२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

डेरामा चार पूर्वप्रधानमन्त्री

अझै उठ्न सकेनन् नेताका भग्नावशेष घरहरू

Nada
जीवन शर्मा
२०८३ भदौ २७ गते ०६:३०
Shares
डेरामा चार पूर्वप्रधानमन्त्री

काठमाडौं : एक वर्षअघि आगोले ती घरहरू खरानी बनायो । आज त्यहाँ धुवाँ र कोलाहल छैन । छ त जलेका भित्ता र भत्किएका संरचना मात्र । सत्ता र राजनीतिको केन्द्रमा रहेका पूर्वप्रधानमन्त्रीहरू अहिले आफ्नै घरमा होइन, भाडाको छानामुनि छन् । 

गत वर्ष २३ भदौमा सुशासन र सामाजिक सञ्जालमाथिको अवरोध खुलाउन माग गर्दै सुरु भएको शान्तिपूर्ण प्रदर्शन केही घण्टामै हिंसात्मक बन्यो । भोलिपल्ट २४ भदौमा विध्वंसमा परिणत भयो । अघिल्लो दिनको घटनामा १९ जना युवाको एकै ठाउँमा ज्यान गएपछि त्यसको प्रतिकारले विध्वंस निम्त्याएको थियो । जेनजी समूह, आफन्त र समर्थकको आह्वानमा भएको आन्दोलनमा देशका मुख्य प्रशासनिक संरचनादेखि नेताका निजी निवाससम्म निसानामा परे । सिंहदरबार, राष्ट्रपतिको भवन, सर्वोच्च अदालत, दलका कार्यालय, स्थानीय सरकारका कार्यालय र प्रहरी प्रशासनका संरचना जलाइए । तत्कालीन सत्तारुढ र विपक्षी दलका शीर्ष नेताका घर पनि जले ।

सडकबाट उठेको आक्रोश सत्ताको केन्द्रसम्म पुग्दा शक्तिशाली नेतादेखि व्यापारीसम्मका निवास केही घण्टामै खरानीमा परिणत भए । आन्दोलनको निसानामा परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, तत्कालीन ओली क्याबिनेटका मन्त्रीलगायतलाई नेपाली सेनाले सुरक्षित स्थानमा लग्यो । केहीलाई १० दिनसम्म सेनाको निगरानीमा राखेर घर फर्काइयो । तर उनीहरूको घर थिएन । कतै घर भग्नावशेष भइसकेको थियो । कतै पुनः आक्रमणको त्रास थियो । एक वर्ष बित्दा पनि केही पूर्वप्रधानमन्त्रीका लागि अवस्था उस्तै छ ।

एउटा सुकुम्वासी हुँ : झलनाथ 

पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घर अझै भग्नावशेषमै छ । आन्दोलनकारीले घरमा आगो लगाउँदा उनकी श्रीमती रवीलक्ष्मी चित्रकारसमेत जलेकी थिइन् । लामो उपचारपछि उनी अहिले आराममा छिन् । खनाल परिवार अहिले डल्लुस्थित आवास क्षेत्रमा भाडाको घरमा बस्दै आएको छ । मासिक घरभाडासमेत आफन्तले व्यवस्थापन गरिदिएको खनालले बताए ।

‘गत २४ भदौमा विध्वंसकारीहरूले मेरो जीवनभर लगाएर जोडेको एउटा वासस्थान पनि खरानी बनाइदिए,’ उनले मध्यान्हसँग भने, ‘म एक हिसाबले भन्नुपर्दा तिनै विध्वंसकारीले घरबारविहीन बनाएको एउटा सुकुम्वासी हुँ । मेरो विकल्प अब क्रान्तिबाहेक केही छैन ।’

आफ्नो घर मर्मत सम्भार गरेर बस्न सक्ने अवस्थामा नरहेको उनले बताए । जलाइएको घर अहिले पनि भग्नावशेषमै छ ।

भाडाको घरमा देउवा

आन्दोलनका बेला पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजू देउवा बुढानीलकण्ठस्थित घरमै थिए । आक्रोशित भिडले देउवा दम्पतीमाथि सांघातिक हमला ग¥यो । घर दनदनी बल्यो । आगो निभाउने कोही भएनन् । 

आक्रमणबाट रगताम्य भएका देउवा दम्पतीलाई नेपाली सेनाको टोलीले उद्धार गरेको थियो । देउवा लामो समय अस्पतालमा रहे । प्राथमिक उपचारपछि थप उपचारका लागि कात्तिक अन्तिम साता सिंगापुर गए । पहिलो चरणको उपचार सकेर उनी नेपाल फर्किए ।

