
कपिलवस्तु : भोटेकोशी बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि कपिलवस्तुको कृष्णनगर–झण्डानगर क्षेत्रका मुस्लिम समुदायले २ लाख ७४ हजार १४० रुपैयाँ सहयोग गरेका छन् ।
जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगरसहित मुस्लिम समुदायले संकलन गरेको रकममध्ये १ लाख २३ हजार १४० रुपैयाँ शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मालाई हस्तान्तरण गरिएको हो ।
सोही अवसरमा डा.सलमान खाँले व्यक्तिगत रूपमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । यससँगै बाढीपीडितका लागि कुल २ लाख ७४ हजार १४० रुपैयाँ सहयोग भएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगरका अध्यक्ष शेख शमीम अहमद नदवी, प्रवक्ता मौलाना मशहूद खाँ नेपाली, डा.सलमान खाँ, शेख मुजीबुर्रहमान मदनी, मुस्तफा वकिललगायत सहभागी थिए ।
जामियाका अध्यक्ष शेख शमीम अहमद नदवीले विपद्को समयमा पीडितको साथमा उभिनु मानवता र राष्ट्रिय दायित्व भएको बताए। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनस्र्थापनाका लागि समेत सहयोग आवश्यक रहेको उनले बताए ।
जामियाका प्रवक्ता मौलाना मशहूद खाँ नेपालीले विपद्को पीडा जात, धर्म वा समुदाय हेरेर नआउने बताए। संकटका बेला मानवताको आधारमा सबै एकजुट हुनुपर्ने धारणा राख्दै उनले सक्षम व्यक्ति तथा संस्थालाई समेत राहत अभियानमा जोडिन आग्रह गरे ।
डा.सलमान खाँले प्राकृतिक विपद् कुनै एक समुदायको मात्र समस्या नभएको बताए । पीडितको उद्धार तथा पुनस्र्थापनामा राज्यसँगै नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आर्थिक रूपमा सक्षम व्यक्तिहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरे ।
शेख मुजीबुर्रहमान मदनीले विपद्मा परेकालाई समयमै सहयोग पुर्याउनु सामाजिक तथा मानवीय जिम्मेवारी भएको बताए । मुस्तफा वकिलले पनि सामूहिक प्रयास र सहकार्यबाट बाढीपीडित परिवारलाई राहत दिन सकिने बताए ।
कृष्णनगर–झण्डानगर क्षेत्रका मुस्लिम समुदायबाट गरिएको सहयोगले विपद्को समयमा धार्मिक सद्भाव, सामाजिक उत्तरदायित्व र मानवीय एकताको सन्देश दिएको छ ।