वीरगञ्ज महानगरपालिकाको टोली जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन जोमसोम जाने भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकामा भदौ ३० र ३१ गते आयोजना हुने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३’ मा सहभागी हुन महानगरपालिकाको टोली भदौ ३० गते जोमसोम जाने भएको हो ।
जलवायु परिवर्तनका कारण पछिल्लो समय तराई–मधेशमा बढ्दै गएको अत्यधिक तापक्रम र सुक्दै गएका खानेपानीका मुहानको गम्भीर समस्यालाई राष्ट्रिय मञ्चमा उठाउन महानगरले ‘तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश’ नारा तय गरेको छ ।
सम्मेलनमा सहभागी हुन जाने महानगरका प्रशासन प्रमुख कीर्ति सुवेदी र वातावरण शाखा प्रमुख राकेश साहलाई विशेष कार्यक्रमबीच बिदाइ गरिएको छ । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले टोलीलाई शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
सो अवसरमा कार्यवाहक प्रमुख आलमले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेको बताए । तराई–मधेशमा यसको प्रभाव अझ भयावह रूपमा देखिन थालेको उनले बताए ।
वीरगञ्जसहित सिंगो मधेशमा भूमिगत जलसतह घट्दा खानेपानीको चरम संकट पैदा भएको उनले बताए । जोमसोममा हुने भेलामार्फत मधेशले भोगिरहेको वातावरणीय संकट र तराईका वास्तविक समस्या दृढताका साथ प्रस्तुत गर्ने उनले बताए ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बोहराले सम्मेलनले देशका सबै स्थानीय तहलाई जलवायु अनुकूलनका रणनीति बनाउन एकीकृत मञ्च प्रदान गर्ने बताए ।
हिमालदेखि तराईसम्मका स्थानीय तह एकै ठाउँमा उभिएर साझा रणनीति बनाउनु आजको आवश्यकता रहेको उनले बताए । मधेशका तर्फबाट ठोस सुझाव र प्रतिवेदन सम्मेलनमा पेस गरिने उनले बताए ।
नेपाल सरकार, प्रदेश सरकार र विभिन्न भगिनी स्थानीय तहको सहयोगमा घरपझोङ गाउँपालिकाले भदौ ३० र ३१ गते जोमसोम कभर्ड हलमा सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा मुलुकभरका ७५३ वटै स्थानीय तहका प्रमुख तथा जलवायु विज्ञहरूको सहभागिता रहने जनाइएको छ । सम्मेलनको समापनमा कालीगण्डकीको तटबाट एकीकृत ‘घरपझोङ घोषणापत्र, २०८३’ जारी गरिने जनाइएको छ ।