उपचारकै लागि फागुन १३ मा फेरि सिंगापुर गएका देउवा साउन २६ देखि नेपालमा छन् । आफ्नो घर नभएपछि उनी अहिले पनि महाराजगन्जस्थित चुनदेवीमा भाडाको घरमा बस्दै आएको उनका स्वकीय सचिव भानु देउवाले बताए । श्रीमती आरजू देउवा राणा भने स्वदेश फर्किएकी छैनन् । 

आन्दोलनमा जलेको बुढानीलकण्ठस्थित देउवा निवास पुनर्निर्माणका लागि भत्काइए पनि सरकारले पुनर्निर्माणमा रोक लगायो । तीन दशकभन्दा पुरानो उक्त निवास अहिले भग्नावशेष अवस्थामा रहेको उनको सचिवालयले जनाएको छ । डडेलधुरास्थित घरसमेत जलाइएपछि देउवा घरविहीन छन् ।

गुन्डु पुगेका ओली 

नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि अहिले आफ्नै निवास छैन । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमित ओलीलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको थियो । १० दिनपछि सेनाले उनलाई छाड्यो । घर फर्कंदा आफ्नो निवास नभएपछि एमाले सचिव महेश बस्नेतको आड, भरोसा, सुरक्षा र व्यवस्थापनमा ओली गुन्डु पुगे । 

अहिले उनी स्थानीय विष्णु श्रेष्ठको घर भाडामा लिएर बस्दै आएका छन् । आन्दोलनका क्रममा क्षतिग्रस्त बालकोट निवास ओलीले एक वर्षपछि अवलोकन गरे । त्यही भग्नावशेषको प्रसंगमा उनकी पत्नी राधिका शाक्यले ‘सपनाको भग्नावशेष’ पुस्तक प्रकाशन गरेकी छन् ।

भग्नावशेष घरबाटै पुस्तक लोकार्पण गर्दै उनले वालेन्द्र शाह नेतृत्वको सरकारलाई ‘खराने ग्याङ’को संज्ञा दिइन् । ‘खराने ग्याङ’को सरकारले आफूहरूलाई एक वर्षसम्म निरन्तर अत्याचार गरिरहेको उनको टिप्पणी थियो । 

सेनाको ब्यारेकबाट फर्किएपछि पनि ओलीले त्रासमय अवस्थामा एक वर्ष बिताएको शाक्यको भनाइ छ । ‘१० दिनको सेनाको ब्यारेकभित्रको बसाइपछि हामी गुन्डु आइपुग्यौं,’ उनले भनिन्, ‘यो ठाउँ सूर्यविनायक नगरपालिका वडा नम्बर ७ (साविक भक्तपुर–२)मा पर्छ । अहिले हामी त्यही बसेका छौं । यहाँबाट पनि हामीलाई स्थानीय जनताले लखेटून् भनेर अनेकौं हल्ला र मिडिया ट्रायल गरियो । हाम्रो घरबेटी भाइलाई घर बेच्नसम्मको दबाब दिए ।’

वालेन्द्र शाहको सरकार आएपछि ओली पक्राउ परे । १३ दिन हिरासतमा बसेपछि अदालतको आदेशमा छुटे । 

आन्दोलनमा जलाइएको ओलीको घर ट्रस्ट बनाएर राज्यलाई दिइसकेका छन् । आफ्नो शेषपछि राज्यको हुने गरी दिएको उक्त घर अहिले भग्नावशेष छ । 

बालकोट, तेह्रथुम र झापामा जलाइएका तीन घरमध्ये झापाको घर सामान्य मर्मत भए पनि अरू त्यत्तिकै छन् । स्थानीयका अनुसार ओली गुन्डु बसेपछि त्यहाँका घर–कोठा भाडामा लाग्न थालेका छन् ।

प्रचण्ड खुमलटारकै अर्को घरमा

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्दोलनका बेला ललितपुरको खुमलटारमा बस्थे । ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा लामो समयदेखि बस्दै आएका प्रचण्डको निवास आक्रोशित भिडले खोजेरै जलायो । आगलागीबाट ध्वस्त भएको उक्त निजी घर अहिले पनि मर्मत हुन सकेको छैन । प्रचण्ड अहिले खुमलटारस्थित अर्कै घरमा भाडामा छन् । 

उनले काठमाडौंमा घर बनाएका थिएनन् । चितवनस्थित प्रचण्ड निवाससमेत आन्दोलनकारीले जलाएर भग्नावशेष बनाएका हुन् । 

आफ्नै घरमा फर्किए नेपाल 

अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पनि आन्दोलनमा जलाइयो । लामो समय भाडामा बसेका नेपाल अहिले आफ्नै जलेको घर मर्मत सम्भार गरेर बस्न थालेको नेपालनिकटका नेताहरूले बताएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरसमेत आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । ती घरहरू मर्मत भएका छैनन् । 

राष्ट्रपति पौडेलले जीवनकालका सबै लगानी गरेर बनाएको बोहोराटारको घर जलेर नष्ट भएपछि पदावधि सकिएपछि कहाँ बस्ने भन्ने विकल्पको खोजीमा रहेको पारिवारिक स्रोतले जनाएको छ । पूर्वराष्ट्रपति भण्डारीको चपलीस्थित भाडाको घर जलेदेखि उनी बालुवाखानीमा अर्को भाडाको घरमा बस्दै आएकी छन् । 

घर जल्नु केवल इँटा, ढुंगा र फलामको क्षति मात्र होइन । यो व्यक्तिको सम्पत्तिको अधिकारसँग जोडिएको विषय पनि हो । नेपालको संविधानको धारा २५ मा व्यक्तिको सम्पत्तिको हकसम्बन्धी व्यवस्था छ । निजी वा सार्वजनिक सम्पत्तिको क्षतिलाई गम्भीर अपराधका रूपमा लिनुपर्ने मानव अधिकार तथा शान्ति समाजकी अध्यक्ष रेणुका पौडेल बताउँछिन् । ‘निजी होस् वा सार्वजनिक सम्पत्तिमाथिको क्षति गम्भीर अपराध हो,’ उनले भनिन्, ‘यसमा जसरी सरकारले भदौ २३ को सन्दर्भमा अनुसन्धान गर्ने भनेको छ, त्यसैगरी २४ को क्षतिको पनि अनुसन्धान र छानबिन हुनुपर्छ ।’

जेनजी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिको विषयमा सरकारले अग्रसरता नदेखाए संसदीय समिति बनाएर संसद्ले विस्तृत अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । ‘यो मुद्दालाई सरकारले नजरअन्दाज गर्दा संसदीय छानबिन समिति बनाएर विस्तृत अनुसन्धान र कारबाहीको प्रक्रियामा जानुपर्छ,’ उनले भनिन्, ‘संसद्ले पनि अग्रसरता नदेखाउँदा यो घटना अन्तर्राष्ट्रिय मानव अधिकारको विषय बन्न सक्छ ।’

सरकारले भदौ २३ को घटनाको छानबिन र कारबाहीलाई आफ्नो १०० दिने कार्यसूचीमा राखेको थियो । तर २४ को विध्वंसका सवालमा सरकार खासै बोलेको छैन । जेनजी आन्दोलनका २३ र २४ गतेका घटनालाई छुट्टाछुट्टै ढंगले अनुसन्धान र कारबाही गर्नुपर्ने माग सत्तापक्षबाहेकका सबै राजनीतिक दलले गर्दै आएका छन् ।

आन्दोलनमा घर जलाइएका शीर्ष नेताहरू

नेपाली कांग्रेस : शेरबहादुर देउवा (बुढानीलकण्ठ, डडेलधुरा), पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, दीपक खड्का, रमेश लेखक, विनोद चौधरी ।

नेकपा (एमाले) : केपी शर्मा ओली (बालकोट, तेह्रथुम, झापा तीनै घर), पृथ्वी सुब्बा गुरुङ, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णुप्रसाद पौडेल, पदम गिरी, सुरेन्द्र पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, रघुवीर महासेठ, योगेश भट्टराई, गोर्कण विष्ट, सूर्य थापा, कोमल वली ।

नेपाली कम्युनिस्ट पार्टी : पुष्पकमल दाहाल ‘प्रचण्ड’ (खुमलटार र चितवन शिवनगर), माधवकुमार नेपाल, झलनाथ खनाल, गंगा दाहाल, नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, माधव सापकोटा (सुबोध), रामनारायण बिडारी ।

अन्य दल : शरदसिंह भण्डारी (लोकतान्त्रिक समाजवादी पार्टी), उपेन्द्र यादव (जनता समाजवादी पार्टी, नेपाल), प्रदीप यादव (जनता समाजवादी पार्टी, नेपाल), रेशमलाल चौधरी (नाउपा संरक्षक)– घरमा लुटपाट र आगजनी ।

ताजा खबर

सम्बन्धित खबर